+
+

सत्ता गठबन्धनलाई कति डर रहेछ भन्ने स्पष्ट भयो : विजय सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २०:२९

२७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धन चुनावी भागबन्डामा अलमलिंदा नेकपा एमालेले भने भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय सुवेदीलाई अघि सार्‍यो ।

एकल नाम मात्र सिफारिस भएकाले केन्द्रले निर्णय नगर्दै घरदैलो अभियान थालेका सुवेदीलाई यो पटक राप्रपाको पनि समर्थन छ ।

अघिल्लो पटक समेत आफूहरू हारेको नभई हराइएको भन्दै एमाले उम्मेदवार सुवेदी भन्छन्, ‘केही स्वतन्त्र र निष्पक्ष मत समेत मलाई आउँछ, निर्वाचन जित्नेमा ढुक्क छु ।’

प्रस्तुत छ, मेयरका उम्मेदवार विजय सुवेदीसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :

प्रदेश सांसद हुँदाहुँदै भरतपुरको मेयर बन्ने भोक किन ?

प्रदेश सांसद भएपछि आफ्नो तागतले भ्याएसम्म काम गरें । जनताको घर, टोल, बस्तीदेखि संसदसम्म आफूलाई पुर्‍याएँ । ४९ दिन प्रदेशको मन्त्री पनि भएँ । तर म सानैदेखि कार्यकारी पदमा बसेर काम गर्ने चाहना राख्ने मान्छे हुँ । प्रदेशको सांसद र भूमिका त्यति फराकिलो छैन ।

पदीय हिसाबले माथि भए पनि भूमिकाका हिसाबले भरतपुरको मेयर भएर जनताको पक्षमा धेरै काम गर्न सकिन्छ भन्ने लाग्यो । पार्टीमा पनि छलफल भयो । हामीले देवीजी (ज्ञवाली) लाई नै पहिलो प्राथमिकता दियौं, तर उहाँले यसपटक नउठ्ने भन्दै मलाई मेयर बन्न प्रस्ताव गर्नुभयो ।

माननीय कृष्णभक्त पोखरेलले समर्थन गर्नुभयो । सर्वसम्मत रूपमा सबै कमरेडहरूले तपाईं नै अगाडि बढ्नुस् भनेपछि भरतपुरको योजनाबद्ध दिगो विकास गर्न म अगाडि बढेको हुँ ।

नेकपा हुँदा तपाईं र रेनुबीच सहकार्य देखिन्थ्यो, अहिले आमने–सामने हुुनुभा’छ, कस्तो लाग्छ ?

उहाँ मेयर हुँदा मैले सहयोग गरेको थिएँ । एक ढंगले भन्दा एकताका म उहाँको सल्लाहकार जस्तै थिएँ । सबैलाई समेटेर अगाडि लैजाने र समन्वय गर्ने हिसाबले मैले काम गरेको छु । क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन महायज्ञ लगाउने कामको नेतृत्व मैले लिएँ, भरतपुरमा विज्ञहरू राखेर योजनाबद्ध विकास गर्न अग्रसरता लिएँ ।

कोभिडको बेला जिल्लाको समग्र कोभिड नियन्त्रण तथा उपचार व्यवस्थापनको जिम्मा लिन उहाँले भन्नुभएको थियो । अहिले रेनु दाहाल र म मेयरमा उठेका छौं । उहाँले मप्रति गरेका टिप्पणीहरू पनि सुनिरहेको छु । उहाँप्रति कुनै गुनासो र टिप्पणी छैन ।

रेनुले त भरतपुरको विकास मैले गरेकी हुँ, त्यसलाई पूर्णता दिन फेरि उम्मेदवार बनें भन्नुभएको छ त ?

उहाँले गरेको विकास के रहेछ भन्ने एक झर पानी पर्दा जलमग्न हुने भरतपुरले केही दिन अगाडि नै देखाइसकेको छ । यसलाई निकास विनाको विकास भन्ने गरिएको छ । योजनाबद्ध दिगो विकासको सोच नभएर यस्तो भयो । उहाँको काम अलिअलि सडक कालोपत्रे गरेको भन्ने हो ।

महानगरपालिका भएपछि सडक कालोपत्रे हुन्छ । सिटी हल, ६ लेनको सडक हाम्रो पहलमा केपी ओली नेतृत्वको सरकारबाट निकासा भएको बजेटबाट बन्दैछ । क्रिकेट रंगशालाका लागि रकम जुटाउन मैले नै महायज्ञ मूल समितिको संयोजक भएर काम गरेको हुँ । उहाँले गरेको एउटा गौरवको काम देखाउनुस् !

कुनै एउटा गौरवका आयोजना उहाँ आफूले शिलान्यास गरेर पूरा गरेको देखाउनुस् त ! नारायणी नदीमा बजारभरिको फोहोर फाल्नु भएकै छ, बजार क्षेत्र अस्तव्यस्त छन् । पाकिङ्ग छैन । कति रोजगारी दिनुभयो ? कति उद्योग खोल्नुभयो ? कति युवालाई स्वरोजगार बनाउनुभयो ? केही छ !

तर भरतपुरको चुनावी प्रतिस्पर्धा त तपाईं र रेनुको बीचमा मात्र रहेन जस्तो देखिन्छ नि ?

उहाँहरूलाई कति डर रहेछ भन्ने स्पष्ट भएको छ । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू भरतपुरमा तारेख परे जसरी आउनु भा’छ । राज्यशक्तिको चरम दुरुपयोग गरेर एक जना उम्मेदवार (जगन्नाथ पौडेल)विरुद्ध उहाँहरूले के–के गर्नुभएको छ ? यो सबै केका लागि भन्ने त आम जनतालाई थाहा भएकै विषय हो ।

उहाँहरू भरतपुरका मतदातालाई धम्क्याउँदै हिंड्नुभएको छ । माओवादीलाई भोट नदिए देश दुर्घटनामा जान्छ भन्नु भा’छ । उहाँहरूले एउटा कुरा बुझे हुन्छ, चितवनका जनता उहाँहरूका दास हैनन् । सचेत नागरिक हुनुुहुन्छ, धम्कीको भाषा चल्दैन ।

तपाईंले पनि त बीपीको सालिकमा माल्यार्पण गर्नेदेखि मतदाताको खुट्टा ढोेग्नेसम्मका ‘चुनावी स्टन्ट’ गरेको देखियो नि ?

यो मलाई नचिन्ने मान्छेले गर्ने टिप्पणी हो । जसले राष्ट्रिय राजनीतिक जीवनमा योगदान गर्नुभएको छ, उहाँहरूलाई सधैं सम्मान गर्छु । बीपी कोइराला मलाई मनपर्ने एक नेता हुनुहुन्छ ।

उहाँको विचार र आदर्शबाट प्रभावित थिएँ, छु । मदन भण्डारी मेरो नेता नै हुनुभयो । कुनै नयाँ काम प्रारम्भ गर्दा उहाँहरूलाई सम्झन उपर्युक्त देखें, सम्झिएँ । मलाई चिन्ने सबैलाई मेरो बानी थाहै छ ।

त्यसो भए चुनावी परिणामबारे ढुक्क हुनुहुन्छ ?

भरतपुरमा एमालेको आफ्नै जनमत छ । अघिल्लो चुनावमा मतपत्र च्यातेर हामीलाई हराइएको हो, हामी हारेका होइनौं । त्यतिबेला पनि नेपाली कांग्रेसको समर्थन माओवादीलाई थियो ।

यसपटक पनि कांग्रेसले केन्द्रीय नेताको दबावमा समर्थन गरेको छ । हामीलाई पनि राप्रपाको समर्थन छ । हामीबाट चोइटिएको एकीकृत समाजवादीको मत एकता प्रक्रियामा आएको माओवादी केन्द्रबाट पूर्ति हुन्छ ।

कांग्रेसमा जगन्नाथजीहरूले विद्रोह गर्नुभएको छ । उहाँहरूले पनि राम्रै मत पाउनुहुन्छ । केही स्वतन्त्र र निष्पक्ष मत समेत मलाई आउँछ, निर्वाचन जित्नेमा ढुक्क छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?