+
+

भारतमा कम बच्चा जन्माउन चाहनेको संख्या बढिरहेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते ११:३५

भारत उत्तर प्रदेशको कानपुर निवासी सलमा (नाम परिवर्तन)लाई घरबाट मात्रै होइन माइतबाट पनि दोस्रो बच्चाको लागि दबाब दिइएको थियो ।

उनी भन्छिन्, ‘मेरो एउटी छोरी छिन् र म ४० वर्षकी भएँ, तर पनि अर्को सन्तानको दबाबमा छु । म उहाँहरूलाई प्रश्न गर्छु तपाईंहरू मेरो दोस्रो बच्चाको खर्च उठाउनुहुन्छ, हेरचाह गर्नुहुन्छ ?’

सलमा र उनका श्रीमानले अर्को सन्तान जन्माउने भन्दा पनि एउटी छोरीलाई राम्रो शिक्षादीक्षा दिने निर्णय गरेका छन् । सलमासँग मिल्दोजुल्दो कथा जयपुरमा बस्ने राखीको पनि छ, जसले परिवारलाई एक छोरामा सीमित गर्ने निर्णय गरेकी छन् ।

सलमा र राखीले परिवारलाई एक वा दुई सन्तानमा सीमित गर्ने निर्णय गरे । राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस-५)को तथ्यांक हेर्दा कम सन्तान जन्माउनेहरुको संख्या बढेको दृश्य भारतमा देखिन्छ । भारतमा कुल प्रजनन् दरमा केही वर्षयता गिरावट आएको छ ।

एनएफएचएस-५ को पछिल्लो तथ्यांकले भारतमा सबै धर्म र जातीय समूहमा कुल प्रजनन् दरमा कमी आएको छ । सन् २०१५-०१६ मा गरिएको सर्वेक्षणमा प्रजनन् २.२ रहेको थियो, जबकि सन् २०१९-२०२१ मा २.० मा झरेको छ ।

विश्लेषकहरूका अनुसार कुल प्रजनन् दरमा कमी आउनुको अर्थ दम्पतीले औसत दुई सन्तानलाई जन्माउनु हो । परिवारको आकार साना भएका छन्, यद्यपि परिवारलाई सानो राख्न उनीहरूको आफ्नै सामाजिक र आर्थिक कारण छन् ।

जहाँ सामान्यतया संयुक्त परिवार संरचना समाप्त हुँदैछ । आर्थिक दबाबका साथै कामकाजी दम्पतीहरूको लागि बच्चाको हेरचाह पनि सानो परिवार हुनुको मुख्य कारण हो । तर छोराको चाहनामा दुई सन्तानमा मात्र सीमित नभएको एउटा वर्ग पनि समाजमा रहेको छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर पपुलेसन साइन्सका प्रोफेसर एसके सिंह र प्रतिवेदनका एक लेखकले यो दर घट्नुको विभिन्न कारण बताएका छन् । उनका अनुसार महिलाको विवाह गर्ने उमेर र विद्यालय जाने उमेर बढेको छ भने गर्भनिरोधक साधनको प्रयोग बढेको छ । साथै शिशु मृत्युदर पनि घटेको छ ।

यद्यापि विपन्न समुदाय र कमजोर शैक्षिक स्तर भएका समुदायमा भने प्रजनन् दर बढी छ ।

ग्रामीण र सहरी क्षेत्रमा भिन्नता

सहरमा प्रजनन् दर १.६ छ भने ग्रामीण क्षेत्रमा २.१ रहेको छ । सर्वेक्षण अनुसार मुस्लिमहरूको प्रजनन् दरमा पनि उल्लेखनीय गिरावट आएको छ ।

पपुलेसन फाउन्डेसन अफ इण्डियाकी कार्यकारी निर्देशक पूनम मुत्रेजा भन्छिन्, ‘५० को दशकमा (सन् १९५१) भारतको कुल प्रजनन् दर करिब ६.० थियो, त्यसैले अहिलेको तथ्यांक उपलब्धि हो । तथ्यांकले स्पष्ट देखाउँछ कि जहाँ महिला शिक्षित छन्, त्यहाँ उनीहरूका सन्तान कम छन् । यसका साथै सरकारको मिसन परिवार योजनाले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सन् २०१६ मा ‘मिसन परिवार विकास’ सुरु गरेको थियो । यो योजना उत्तरप्रदेश, बिहार, राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, झारखण्ड र आसाम गरी सात राज्यका १४५ जिल्लामा सुरु गरिएको थियो, जहाँ प्रजनन् दर उच्च थियो । यस मिसनको लक्ष्य सन् २०२५ सम्ममा प्रजनन् दरलाई २.१ भन्दा कम बनाउनु थियो ।

प्रजनन् दर जब २.१ भएको थियो, यसलाई ‘रिप्लेसमेन्ट लेभल फर्टिलिटी’ भनिन्थ्यो ।  यो आँकडा २.१ पुग्नुको अर्थ आगामी तीन-चार दशकमा देशको जनसंख्या स्थिर हुने हो ।

गर्भनिरोधको मुद्दा

यदि हामी महिला र पुरुषबीचको गर्भनिरोधको विषयमा कुरा गर्छौं भने ठूलो भिन्नता छ ।  १५-४९ वर्ष उमेर समूहका महिलामा बन्ध्याकरण गर्ने दर ३७.९ प्रतिशत छ भने पुरुषमा यो दर निकै कम अर्थात् ०.३ प्रतिशत मात्र छ । तर पुरुषहरूमा कण्डमको प्रयोग बढेर ९.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो तथ्यांकमा ५.६ प्रतिशत थियो ।

त्यस्तै, सोही सर्वेक्षणमा ३५ वर्षभन्दा माथिका २७ प्रतिशत महिलाले एकभन्दा बढी बच्चा र ७ प्रतिशतले दुईभन्दा बढी सन्तान चाहेको पनि देखाएको छ । मुम्बईको आईआईपीएसका वरिष्ठ रिसर्च फेलो नन्दलालले परिवार नियोजनमा पुरुषको समान सहभागिता नहुनु चिन्ताको विषय भएको बताए ।

उनी भन्छन्, ‘सन् १९९४ मा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो, जसमा परिवार नियोजनलाई आधारभूत मानवअधिकार बनाउने कुरामा जोड दिइएको थियो, तर २५ वर्ष बितिसक्दा पनि अवस्थामा खासै परिवर्तन भएको छैन । जहाँ महिलाहरू परिवार नियोजनको कुरामा निर्णय लिन सक्षम छैनन्, त्यहाँ स्थिति खराब छ ।’

प्राची गर्गसँग जनस्वास्थ्य सेवामा काम गरेको १८ वर्षको अनुभव छ र उनी आर्गनन् इण्डियामा दक्षिण एसियाको प्रमुख पनि छिन् । आर्गनन् इण्डियाले विश्वभर महिलाको स्वास्थ्यमा काम गर्छ ।

यसको असर के होला ?

भारतमा गर्भनिरोधकको बोझ महिलामा बढी रहेको उनको विश्वास छ, त्यसैले महिलाहरूले आफ्नो स्वास्थ्यमा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्राची गर्गका अनुसार भारतमा करिब ६५ प्रतिशत युवा छन्, जसको फाइदा पनि देशलाई भइरहेको छ । तर भविष्यमा यस्ता युवाको संख्या घट्ने र वृद्धवृद्धाको संख्या बढ्ने हुँदा सामाजिक सन्तुलनमा समेत असर पर्नेछ । जापान, चीन र ताइवान जस्ता एसियाका देशहरूसँग तुलना गर्ने हो भने उनीहरू आर्थिक रूपमा बढी सक्रिय भए र यसले परिवारको आकारमा पनि उल्टो प्रभाव पारेको छ, जहाँ उनीहरूका लागि सन्तुलन कायम राख्नु अहिले ठूलो चुनौती बनेको छ ।

चीनको कुरा गर्दा त्यहाँको ‘एक बच्चा नीति’ संसारको सबैभन्दा ठूलो परिवार नियोजन कार्यक्रममध्ये एक हो । सन् १९७९ मा सुरु भएको यो नीति करिब ३० वर्षसम्म चल्यो । विश्व बैंकमा अनुसार सन् २००० मा चीनको प्रजनन् दर २.८१ बाट १.५१ मा झरेको थियो र यसले चीनको श्रम बजारमा ठूलो प्रभाव पारेको थियो ।

तर प्रजनन् दरमा आएको गिरावटले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महिलालाई फाइदा पुग्ने र श्रम बजारमा महिला सहभागिता पनि बढ्ने र देशको आर्थिक विकासमा समेत वृद्धि हुनेमा प्राची गर्ग आशावादी छिन् ।

प्रोफेसर एसके सिंह अहिले भारतका लागि जनसंख्या स्थायित्व निकै महत्वपूर्ण भएको बताउँछन् । ‘अहिले प्रजनन् दरमा कमी आएको छ, तर जनसंख्यालाई स्थिर बनाउन ४० वर्ष लाग्छ । भारतले अहिले आफ्नो युवा जनसंख्याको फाइदा उठाइरहेको छ र त्यसपछि यो वृद्धिदर हरेक उमेरमा स्थिर हुनेछ,’ उनी भन्छन्, ‘यसले सन्तुलन पनि कायम हुनेछ । त्यसैले एसियाका अन्य देशसँग तुलना गर्नु गलत हुनेछ ।’

विश्लेषकहरू प्रजनन् दरमा आशावादी भए पनि भारत जस्तो सामाजिक परिवेश भएको देशमा सन्तुलन बनाइराख्नु पनि जरुरी हुन्छ । सानो भइरहेको परिवारले काका, मामा जस्ता नाता सम्बन्धलाई टुट्न दिनु हुँदैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?