+
+

यसपटक थवाङ समेत शान्त

नेपालको बाँकी भूगोल भन्दा भिन्न विद्रोही स्वभाव देखाउने रोल्पाको थवाङ यो निर्वाचनमा शान्त छ । त्यहाँ एक जना अगुवाले जे भन्यो सबैले मान्नुपर्ने संस्कारबाट आफूले रुचाएका जनप्रतिनिधिलाई मतदान गर्ने वातावरण बन्नु चानचुने परिवर्तन होइन।

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख २६ गते १३:०८

२६ वैशाख, रोल्पा । विद्रोहको बिम्व मानिने थवाङ यसपटक आश्चर्यजनक रूपमा शान्त छ । निर्वाचनमा कि सबै मत कुनै एक दललाई दिएर वा शून्य मतदान गरेर चर्चामा आउने थवाङ बहिष्कारवादी कम्युनिस्ट गाउँको नामले मुलुकभित्र र बाहिर परिचित छ । नेपालको बाँकी भूगोल भन्दा सधैं भिन्न विद्रोही स्वभाव देखाउने थवाङ गाउँ यो पटक किन शान्त छ ?

थवाङ रोल्पा सदरमुकाम लिवाङबाट उत्तरतर्फ रुकुम पूर्वसँग जोडिएको छ । २०१३ सालमा मोहनविक्रम सिंहले बर्मन बुढाको नेतृत्वमा गठन गरेको किसान संगठनबाट थवाङमा कम्युनिस्ट राजनीतिको बीजारोपण भएको थियो ।

विद्रोही गाउँ थवाङको विद्रोही गाथा पनि पुरानो छ । बाइसे चौबीसे राज्यको बेला नै थवाङ सत्ता विरोधी रहेको त्यहाँका बुढापाकाहरू बताउँछन् । उनीहरूका भनाइमा, नेपाल एकीकरण पूर्व रुकुमबाट कर असुल्न थवाङ आएका लालु र कालु शाहीलाई थवाङीहरूले लखेटेको इतिहास छ । जो कालान्तरमा राजतन्त्र विरोधी मानसिकतामा बदलियो र जसले थवाङलाई सधैं विद्रोही बनाइरहृयो ।

त्यसो त थवाङ विद्रोही बन्नुका अरू धेरै कारण छन् । कम्युनिस्ट अगुवा बर्मन बुढा २०२४ सालपछि यहाँ तीन कार्यकाल निर्विरोध प्रधानपञ्च बने । प्रधानपञ्च भएकै समयमा उनलाई दुई वर्ष बढी जेलमा राखियो । बर्मनको लामो जेल जीवनले गाउँलेलाई झन् उत्तेजित बनायो ।

यसरी विद्रोहको बाछिटा फैलँदै जाँदा व्यवस्था विरुद्ध हर्कत गरेको भन्दै २०३८ सालमा थवाङले सैन्य अपरेशन व्यहोर्‍यो । २०५८ सालमा थवाङमा तत्कालीन शाही नेपाली सेनाले आगजनी गर्‍यो । आगजनीबाट थवाङ ठूलो गाउँका धेरै घर जले ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं र रोल्पाबाट चुनाव जितेका प्रचण्डले रोल्पा छोडेर काठमाडौं रोजेपछि थवाङ प्रचण्डसँग चिढियो । पहिलो संविधानसभा निर्वाचनका बेला थवाङीहरूलाई देखाइएको सपना प्रत्युत्पादक बन्यो ।

संविधानसभा निर्वाचनको घोषणापत्रमा थवाङलाई मगरात स्वायत्त गणराज्यको राजधानी बनाउने, दाङको घोराहीहँुदै थवाङसम्म केवलकार जडान गर्ने भनिएको थियो । यी बाचाहरू पूरा भएनन् । थवाङीहरू माओवादीसँग पनि चिढिंदै गए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थवाङमा शून्य मतदान भयो ।

थवाङीहरूले सशस्त्र युद्धमा ठूलो मात्रामा धनजनको क्षति व्यहोरे । स्थानीय शान्ति समिति रोल्पाको अभिलेख अनुसार, १० वर्षे युद्धमा ३९ जना थवाङीले ज्यान गुमाए । जसमध्ये ३२ जना राज्य पक्षवाट र ७ जना विद्रोही पक्षबाट मारिएका थिए । १ जना अझै बेपत्ता छन् । उनलाई राज्य पक्षले बेपत्ता पारेको थियो । द्वन्द्वका क्रममा ३१ जना अंगभंग भए ।

कम्युनिस्ट पार्टीको एकल वर्चस्वसहित एक ढिक्का रहने थवाङ माओवादी फुटपछि विभाजित अवस्थामा छ । माओवादी फुटेर प्रचण्ड, बाबुराम, मोहन वैद्य र नेत्रविक्रम चन्दको समूहका रूपमा मुख्य चार टुक्रामा विभाजित रहँदा थवाङले प्रचण्ड र विप्लवलाई साथ दिएको थियो । थवाङको अहिलेको मुख्य प्रतिस्पर्धा नै यी दुई पार्टीबीच रहेको स्थानीय अजय घर्ती मगरले बताए । ‘कोर थवाङमा यी दुईको प्रतिस्पर्धा हुँदा पनि थवाङ बाहिरका वडाहरू मिरुल र उवामा भने नेपाली कांग्रेस र नेकपा एमाले पनि शक्तिमा छन्’, घर्तीमगरले भने ।

कस्तो थियो थवाङको विगत

२०१५ सालको संसदीय निर्वाचनमा सबै थवाङीले कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका खगुलाल गुरुङलाई मत दिए तर निर्वाचनमा कांग्रेसका उम्मेदवार खडानन्द सुवेदी विजयी भए ।

२०१८ सालमा भएको गाउँ पञ्चायत निर्वाचनमा कम्युनिस्ट पार्टीका तर्फबाट प्रधानपञ्चको उम्मेदवार बनेका धर्मबहादुर रोकामगरलाई सबै भोट दिएका थिए । २०१९ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा थवाङले भोटै हालेन । तत्कालीन कम्युनिस्ट पार्टीले सो निर्वाचन बहिष्कार गरेपछि थवाङीहरूले पनि सो निर्वाचन बहिष्कार गरेका थिए ।

२०२४ सालमा भएको गाउँ पञ्चायत निर्वाचनमा बर्मन बुढामगर उम्मेदवार बनेका थिए । बर्मन सो निर्वाचन र त्यसपछि भएका दुई वटा निर्वाचनमा लगातार निर्विरोध प्रधानपञ्चमा निर्वाचित भएका थिए । २० वैशाख २०३७ मा भएको जनमत संग्रहमा थवाङले सबै मत बहुदलको पक्षमा दिएको थियो । २०३८ सालको राष्ट्रिय पञ्चायत निर्वाचन बहिष्कार गरी शून्य मतदान गरेको थवाङीहरूले सोही साल सैन्य अपरेशन खेप्नु परेको थियो ।

२०३९ सालमा भएको गाउँ पञ्चायत निर्वाचनमा भने थवाङले भाग लियो । राज्य आतंकबाट बच्नका लागि बर्मन बुढामगरकी बहिनी तुलकुमारी बुढालाई प्रधानपञ्चको उम्मेदवार बनाइएको थियो । उनी निर्विरोध निर्वाचित भएकी थिइन् ।

२०४३ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा थवाङीहरूले सबै मत बमकुमारी बुढालाई दिएका थिए । २०४४ सालमा भएको अन्तिम पञ्चायती निर्वाचनमा उनीहरूले कम्युनिस्ट पार्टीका कार्यकर्ता कमलप्रसाद झाँक्रीलाई प्रधानपञ्चमा निर्विरोध निर्वाचित गराएका थिए ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि २०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनमा थवाङको सबै मतसहित तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा विजयी भएका थिए । २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा संयुक्त जनमोर्चाका उम्मेदवार रुजबहादुर रोकामगर नेतृत्वको टीम निर्विरोध निर्वाचित भएको थियो ।

२०५१ सालको निर्वाचन तत्कालीन संयुक्त जनमोर्चाले बहिष्कार गर्दा ४ मत खसेको थियो । उक्त निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नंं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका बालाराम घर्तीमगरले ९ हजार ५२३ र क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका सुरेन्द्र हमालले १७ हजार ३९५ मत ल्याएर विजयी भएका थिए ।

१ फागुन २०५२ देखि सशस्त्र द्वन्द्व सुरु भएकाले माओवादीले त्यस यता शान्ति प्रक्रिया सुरु नहुँदासम्मका सबै निर्वाचन बहिष्कार गर्‍यो । २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचन पनि थवाङले बहिष्कार गरेपछि अध्यक्ष र उपाध्यक्ष सदरमुकाम लिवाङबाटै चयन भएका थिए ।

२०५६ सालमा भएको संसदीय निर्वाचनमा लिवाङबाट हेलिकप्टर चढेर थवाङ पुगेका दुई जना थवाङीहरूले मतदान गरी शून्य मतदान हुनबाट बचाएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार लेखनाथ आचार्य क्षेत्र नंं १ बाट ६ हजार ६९५ मत ल्याएर विजयी हुँदा क्षेत्र नंं २ बाट सोही पार्टीका उम्मेदवार सुरेन्द्र हमाल ८ हजार ३४४ मत प्राप्त गरी विजयी भएका थिए ।

विद्रोही माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा थवाङबाट ३ मत बाहेक सबै मत पुष्पकमल दाहाललाई खसेको थियो । रोल्पा क्षेत्र नंं १ बाट नेकपा माओवादीको तर्फबाट जयपुरी घर्तीमगरले २६ हजार ५०५ मत प्राप्त गरी विजयी हुँदा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका सोही पार्टीका पुष्पकमल दाहालले ३४ हजार २२० मत ल्याई विजयी भएका थिए ।

२०६९ सालमा नेकपा माओवादी पार्टीमा आएको विभाजन पछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा थवाङले शून्य मतदान गरेको थियो । थवाङले शून्य मतदान गर्दा एकीकृत नेकपा माओवादीबाट क्षेत्र नंं १ बाट उम्मेदवार बनेका कृष्णबहादुर महराले ११ हजार ४०७ र क्षेत्र नंं २ की उम्मेदवार ओनसरी घर्तीमगरले १४ हजार ९६४ मत प्राप्त गरी विजयी भएका थिए ।

राज्य पुनर्संरचनामा छुट्टै स्वायत्त क्षेत्रको माग गरेको थवाङलाई स्थानीय तहको रूपमा पुनर्संरचना गरियो । कोर थवाङका दुई वटा वडासहित मिरुल र उवा समेत गरी ५ वटा वडामा विभाजन गरियो ।

निर्वाचनको पर्खाइमा शान्त थवाङ

अधिकांशजसो निर्वाचनमा सधैं अशान्त देखिने थवाङ हरेक निर्वाचनमा राज्यको टाउको दुखाइ हुन्थ्यो । निर्वाचनका बेला राज्यका लागि अतिसंवेदनशील क्षेत्र मानिने थवाङ यस पटक भने शान्त छ । आसन्न निर्वाचन पर्खेर बसेको छ ।

थवाङमा अहिले भने सुरक्षा अवस्था सन्तोषजनक रहेको इलाका प्रहरी कार्यालय थवाङका इन्चार्ज राजेश खड्काको भनाइ छ । अहिलेको निर्वाचनमा दल तथा स्वतन्त्रबाट गरेर सबै पदमा उम्मेदवारी परेकाले पनि सुरक्षा व्यवस्थामा असहज छैन भन्ने देखिएको खड्काको भनाइ छ । ‘उम्मेदवारहरू सौहार्दपूर्ण रूपमा मतदातासँग मत माग्दै हिंडिरहेका छन्’, खड्काले भने ।

यो निर्वाचनमा थवाङमा रोचक प्रतिस्पर्धा हुँदैछ । कांग्रेस-एमाले-स्वतन्त्र गठबन्धन र माओवादी केन्द्र बीच प्रतिस्पर्धा हुँदैछ । सुरुआतमा सबै दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षमा रमेशकुमार रोकामगर र उपाध्यक्षमा धनकुमारी रोकामगरलाई उम्मेदवार बनाएको थियो ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा नकस घर्तीमगर र उपाध्यक्षमा शान्ति घर्तीमगरले उम्मेदवारी दिएका थिए । स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा दर्जित रोकामगर, अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगरले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा रायबहादुर पुनमगरको उम्मेदवारी परेको थियो ।

उम्मेदवारी फिर्ताको समयमा कांग्रेस-एमाले-स्वतन्त्र गठबन्धन गरी कांग्रेस-एमालेका अध्यक्ष उपाध्यक्षका उम्मेदवारको साथै स्वतन्त्र उम्मेदवार त्रय अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगरले उम्मेदवारी फिर्ता लिए । उनीहरूले स्वतन्त्रको तर्फबाट अध्यक्षको उम्मेदवार दर्जित रोकामगर र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनमगरलाई समर्थन गरे ।

नेकपा माओवादी केन्द्रबाट ऋषिकेशव बुढामगर अध्यक्ष र शर्मिला बुढामगर उपाध्यक्षको उम्मेदवार छन् । अब सो गाउँपालिकामा कांग्रेस-एमाले-स्वतन्त्रसँग नेकपा माओवादी केन्द्रको प्रतिस्पर्धा हुनेछ ।

थवाङ रोल्पाकै सबभन्दा कम मतदाता रहेको गाउँपालिका हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ ५ हजार ८५३ मतदाता थिए । उक्त निर्वाचनमा ३ हजार ६८२ मत खसेको थियो । खसेको मत बाट नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्तीमगरले १ हजार ९९० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनलाई पछ्याएका स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरले १ हजार ५७ र नेकपा एमालेका उम्मेदवार हितबहादुर रोकामगरले १२० मत प्राप्त गरेका थिए । विप्लव नेकपाले निर्वाचन बहिष्कार गर्ने भने पनि स्थानीयहरूको दबावका कारण सो पार्टीका नेता अमित घर्तीमगरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

थवाङले यस पटकको चुनावमा बहुदलीय व्यवस्थाको अभ्यास गर्न थालेको अधिकारकर्मी श्रीकुमारी रोकामगरको भनाइ छ । सधैंजसो एक जना अगुवाले जे भन्यो सबैले मान्नुपर्ने परम्परा तोडेर आफूले रुचाएका जनप्रतिनिधिलाई मतदान गर्ने वातावरण सृजना भयो, रोकामगरले भनिन् । एकलौटी शासन गर्ने थवाङमा अब बहुलवादी विचारहरू आउनु लोकतन्त्रका लागि सुखद हो, स्थानीयवासी समेत रहेकी रोकामगरले भनिन् ।

फरक विशेषता बोक्दै आएको थवाङले यस पटक शान्तिपूर्ण निर्वाचनमा सहभागिता जनाउनु ऐतिहासिक कदम भएको जलजला बहुमुखी क्याम्पस रोल्पाका उप-प्राध्यापक झक्कुप्रसाद न्यौपानेको भनाइ छ । ‘सूचनाप्रविधिमा आएको व्यापक रूपान्तरणले थवाङ जस्ता विशेष राजनैतिक पहिचान बोकेका बस्तीहरूलाई समेत राजनीतिको मूलप्रवाहमा समाहित गर्न भूमिका खेलेको छ’, न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?