+
+

वीरेन्द्रनगर : कांग्रेसलाई माओवादीको साथ, आफ्नैको डर

कमजोर छैन एमाले

यज्ञ खत्री यज्ञ खत्री
२०७९ वैशाख २६ गते ९:३८

२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको प्रमुख सहर वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

मेयर बन्न दुई जना स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका उपेन्द्र खड्का र नेकपा एमालेकी मोहनमाया ढकालबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।

अन्य दल तर्फ राप्रपाका मुकुन्दश्याम गिरीको उम्मेदवारीले बढी चर्चा पाएको छ । चुनाव नजिकिएसँगै खड्का, ढकाल र गिरीसहितका उम्मेदवार मतदाता रिझाउने अभियानमा छन् ।

यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ मा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६३७ मतदाता थिए । अहिले यहाँ ६७ हजार ५७ मतदाता छन् । थपिएका १६ हजार ४२० मतदाताले कसलाई रोज्छन् भन्ने विषयले पनि चुनावी नतिजा निर्धारण गर्न सक्ने देखिन्छ ।

कांग्रेसलाई आफ्नैको डर

कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेतमा कांग्रेस गुट र उपगुटले थलिएको छ । पार्टीभित्रको आन्तरिक कलह सतहमा छ । जसका कारण कांग्रेसभित्रकै संस्थापनइतर पक्षले आफ्नै पार्टीका उम्मेदवारलाई खुलेर साथ दिन सकेको छैन ।

०७४ को स्थानीय निर्वाचनमा मेयर जितेको नेपाली कांग्रेसले यो पटक कडा चुनौती सामना गर्दैछ । माओवादीको साथ पाएको कांग्रेस आफनै पार्टीबाट भने निरास छ । सुरुमा एक्लै उम्मेदवारी दिएको कांग्रेसले आफ्नै पार्टीबाट घात हुने देखेपछि अन्तिम समयमा माओवादी केन्द्रसँग गठबन्धन गरेको हो ।

यद्यपि मेयरका उम्मेदवार खड्का भने कांग्रेस एक्लै लडे पनि जित्ने दाबी गर्छन् । पार्टीको केन्द्रीय सर्कुलरलाई मान्दा गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

०७४ को स्थानीय चुनावमा हृदयराम थानी (संस्थापनइतर) पक्षका नेता कमलराज रेग्मीले चुनावको नेतृत्व गरेका थिए । उनैको नेतृत्वमा रहँदा कांग्रेसले आफ्नो वर्चश्व जमाएको थियो । तर यो पटक उपसभापति खड्का पक्षले पार्टीको नेतृत्वदायी भूमिकामा इतर पक्षलाई नसमेटेको र एकलौटी गर्न खोजेको आरोप लागेको छ । यतिमात्र होइन, आसन्न निर्वाचनमा कुनै पनि स्थानमा कांग्रेसका इतर पक्षका उम्मेदवार छैनन् ।

तत्कालीन थानी समूहमा रहेका हालका मेयर देवकुमार सुवेदीले १४ औं महाधिवेशनबाट गुट परिवर्तन गरेका छन् । सुवेदी अहिले उपसभापति खड्काको समूहमा छन् ।

मेयरका उम्मेदवार खड्का भने कांग्रेसले जित्ने थुप्रै आधार रहेको बताउँछन् । ‘कांग्रेस एक्लैले जित्ने जनआधार छ, अहिले त झन गठबन्धन छ । हाम्रो जित पूर्णरुपमा सुनिश्चित छ’ खड्का भन्छन् । पार्टीमा देखिएको समस्या पनि समाधान भइसकेको उनको दाबी छ ।

०७४ को चुनावमा माओवादीका उम्मेदवार रत्न गाहाले ५ हजार २३७ मत ल्याएका थिए । यसपटक माओवादी केन्द्रको मत कांग्रेस उम्मेदवारलाई जाने छ । आफ्नो मत पहिलेभन्दा बढेको माओवादीको दाबी छ ।

जित्नेमा एमाले विश्वस्त

वीरेन्द्रनगरमा एमालेको जग बलियो छ । ०७४ को चुनावमा १६ मध्ये ८ वडा एमालेले जितेको थियो । कांग्रेसले ६ र माओवादी केन्द्रले एउटा वडामा जित निकालेका थिए । यस हिसाबले गठबन्धन हुँदा पनि एमाले कमजोर भने छैन ।

उपमेयरको कार्यकाल पूरा गरेकी मोहनमाया ढकाललाई मेयरको उम्मेदवार बनाएको एमाले नेताहरू वीरेन्द्रनगरमा जित्नेमा ढुक्क छन् । कोरोना महामारीका बेला लामो समय कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी ढकालसँग कार्य अनुभव र युवा उर्जा रहेको नेताहरू तर्क गर्छन् ।

अनेरास्ववियु, महिला संगठन हुँदै राजनीति थालेकी ढकाल छोटो समयमै एमाले केन्द्रीय सदस्य छन् । उनको व्यक्तित्वलाई समेत एमालेले मेयर जित्ने आधारका रुपमा लिएको छ । ‘मेरो उम्मेदवारीले सम्पूर्ण महिलामा ऊर्जा थपिएको छ । नगरवासीको मनमा आशा पलाएको छ’ ढकाल भन्छिन्, ‘कागजी गठबन्धनले एमालेलाई हराउन सक्दैन, नेताको मन मिले पनि कार्यकर्ताको मन मिलेको छैन ।’

एकीकृत समाजवादीका कारण एमालेलाई कुनै असर नपर्ने ढकालको दाबी छ । समाजवादीले धना कुमारी शाही (जिसी)लाई मेयर र उपमेयरमा वीरबहादुर रावतलाई उठाएको छ ।

राप्रपाका ‘लोकप्रिय’ उम्मेदवार

राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरी पनि लोकप्रिय उम्मेदवारमा पर्छन् । राप्रपाका केन्द्रीय उपाध्यक्षसमेत रहेका गिरी २०६१ सालमा वीरेन्द्रनगरको मेयर भएर काम गरिसकेका छन् ।

वीरेन्द्रनगरका पुराना नेता उनी साविकको लाइटिकोइलीका प्रधानपञ्च हुन् । यतिबेला घरदैलोमै व्यस्त गिरी अन्य दलहरूबाट जनता आजित भै सकेकाले पनि अफनो जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘मैले विगतमा केही काम सुरुआत गरेको थिएँ । अहिले त्यसलाई पूर्णता दिनका लागि म उम्मेदवार बनेको छु,’ उनले भने ।

आफूले कसैप्रति दोषारोपण गरेर नभइ सबै पार्टीका नेता, कार्यकर्तासँग मित्रवत् व्यवहार गरेर सबैको समर्थन बटुल्ने प्रयास गरेको उनको भनाइ छ ।

०७४ लाई फर्केर हेर्दा

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मतका साथ जित्दा एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरेका थिए । सुवेदीले शर्मालाई ५०६ मतान्तरले पराजित गरेका थिए । अहिले नेकपा एमाले विभाजन भएका कारण पनि कांग्रेसले यो पालिकामा आफ्नो जित सहज हुने आकलन गरेको छ ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित रहृयो । माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार २३७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले १८९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरकुमार श्रेष्ठले ५५७, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाहीले १६६, राष्ट्रिय जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले १८८ मत प्राप्त गरेका थिए ।

हाल एमालेबाट मेयरको उम्मेदवार बनेकी मोहनमाया ढकालले ०७४ मा उपमेयर पदमा १६ हजार ६८ मतका साथ जित विजयी भएकी थिइन् । ढकालले मेयरमा निर्वाचित कांग्रेस उम्मेदवार सुवेदीभन्दा बढी मतका साथ उपमेयरमा जित हासिल गरेकी थिइन् । जसले गर्दा नगरवासीमा उनको प्रभाव बढी रहेको बुझिन्छ ।

०७४ सालको निर्वाचन परिणामको तुलनामा अहिले एमाले विभाजन भइसकेको र नेपाली कांग्रेसभित्र समेत गुटबन्दी चर्किएको परिस्थितिले आसन्न निर्वाचनमा दलहरूको मतमा अस्वाभाविक फेरबदल भएमा पनि आश्चर्य मानिरहनु नपर्ने स्थानीय अगुवा राजनीतिक कार्यकर्ता बताउँछन् ।

अर्कोतिर एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि २०७४ सालमा एमालेको पक्षमा खसेको मतको केही हिस्सा काट्ने निश्चित छ । यस्तो अवस्थामा वीरेन्द्रगर नगरपालिकाको मेयरमा कसले बाजी मार्छ भनेर अहिले नै अनुमान गर्न कठिन देखिन्छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?