+
+

सीमा नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख २९ गते १०:४३

२९ वैशाख, वीरगञ्ज । वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ ।

मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ । यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ ।

मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षीसँगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् । सीमा क्षेत्रमा खटिएका उनीहरुले सर्वसारधणलाई आउन जान रोकेका छन् ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । भारततर्फ सीमा नाका मात्रै हैन सीमा क्षेत्र नै खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज- रक्सौल नाका हुँदै बुधबार बिहान थुप्रै भारतीय नागरिक नेपाल छिर्न खोजेका थिए । वीरगञ्जलगायत नेपालका विभिन्न सहरमा कामका लागि आउन खोजेका उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फिर्ता पठाइदिएको छ ।

नेपाली सुरक्षाकर्मीको टोलीलाई भारतीय एसएसबी, भन्सार कार्यालय र सादा पोशाकमा खटिएका प्रहरीले पनि सघाएका छन् । उनीहरूले मितेरी पुलभन्दा उतैबाट मानिसहरूलाई नेपाल छिर्न दिएका छैनन् ।

नाका बाहेक अन्य क्षेत्रमा मोबाइल, गाडी गस्ती, पट्रोलिङ र संयुक्त गस्तीसमेत भइरहेको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए । ‘सीमा नाकालाई प्रभावकारी रुपमा बन्द गर्न लागि परेका छौं । भारतीय समकक्षीहरूसँग मिलेर संयुक्त गस्तीसमेत गरेका छौं’ उनले भने ‘एम्बुलेन्स, इन्धन बोकेका सवारीसाधन बाहेक अन्य सवारी आवागमन समेत बन्द छ ।’

मोटरसाइकल, गाडी आउने नाकाहरूमा सशस्त्र प्रहरी नै बसेर नियमित ड्युटी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल गाडी आउन रोक लगाएका छन् भने मानिस मात्रै आउन सक्ने क्षेत्रहरूमा संयुक्त र एकल गस्ती, पट्रोलिङ गर्नेजस्ता काम भइरहेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।

निर्वाचनका लागि पर्सामा मात्रै ८ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । इमर्जेन्सी परेकाहरुलाई सुरक्षाकर्मीहरूले सहजीकरण गरिरहेका छन् भने विवाहका सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा आउन जान दिइएको छ ।

सुनसान बनेको नेपाल-भारत सीमा नाका ।

बारामा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई नै विवाह गर्न लागेको सत्य हो वा होइन एकिन गरेर गाडी आउन जान दिन सक्ने अधिकार दिइएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

‘विवाह पहिले नै फिक्स भएर काम अघि बढाइसकेको हुन्छ । रोक्दा पनि समस्या नै हुन्छ,’ उनले भने ‘ चेकजाँच गरेर विवाह गर्न लागेको सत्य हो वा होइन एकिन गरेर सुरक्षाकर्मीलाई नै आवश्यक सहजीकरण गर्न भनेका छौं ।’

थारैभन्दा थोरै जन्ती र कम सवारी साधनलाई आउ जाउ गर्न रोक नलगाइएको उनले बताए । सीमा बन्दलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुको गस्ती, पट्रोलिङ, चेकजाँच, छड्के चेकजाँचसमेत भइरहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले सीमा नाका पूर्णरुपमा बन्द गराउन काउन्टरपार्टसँग सहकार्य भईरहेको बताए । ‘भारतीय एसएसबीका समकक्षी सेक्टर कमाण्डरसँग हाम्रो नियमित समन्वय र बैठक हुन्छ, आइपरेका समस्याहरुका बारेमा छलफल गरेर समाधानका लागि मातहतलाई आवश्यक निर्देशन दिन्छौं’ गणपतिले उताका सुरक्षाकर्मी र बीओपीहरूबीच पनि आपसी समन्वय र बैठक भइरहेको हुन्छ’ उनले भने, ‘संयुक्त गस्ती, संयुक्त अभ्यास र अन्य सुरक्षा कारबाहीहरू मिलेर नै सञ्चालन गर्छौ । उनीहरूले पनि नाका बन्द गरेका छन् ।’

सीमा बन्दका कारण तय गरिएका वैवाहिक कार्यक्रम प्रभावित भएपछि समस्या समाधानका लागि कतिपय जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको र त्यही समितिले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

‘नेपाल भारतको सीमा क्षेत्रमा वारिपारि विवाह गर्ने परम्परा छ । नाकाबन्दीका दिनमा पनि विवाहको लगन परेको रहेछ’ उनले भने ‘कार्डसहित आएर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारीहरूसहितको समितिले वास्तविकता बुझेर विवाहमा आवश्यक पर्ने सवारी र जन्तीलाई आउजाउ गर्न अनुमति दिन्छ ।’

पर्सा जिल्लामा रहेका १६७ मतदान केन्द्र छन् । मतदान केन्द्रमा तीन घेरामा सुरक्षाकर्मी खटिनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना तैनाथ हुनेछ । भने मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि पर्सामा २७ सय म्यादी प्रहरी खटिएका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?