+
+

पोखरामा एमाले सभा : चुनौती चिर्न गठबन्धनको खेदो

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका शीर्ष नेताको जवाफमात्रै फर्काएनन्, एमालेको जित भइसकेको उद्घोषसमेत गरे । त्यस क्रममा उनले केही दम्भ देखाए भने गठबन्धनप्रति गैर राजनीतिक टिप्पणी पनि गरे ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख २६ गते २०:४८

२६ वैशाख, पोखरा । सत्तारुढ गठबन्धनले चुनावी सभा गरेको भोलिपल्ट सोमबार पोखराको उही ठाउँमा नेकपा एमालेले आमसभाको आयोजना गर्‍यो ।

अघिल्लो दिन सत्तारुढ दलका शीर्ष नेताले गठबन्धनमा अन्तर्घातको खतरा रहेको भन्दै कार्यकर्तालाई खबरदारी गरे । त्यस्तै एमालेलाई जिताउन नहुने भन्दै अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

सोमबार एमाले अध्यक्ष ओलीले गठबन्धनका शीर्ष नेताको जवाफमात्रै फर्काएनन्, एमालेको जित भइसकेको उद्घोषसमेत गरे । त्यस क्रममा उनले केही दम्भ देखाए भने गठबन्धनप्रति गैर राजनीतिक टिप्पणी पनि गरे ।

ओलीले आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवी नेपालमा नभएको दाबी गरे भने आइतबारको गठबन्धनकको सभा जत्रो सभा त आफ्ना वडाध्यक्ष र वडा सदस्यले नै गर्ने जिकिर गरे । ओलीले गठबन्धनलाई झाडीमा जन्मिएको, कसले जन्माएको नखुलेको र गठबन्धनका नेतालाई बाँदरको संज्ञा दिए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका मतादाताको सहानुभूति खिच्ने प्रयत्न गरे भने माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कडा आलोचना गरे ।

२०५४ सालमै पोखराको मेयर बनेका कृष्ण थापालाई दोस्रो पटक पोखराको मेयरको उम्मेदवार बनाएको एमालेले त्यो बिरासत कायमै राख्न चाहन्छ । २०७४ सालको निर्वाचनमा करिब १४ हजार मतान्तरले जितेको एमालेलाई अहिले अरु दल मिलेर चुनावमा प्रतिस्पर्धा गर्दा केही चुनौती बढेको छ ।

गठबन्धनबाट एकीकृत समाजवादीका पूर्व एमाले नेता धनराज आचार्य मेयरका उम्मेदवार छन् । आचार्यले एमालेकै मत तान्न सक्ने एमाले वृत्तमै चर्चा भइरहेकाले पनि ओलीले एकीकृत समाजवादी र अध्यक्ष नेपालमाथि गाली बर्साए ।

नेपाली कांग्रेसले पोखरा अवसरवादीलाई जिम्मा लगाउन खोजेको भन्दै ओलीले यस्तो अवस्थामा पनि कांग्रेस कार्यकर्ताले मन थाम्नुपरेको भन्दै सहानुभूति देखाए । ‘कांग्रेस कार्यकर्ताले कसरी मन थाम्न सकेका होलान् ?’ ओलीले भने, ‘कांग्रेस कार्यकर्तालाई पनि निकै गाह्रो छ ।’

कहिले प्रचण्डले आफ्नो छोरीलाई जिताउन धम्की दिएको त कहिले पोखरामा अर्कालाई जिताउन माधवकुमार नेपालले धम्की दिँदा पनि कांग्रेसलाई सहनुपरेको ओलीको भनाइ थियो ।

‘उहाँहरुले सभा त सातै प्रदेशमा गर्नुहुने भयो क्यारे । तर, विभिन्न थरी कुरा आएका छन् । यहीँ पनि हिजो सुन्नुभयो होला । प्रचण्डले हिजो धम्क्याउनसम्म धम्क्याए चितवनमा, यहाँ आएपछि अर्को निस्किए कांग्रेसलाई धम्क्याउने । कांग्रेस त धम्की र घुर्की सुन्ने यस्तै पार्टी भयो’, ओलीले भने ।

आइतबारको सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसतिर लक्षित गर्दै दम्भ देखाउनेको हाल केपी ओलीको जस्तो हुने बताएका थिए ।

‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाशबाहेक केही हुने छैन,’ नेता नेपालको चेतावनी थियो । नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञासमेत दिएका थिए ।

सोमबार नेपाललाई जवाफ दिँदै ओलीले वैशाख ३० गतेपछि को सकिन्छ र खत्तम हुन्छ भन्ने थाहा हुने बताए । ‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधानमन्त्री भएका एक जना मान्छे भन्दै थिए, एमाले सिध्याउनैपर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए ।’

उनले अघि भने, ‘केपी ओली समाप्त भयो रे । उनी हलक्क बढे रे, त्यो रेकर्ड वैशाख ३० पछि पनि रहन्छ भन्ने कुरा तिनलाई हेक्का रहेनछ । म भन्दिन चाहन्छु, परिणाम आएपछि देशमा को सकिएछ, र खत्तम भएछ परिणामले देखाउँछ ।’

हिजो जनवाद ल्याउने भन्दै लडेको छोरीलाई मेयर बनाउनका लागि रहेछ भन्दै ओलीले प्रचण्डको कटाक्ष गरे । ओलीले माओवादी केन्द्र भाँडाको बिर्कोमात्र भएको टिप्पणी गरे ।

‘हामी आफ्नै छोरी होइन, देशका छोरी, आफ्ना भाइ होइन देशकै भाइका लागि काम गर्छौं, कोही माओवादी केन्द्र भनेर बसिरहनुभएको छ भने एमालेमा आउनुस्,’ ओलीले भने, ‘माओवादी केन्द्र त अब भाँडो रित्तो छ, बिर्कोमात्रै छ । भाँडो त एमालेमा आइसक्यो ।’

ओलीले गठबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् । र, त्यो गठबन्धन कसले जन्मायो भन्ने पनि नखुलेको ओलीको कटाक्ष थियो ।

‘यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’

गठबन्धनलाई सेतीमा सलल बगाउनुपर्ने बताएका ओलीले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई टुँडो भाँचिएको र मसी नभएको कलमका रुपमा व्यंग्य गरे । ‘टुँडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ,’ उनको भनाइ थियो ।

असन्तुष्ट एमालेतिर ओलीको सम्बोधन

ओलीले एमालेका असन्तुष्ट समूहलाई एक ढिक्का भएर लाग्न निर्देशनसमेत दिए । आफूले भनेजस्तो नहुँदा पनि पार्टीको निर्णयलाई खुसीका साथ कार्यान्वयन गर्न लाग्नुपर्ने ओलीको भनाइ थियो ।

एमालेबाट सुरुमा नेता दीपक पौडेलले मेयरको टिकट पाएका थिए । तर, पौडेललाई सुन चोरीको आरोप लगाउँदै रातारात भिडियो नै भाइरल बनेपछि उनको टिकट खोसिएको थियो ।

त्यसपछि एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएपछि पौडेल असन्तुष्ट बनेका थिए । उनी एमालेको चुनावी अभियानमा समेत निस्किएका थिएनन् । ओली प्रमुख अतिथि रहेको चुनावी सभामा भने पौडेल उपस्थित थिए ।

उनै पौडेलतिर लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘कहिले कहिले आफैंले भनेजस्तो नहुन सक्छ, आफूले चाहेजस्तो नहुन सक्छ । धेरै जनाको निर्णय गर्न सकिँदैन, एक सिटमा एक जनाले टिकट पाउने हो । पार्टीले जुन निर्णय गर्छ, प्रसन्नताका साथ, खुसीका साथ लाग्नुहोला ।’

पोखरामा असन्तुष्ट दीपक समूहका कारण पनि थापालाई मत नजान सक्ने एमाले वृत्तमै चर्चा छ । कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच टकराव छ ।

पौडेल त्यही गुटगत राजनीतिको शिकार बनेको एमालेजन नै बताउँछन् । उपमहासचिव गुरुङ र अधिकारीलाई साक्षी राखेर ओलीले कृष्ण थापालाई नभएर भोट सूर्यलाई हाल्ने बताए । ‘मत व्यक्तिलाई होइन, एमालेलाई दिने हो । त्यहाँ व्यक्तिको फोटो हुँदैन, सूर्य चिन्हमा मत हाल्ने हो,’ ओलीले भने ।

मेयरका उम्मेदवार कृष्ण थापाले घोषणापत्रअनुसार काम गर्ने प्रतिवद्धता गर्दै एमालेमाथि प्रश्न उठ्ने कुनै पनि काम नगर्ने बताए । यसअघि पोखराको मेयर बन्दा पनि आफूले अनुभव आर्जन गरेको र अब पोखरेलीको सपना पूरा गर्न त्यो अनुभव लगाउने उनको भनाइ थियो ।

उममेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङले पोखरामा धेरै उल्लेख्य काम भएको र न्यायिक समिति देशकै अध्ययन केन्द्र बनेको दाबी गरिन् । नेकपा एमाले नगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले करिब २५ हजार मतान्तरले जित निकाल्ने दाबी गरे ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?