+
+

‘पार्टीको इच्छा’मा विजयको विरासत जोगाउन मैदानमा मञ्जुदेवी

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख २७ गते २०:०२

२७ वैशाख, पोखरा । २०७४ सालमा पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट टिकट पाउँदा मञ्जुदेवी गुरुङलाई धेरैले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्बन्धसँग जोडेर चर्चा गरे । राष्ट्रपति भण्डारीकी ‘मितिनी’ भएकाले टिकट पाएको भन्दै उनको चर्चा चलाइएको थियो । गुरुङ भने यसमा सहमत थिइनन् ।

२०३७ सालबाटै राजनीतिक यात्रा सुरु गरेकी उनले २०५० मा भण्डारीसँग मितिनी साइनो जोडेकी हुन् । त्यतिबेला दुवै जना अखिल नेपाल महिला संघमा आबद्ध थिए । उनीहरू दुवैले जीवनमा एकैप्रकारको वियोग व्यहोरेका छन् तर फरक–फरक दुर्घटनामा । त्यही दुर्घटना नै दुवैलाई जोड्ने माध्यम बनेको थियो ।

१६ साउन २०४९ मा थाई एअर दुर्घटनामा मञ्जुदेवीले श्रीमान् मेखबहादुर गुरुङलाई गुमाएकी थिइन् भने त्यसको ठीक एक वर्षपछि २०५० सालमा विद्यादेवी भण्डारीले दासढुंगामा भएको सडक दुर्घटनामा श्रीमान् मदनकुमार भण्डारीलाई गुमाएकी थिइन् । भण्डारी त्यतिबेला नेकपा एमालेका महासचिव थिए ।

सोही ताजा घटनापछि २०५० को फागुनमा भएको पोखरा नगर कमिटी अधिवेशनमा भण्डारी र गुरुङको भेट भएको थियो । प्रमुख अतिथि बनेर आएकी भण्डारीसँग पार्टीका ‘सिनियर’ नेताले सैनी साइनो जोडिदिएका थिए । पोखरा महानगरको उपप्रमुख भइसक्दा पनि गुरुङलाई प्रश्न आउन छाडेको छैन ।

‘त्यसबेला म महानगरको उपमेयर, उहाँ राष्ट्रपति हुनुहोला भन्ने त कसलाई के थाहा थियो र ? अहिले परिस्थितिले जिम्मेवारी सम्हाल्न आइपुगियो’ आफ्नो राजनीतिक संघर्ष र पार्टीमा दिएको निरन्तरतालाई बिर्सेर आलोचना गर्ने प्रश्नकर्तालाई जवाफ दिन्थिन्, ‘म आफ्नै संघर्ष र परिश्रमले यहाँसम्म आइपुगेकी हुँ ।’

पाँचवर्षे कार्यकाल सम्हालिसकेकी उनी फेरि दोस्रोपटक उपप्रमुख बन्ने दौडमा छिन् । उपप्रमुखसहित बीचमा मेयर मानबहादुर जिसी अवस्थ भएको बेला केही समय कार्यवाहक रूपमा पनि महानगरको नेतृत्व सम्हालिसकेकी छन् ।

सुरुमा महानगरमा जनप्रतिनिधिका रूपमा दोहोरिन इच्छा नभएको भन्दै आन्तरिक उम्मेदवारी समेत नदिएकी गुरुङलाई पार्टीको केन्द्रीय सचिवालय बैठकले उपप्रमुखमा दोहोर्‍याउने निर्णय गरेको थियो । पार्टीका प्रदेश सचिवालय सदस्य रहेका दीपक पौडेललाई महानगर प्रमुख र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई महानगरको नेतृत्वमा पठाउने पार्टीको निर्णय थियो ।

तर, सोही समयमा टिकट पाएका पौडेलको पृथ्वीचोकस्थित एक पसलबाट सुन चोरेको भनिएको विवादास्पद सीसीटिभी फुटेज बाहिरियो भने गुरुङले उपप्रमुख पद अस्वीकार गरिन् । त्यसपछि एमालेले दोस्रोपटक समीक्षा बैठक बस्दै पौडेलको टिकट खोस्यो । विकल्पमा पोखराका पूर्वमेयर तथा गण्डकीका प्रदेश सांसद समेत रहेका कृष्ण थापालाई प्रमुख र फेरि उपप्रमुखमा मञ्जुलाई नै दोहोर्‍याउने निर्णय गर्‍यो ।

दोस्रोपटक पनि आफ्नै नाम मनोनीत गरेपछि गुरुङले मनोनयन दर्ता गर्ने दिनसम्म असन्तुष्टि पोखेकी थिइन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘नेतृत्व गर्ने अरू पनि तयार थिए । मलाई फेरि दोहोरिन मन थिएन । पार्टीले एकपटक पनि सोधेन ।’

को हुन् मञ्जुदेवी गुरुङ ?

२०१८ सालमा स्याङ्जाको सिरुबारी पञ्चमुलमा जन्मिएकी गुरुङ हाल पोखरा ८ न्युरोडमा बस्छिन् । २०३५ सालबाटै कम्युनिस्ट राजनीतिमा झुकाव राखेकी गुरुङको पारिवारिक पृष्ठभूमि भने कांग्रेस हो । साढे दुई वर्षकै उमेरमा दुर्घटनामा बेलायती सेनामा कार्यरत बुवा गुमाएकी उनले २०३६ को विद्यार्थी आन्दोलनबाट आफूलाई राजनीतिप्रति झुकाव बढेको बताउँछिन् ।

‘२०३६ बाटै राजनीतिमा अनौपचारिक प्रवेश गरे पनि बीचमा पारिवारिक कारणले केही वर्ष निष्क्रिय जस्तै रहें । तर, २०५० सालमा अनेमसंघको सदस्य भएपछि मेरो औपचारिक राजनीति सुरु भयो’ गुरुङ भन्छिन्, ‘त्यसयता सधैं पार्टीमा सक्रिय र निरन्तर नै छु ।’ उनी २०५५ सालमा पार्टीको संगठित सदस्य भएकी थिइन् ।

२०५५ देखि २०६५ सालसम्म दुई कार्यकाल तत्कालीन पोखरा उपमहानगर वडा नं. ८ को वडा सदस्यको जिम्मेवारी सम्हालिन् । २०६१ मा एमाले जिल्ला कमिटीको आर्थिक विभाग सदस्य, २०६६ मा क्षेत्र नं. ३ को क्षेत्रीय सचिवालय सदस्य हुँदै २०७० मा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा पुगिन् ।

२०५० देखि अखिल नेपाल महिला संघसँग जोडिएकी उनले २०७२ देखि २०७७ सम्म जिल्ला समितिको नेतृत्व नै सम्हालिन् । २०७१ मा अन्तर पार्टी महिला सञ्जाल कास्कीको जिल्ला कोषाध्यक्ष भएकी उनी २०७८ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगिन् ।

२०७४ सालमा पोखरा महानगरको उपप्रमुखमा विजयी भएकी गुरुङले २०७८ वैशाख १२ गते राजिनामा दिएकी थिइन् । उनले तत्कालीन समयमा नेकपा एमालेका तर्फबाट ५६ हजार ४४९ मत ल्याउँदै उपप्रमुख बनेकी थिइन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् । यसपटक गठबन्धनको चुनौती सामना गर्दै जितको विरासत जोगाउनुपर्ने अवस्था उनीमाथि छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?