+
+

पार्टीको मत सुरक्षित गर्दै स्वतन्त्र मत तान्ने सुनिताको दाउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:५०

२७ वैशाख, काठमाडौं । सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौं महानगरको उपप्रमुखकी प्रत्यासी हुन् । डंगोल सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन् ।

तर उनलाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनायो । त्यसो त, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा काम गरेकी थिइन् ।

सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल उनी प्रतिभाशाली युवा नेतृ हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन् । लिपि क्वीनले चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

यिनै क्षमता र विशेषताको बलमा ३० वर्षीया डंगोल भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै ‘भिजिबल’ छन् । नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।

नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गर्न सकिन्छ । यो निर्णय गरिरहँदा पार्टीमा लामो समयदेखि क्रियाशील धेरै नेता पाखा लागेका छन् ।

डंगोल पार्टीको मतसँगै स्वतन्त्र मत समेत आफूलाई आउने दाबी गर्छिन् । ‘काठमाडौंका बासिन्दाको माया हामीले पाइरहेका छौं, पार्टीको शक्ति त छँदैछ’ डंगोल भन्छिन्, ‘न्युट्रल भोट हेर्ने हो भने पनि अहिले देशभर युवा पुस्तालाई मौका दिनुपर्छ भन्ने आवाज आइरहेको छ ।’

मतदाताको यही चाहनालाई सम्बोधन गर्दै पार्टीले आफूलाई अवसर दिएको बुझाइ उम्मेदवार डंगोलको छ । उनी भन्छिन्, ‘पार्टीको यही निर्णयका कारण जो कुनै पनि पार्टीमा हुनुहुन्न, उहाँहरू पनि एमालेप्रति आकर्षित हुनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?