+
+

बजेट अधिवेशनका पाँच वटै कार्यकाल सकसपूर्ण

‘नेताहरुका नजरमा बजेट अधिवेशनका पाँच वटै कार्यकाल सकसपूर्ण रहे । एउटा–एउटा सकस देखाएर आफैंले बनाएको व्यवस्था उलंघन गर्न पाए । नागरिकका आँखामा संसदमा बजेटमाथिको छलफल कपटपूर्ण, कर्मकाण्डीमाथि थप कर्मकाण्डी बन्दै गएको छ ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख २८ गते ११:३०

२८ वैशाख, काठमाडौं । संघीय संसदले पाँच वर्षे कार्यकाल गुजार्दैछ । जेठ ३ गतेलाई आह्वान भएको अधिवेशन पाँच वर्षे कार्यकालको अन्तिम बजेट अधिवेशन हो । वितेका चार वटै बजेट अधिवेशनलाई लिएर सार्वजनिक रुपमा प्रश्न उठाइए ।

यो पटक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको २३ भदौ २०७८ देखिको निरन्तरको अवरोध खुल्ने संकेत देखिएको छैन ।

‘हामीले उठाएका विषय सम्बोधन भएका छैनन् । सरकार र सभामुख जिम्मेवार नहुँदासम्म प्रतिनिधिसभाको अवरोध खुल्दैन,’ एमाले सचेतक शान्ता चौधरी भन्छिन्, ‘तैपनि अहिले हामी सबै चुनावमा छौं । चुनावपछि दलको बैठक बस्छ र निर्णय गर्छ ।’

माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना टाँस्नुपर्ने माग राखेर एमालेले निरन्तर संघीय संसदमा अवरोध गर्दै आएको छ । सांसदलाई कारबाही गरेको सूचना नटाँस्ने भए सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ ।

तर, एमालेले भनेका सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले ‘नेकपा एकीकृत समाजवादी’ दर्ता गरेको ८ महिना भैसक्यो । नयाँ दलले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ । तर, दल गठनपूर्वको विषयलाई लिएर एमालेले संघीय संसद चल्न दिइएको छैन । यो विषय सर्वोच्च अदालतमा पनि विचाराधीन छ ।

अर्कोतर्फ, यसपटक बजेट पेश गर्नुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल सकाउनुपर्ने नियम पनि उलंघन हुने भएको छ ।

संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको नियम १४२ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ मा संसद्मा बजेट पेस गर्नुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । तर, बजेट अधिवेशन नै जेठ ३ गते आह्वान भएकाले १५ दिन अगावै पूर्वबजेट छलफल सक्नुपर्ने नियम तोडिने भएको छ ।

संसद सचिवालयका अधिकारीहरु भन्छन्, ‘विशेष परिस्थिति भएकाले सभामुखले नियम निलम्बन गरेपछि भैहाल्छ ।’

पूर्वबजेट छलफल नभएको यो पहिलो पटक भने होइन । विगतमा पूर्वबजेट छलफल नै नभएका उदाहरण पनि छन् ।

संघीय संसद आएपछि पहिलो बजेट अधिवेशन २३ बैशाख ०७५ देखि ११ असोजसम्म चल्यो । त्यसबेला वैशाख २६ गते अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता  पेश गरेका थिए । वैशाख ३० र ३१ गते पूर्वबजेट छलफल भएको थियो । राष्ट्रपतिले ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रम संसदले जेठ १३ गते सर्वसम्मत रुपमा पारित गरेको थियो । अर्थात्, तत्कालीन प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विरोध जनाएन् ।

‘सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षको समर्थन किन ? सरकारलाई खबरदारी किन नगरेको ?’ भनेर कतिपयले प्रश्न उठाए । सरकारको नीति तथा कायक्रमकोे विरोध नै गर्नुपर्ने भन्ने नरहे पनि त्यसबेला कांग्रेस सैद्धान्तिक प्रश्न उठाउनै चुकेको बताउँछन् संसद सचिवालयका पूर्वउपसचिव सुदर्शन कुईंकेल । उनी भन्छन्, ‘सरकारले सुझाव मान्थ्यो मान्दैन्थ्यो भन्ने फरक पाटो हो । तर, खबरदारी नै नगर्नु विपक्षीको गम्भीर कमजोरी हो ।’ त्यसबेला कांग्रेस सांसदहरुले झुक्किएर नीति तथा कार्यक्रममा समर्थन जनाउन पुगेको बताएको उनले स्मरण गरे ।

२०७६ सालको बजेट अधिवेशनमा पनि प्रश्न उठ्यो । त्यसबेला पूर्वबजेट छलफल नै नभएकाले प्रश्न उठेको थियो ।

कोरोना भाइरसको महामारीका बीच वैशाख १६ बाट बजेट अधिवेशन सुरु भएको थियो तर, पूर्वबजेट छलफल नै नगरी वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । कोरोना भाइरसको महामारीलाई बाहाना बनाएर नीति तथा कार्यक्रम पास गरेर जेठ १५ गते बजेट प्रस्तुत गरियो ।

पूर्वबजेट छलफल नै नभएको भनेर त्यसबेला तत्कालीन प्रमुख विपक्षी कांग्रेसले प्रश्न उठाएको थियो । संसदीय मामलाका जानकारहरुले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि पूर्वबजेट छलफल हुने विगतको अभ्यास भने तोडेको भन्दै प्रश्न उठाएका थिए ।

२०७७ सालमा २६ वैशाखबाट बजेट अधिवेशन शुरु भयो । ०७७ मा नीति तथा कार्यक्रम अगाडि पूर्वबजेट छलफल त भयो तर, कर्मकाण्डी मात्रै ।

त्यसबेला प्रतिनिधिसभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रिबजेट छलफल भएको थियो । नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत भएको थियो ।

०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले समयमै संसद्को बजेट अधिवेशन बोलाएन । संसदमा पूर्वबजेट छलफल गराएन् । ७ जेठ मध्यराति प्रतिनिधिसभा विघटन गरेर कानुन मिच्दै बजेट ल्याए ।  प्रि–बजेट छलफल, बजेटका सिद्धान्त र प्राथमिकता केही पनि आएन ।

०७५ अघिका बजेट अधिवेशनका पनि अनेक दृष्टान्त छन् । ०७४ को बजेट अधिवेशन पनि स्मरणीय छ । १७ वैशाख २०७४ मा कांग्रेस र माओवादीका २५१ सांसदको हस्ताक्षरमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

एमालेले उक्त महाअभियोग फिर्ता लिनुपर्ने भनी राखेको मागले संसदमा प्रिबजेट छलफल नै हुन पाएन । एमालेले महाअभियोग फिर्ता नलिए बजेट पेश गर्न नै नदिने रणनीति लिएपछि जेठ १५ गते बजेट पेश गर्नुभन्दा १५ मिनेट अघि महाअभियोगको प्रस्ताव फिर्ता लिने सूचना दिएर अर्थमन्त्रीले बजेट पेश गर्ने वातावरण बनाइएको थियो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बजेट अधिवेशनका कतिपय गतिविधिलाई लिएर उठेका र उठाइएका प्रश्नहरु केवल प्रश्न मात्रै रहेको जिकिर गर्छन् । कुनै बेला त्यस्तै संयोग परेको, कोरोना भाइरसको महामारी र राजनीतिक परिस्थितिका कारण बजेटमाथि संसदमा प्रभावकारी छलफल नपाएको उनको जिकिर छ । प्रवक्ता पाण्डे थप्छन्, ‘नियतबश केही गलत गरिएको छैन ।’

संसद सचिवालयकै पूर्वउपसचिव कुईंकेल राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउँछन् । ‘कुनै कार्य गर्न या नर्गनका लागि बहाना बनाउन र नबनाउन सकिन्छ । त्यो कुशलता राजनीति गर्नेहरुमा हुँदो रहेछ,’ उनी भन्छन्, ‘गत वर्षको बजेट आउँदा तत्कालीन सरकारले पार्टी भित्रकै मान्छेले काम गर्न दिएन भनेर संसद नै भंग गरेर बजेट ल्याए । अहिले चुनावको गतिलो बाहना मिलेको छ ।’

चुनावभन्दा अगाडि अधिवेशन बोलाएर बजेटको प्राथमिकताबारे छलफल चलाएर चुनाव पछाडि बजेट ल्याउन सक्ने सुविधा हुँदाहुँदै सरकार नियम निलम्बन गरेर बजेट ल्याउन लागेको उनी बताउँछन् ।

बजेटमाथि पर्याप्त छलफल होस् भनेर पूर्वबजेट छलफल १५ दिन अगावै सक्नुपर्छ भनेर राखिएको सम्झन्छन् कुईंकेल । उनका अनुसार जसले यो व्यवस्था राखे उसैबाट उल्लंघन भैरहेको छ । उनी भन्छन्, ‘संविधान बनाउने मुख्य नेताहरु यही संसदमा छन् । नियमावली बनाउनेहरु पनि संसदम छन् । तर, आफैंले बनाएको संविधान विधान र नियमावली पाँचै बर्ष फलो गरेको देखिएन ।’

समयमै पूर्व बजेट छलफल गर्ने, बजेटमाथि पर्याप्त छलफल गर्ने संस्कृतिको विकास नै हुन नसकेको कुईंकेललाई लाग्छ । ‘नेताहरुले हेर्दा बजेट अधिवेशनका पाँच वटै कार्यकाल सकसपूर्ण रहे । एउटा एउटा सकस देखाएर आफैंले बनाएको व्यवस्था उल्लंघन गर्न पाए । नागरिकले हेर्दा संसदमा बजेटमाथिको छलफल कपटपूर्ण, कर्मकाण्डीमाथि थप कर्मकाण्डी बन्दै गएको छ ।’

अहिलेसम्मको अभ्यास अनुसार जाने हो भने संसदमा बजेटमाथिको छलफलको औचित्य देख्दैनन् उनी । ‘कानुन पालना गरेका छौं भन्नका खातिर एक वर्षको लागि तयार बजेटमाथि छलफल गर्न एक दिन समय दिने । उठेका सुझाव अनुसार कमा र फुलस्टप पनि परिवर्तन नहुने,’ संसद सचिवालयका पूर्वउपसचिव कुईंकेल प्रश्न गर्छन, ‘अहिलेकै अभ्यास निरन्तर चल्दा संसदमा बजेटमाथिको छलफल हुनु र नहुनुको केही अर्थ छ र ?’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?