+
+
पुस्तक समीक्षा :

सत्यमोहन : व्यक्तिगत अनुभूतिसहितको नेपाली इतिहासको अभिलेख

गणेश कार्की गणेश कार्की
२०७९ वैशाख २९ गते १३:०१

भयो के भने सत्यमोहनले पछिल्लो पटक आफ्ना कथा भन्न गिरीश गिरीलाई छानिदिए। सुनाएका प्रसंगहरू रेकर्ड गर्दै गिरीश गिरीले विभिन्न अनलाइनहरूमा श्रृंखलाबद्ध वा फुटकर रूपमा सत्यमोहनका जीवनका प्रसंगहरू लेखिरहे। यसको केहीपछि सत्यमोहन जोशी स्वयंले आफ्ना जीवनका भोगाइहरू पुस्तकाकारमा हेर्ने इच्छा जाहेर गरेपछि यो पुस्तकले प्रकाशनको बाटो समात्यो।

अनि बन्यो त्यो मानिसको जीवनीको पुस्तक जसले —

राणाशासन, पञ्चायत, बहुदल र गणतन्त्रसम्म भोगेको छ।

१०२ वर्ष छिचोलेको छ।

तीन पटक मदन पुरस्कार जितेको छ।

चार राजाहरूको शासन भोगेको छ। एकभन्दा बढी राजासँग मिलेर काम गरेको छ तर गणतन्त्र नेपालको राष्ट्रिय गीत छानेको छ।

नेपालको दुर्गम सिंजामा पुगेर नेपाली भाषाको जग उधिनेको छ।

पहिलो पटक नेपालको नक्सा बनाएको छ।

चीन पुगेर नेपाली इतिहास तथा चीन–नेपाल सम्बन्धको नयाँ आयाम सुरु गरेको छ।

एउटा गुप्त कोठामा लुकेर बसेको चर्या नृत्यलाई संसारसामु ल्याइदिएको छ।

र, यस्ता अनेक कीर्तिमान सुरुवाती काम गरेको छ।

सत्यमोहनले बाँचेको उमेर र उनले भोगेको संसारको तुलनामा ३०८ पेजको पुस्तक पनि साह्रै सानो प्रतित हुन्छ। पुस्तकका ३१ वटा संस्मरणात्मक निबन्धहरू उनका जीवनका ३१ वटा प्रसंगहरूका टिपोट जस्ता लाग्छन्। अनि लाग्छ, सत्यमोहनका जीवनका असाध्यै धेरै प्रसंग अझै फक्रिन बाँकी नै छन् र तीसँगै जोडिएका नेपालको त्यो समयकाल अझ धेरै खुल्न सक्छ।

राणाशासनको कालोयुगका बारेमा सयौं लेख तथा दर्जनौं पुस्तक पढिएको भए पनि त्यही प्रसंग सत्यमोहन पुस्तकमा फरक लाग्छन् । कारण हो, यसमा ती अनुभव अनुभूतिगम्य छन्।

सत्यमोहन जोशी १०२ वर्ष बाँचिसकेका छन्। उमेरलाई गन्दा उनले फारु गरेर आफ्नो आयु बाँचे झैं लाग्छ तर उनले गरेका काम र पाएको सफलताको सूची हेर्ने हो भने उनले समयलाई पटक्कै फारु गरेका छैनन्। बरु सकेसम्म बढी खर्चिएका छन्। नेपाली साहित्य, संस्कृति र इतिहासका लागि भरपुर लगानी गरेका छन्।

सत्यमोहनले अहिलेसम्म खर्चिएको समयको हिसाबकिताब गरेका हुन् गिरीश गिरीले, पुस्तक सत्यमोहनमा। यसैले गिरीश गिरी लेखक कम, खजाञ्ची बढी हुन् भन्दा पनि अत्युक्ति हुँदैन। गिरीले आफ्ना कुरा कतै नघुसाई सत्यमोहनलाई सुनेर जस्ताको तस्तै ‘अक्षरेपी’ गरेका छन्।

देश बुझ्न चाहनेहरूका लागि खजाना

देश बुझ्न सबैभन्दा पहिले इतिहास बुझ्नुपर्छ। त्यसपछि आउलान् भूगोल र सिमानाहरू। तर त्रिभुवन विश्वविद्यालयमा इतिहासका विद्यार्थी कम हुँदैछन् भन्ने समाचार बाहिरिन्छन्। यही समयमा इतिहासकार युभल नोआ हरारीले एकपछि अर्को कीर्तिमानी बिक्री हुने इतिहास सम्बद्ध पुस्तकहरू प्रकाशित गरिरहेका छन्। विश्वमा इतिहास अध्ययनप्रति यत्रो चासो हुँदा हामीकहाँ किन यो विषय अध्ययनप्रति वितृष्णा छ ? यसको कारण हुन सक्छ, हामीले इतिहासलाई कक्षा ४ मा पढेको गाईको प्रबन्ध जस्तो बनाइयो जसमा अनुभूतिहरूको सदैव हाहाकार छ।

यसैले राणाशासनको कालोयुगका बारेमा सयौं लेख तथा दर्जनौं पुस्तक पढिएको भए पनि त्यही प्रसंग सत्यमोहन पुस्तकमा फरक लाग्छन्। कारण हो, यसमा ती अनुभव अनुभूतिगम्य छन्। जस्तै :

त्यो (सात सालको क्रान्ति र त्यसको प्रतिफल) अकल्पनीय छलाङ थियो। राणाकाल देखे-भोगेका मानिसले मात्रै त्यो उपलब्धिको गहनता बुझ्न सक्छन्। एक किसिमले भन्ने हो भने हामी मानिस नै त्यसपछि मात्र भएका हौं। आम मानिसले हाम्रा पनि हकअधिकार हुन्छन् भन्ने कुरा त्यसपछि नै महसुस गरेका हुन्। (पेज ६१)

वास्तवमै हामीले आफ्नै बारेमा पनि त्यसपछि मात्रै खोजी गर्न थाल्यौं। त्यसपछि मात्रै आम मानिसहरूले राष्ट्रिय पहिचान पाए। ‘त्यतिबेलासम्म कसैले पनि यसलाई लोकगीत भन्दैनथे। …. ग्रामीण गीत भन्थे। यस्तो स्थितिमा मैले तयार पारेको पुस्तकको नाम राखें, हाम्रो लोक संस्कृति। लोक संस्कृति भन्ने शब्दै त्यहाँबाट आएपछि त्यसैबाट लोकगीत पनि भन्न सुरु गरिएको मेरो बुझाइ छ। यस विषयमा कुनै स्वतन्त्र अनुसन्धाताले बुझेर लेखिदिए हुन्थ्यो।’ (पेज ११७) भन्ने प्रसंग होस् वा नेपाली नक्सा बनाउँदाको प्रसंग होस्। अथवा, जनकवि केशरी धर्मराज थापाले गाइने भनिनेहरूलाई ‘तिमीहरू अब उप्रान्त गाइने होइनौ, इन्द्रको सभामा सारङ्गी बजाउने गन्धर्व हौ। तिमीहरू सबै अब गन्धर्व भयौ’ भनेको प्रसंग होस्, यी प्रसंगहरूले हामी सम्मानजनक सामूहिक वा राष्ट्रिय पहिचान बनाउन कति पछि थियौं भन्ने संकेत गर्छन्।

राजनीतिक मात्र नभएर नेपालका सामाजिक ऐतिहासिक महत्वका साह्रै धेरै विषय र सन्दर्भहरू पुस्तकभरि आइरहन्छन्। राणाशासन अन्त्यतिरका दुई दशक र राजा महेन्द्रले सत्ता हत्याएपछिका तीन दशकसम्मका हाम्रा समाजका सांस्कृतिक परम्परा, राजनीति लगायत कुराहरूले हामीलाई सदियौंदेखि सँगै रहेको साथीसँग भर्खर परिचय गरे झैं लाज महसुस गराइदिन्छन्।

नेपाली नक्सा पहिलो पटक बनाउँदाको संस्मरण होस् वा चीनमा नेपाली निर्माण र मूर्तिकलाहरू पछ्याउँदा होस्, पाठकले नयाँ ऐतिहासिक तथ्य पत्ता लागेको अनुभव गर्न पाउँछन्। नेपाली मुद्राहरूको संकलनका सन्दर्भहरू पनि रुचिकर छन्।

हामी नेपालीको पहिचान, गौरव र सम्भावना बनेको बुद्धको जन्मस्थान लुम्बिनी कसरी पत्ता लागेको थियो भन्ने पढ्दा छक्क परिन्छ। त्यत्रो महत्वको विषय कसरी ओझेलमा परिरहेको थियो र कसरी सतहमा निस्कियो भन्ने दुवै प्रसंगहरू अनौठा लाग्छन्। पाल्पा गौंडाका बडाहाकिम खड्गशमशेरलाई खोज्दै पुगेका बेलायती पुरातत्त्वविद् डा. एन्टोनी फुहररले के रहेछ भनेर थुम्कोमा माटो हटाएर हेर्दा पिलर भेट्टाए। त्यो अशोक स्तम्भ थियो। जसको कारणले नै लुम्बिनी बुद्धको जन्मस्थान मानियो। त्यो त्यत्रो महत्वको विषय थियो। (पेज १२५, सम्पादित)

समयरेखामा नबाँधिएर सन्दर्भहरू विशेष पाठहरू भएकाले कुन विषय कहिले आउँछ भन्ने थाहा पाउन सकिंदैन। यसैले ती प्रसंगहरू पाठकलाई मिठो ‘सरप्राइज’ जस्ता बन्छन्। पुस्तकको यो अर्को विशेषता हो।

इतिहासकै प्रसंगमा सत्यमोहनले गम्भीर प्रश्न गरेका छन्। ‘हामीसँग राष्ट्रिय इतिहास भइदिएन। विश्वविद्यालयमा पनि नेपालका उही टुक्राटाक्री इतिहास मात्रै पढाइ भइरहेको छ। या त हाम्रो बेलामा जस्तै भारत र बेलायतको इतिहास पढाएर काम चलाइन्छ। अब त झन् मुलुक संघीयतामा गइसक्यो। यी सातवटा प्रदेशलाई जोड्ने इतिहास खै ? उही गोरखा, मल्ल, काठमाडौं, भक्तपुर र ललितपुरका भोगाइहरू जोडिएका इतिहासबाटै काम चलाइरहेका छौं।’

तर ला उठ्छ उठ्छ

कमजोरीरहित पुस्तक हुँदैनन् र मान्छे पनि त्यस्तै कमजोरीरहित वा दोषरहित हुँदैनन्। पुस्तकको सबैभन्दा ठूलो कमजोरी भनेको पुस्तकभरि कमजोरीविहीन सत्यमोहन छाइरहनु हो।

श्रीलंका यात्राका अफ्ठ्यारा, न्यूजिल्यान्डका बारेमा जानकारी नभएको कारणले सत्यमोहनले पाएका दुखहरू जस्ता सानातिना कमजोरीहरू लेखिएका छन् तर तिनले सत्यमोहनको जीवनमा प्रभाव पार्दैनन्। १०२ वर्ष पार गरिसक्दा कतै पनि गल्ती नगरेको पात्र हुनु स्वाभाविक लाग्दैन। बरु प्रश्न उठ्छ, सत्यमोहनले आफ्नो कमजोरी वा गल्ती वा बठ्याइँलाई अति सामान्य मान्छन्। उनलाई ती कुराहरूका बारेमा पत्तै छैन।

सत्यमोहन जोशीका बारेमा गरिने प्रश्न भनेको उनी सधैं सत्तासँग नजिक रहिरहनु हो। सत्यमोहन कहिल्यै पनि विद्रोही वा सत्ताको विरोधी भएनन् भनेर उनलाई सत्तापक्ष भन्नेहरू पनि छन्। एकसरो सन्दर्भहरू हेर्दा त्यो आरोप शिरपाउ नभएको हो भन्ने अवस्था पनि छैन।

सत्यमोहन जोशीले विक्रम संवत् २००१ तिर नै राणाशासनकै समयमा जागिर सुरु गरे। २००७ सालको परिवर्तनपछि पनि लाभका पदमा पुग्न सके। राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा पनि उनलाई व्यक्तिगतरूपमा लाभका पदहरूमा पुग्न समस्या रहेन। र, कु गरेर शासन लिएका पूर्वराजा ज्ञानेन्द्रबाट सम्मान थापेका जोशी गणतन्त्रपछि राष्ट्रिय गान छान्ने समितिमा पुग्छन्।

जुनसुकै परिवर्तनमा पनि आफूलाई ढाल्न सक्नु सत्यमोहनको सबैभन्दा ठूलो कला हो भन्ने देखिन्छ। सायद उनको लामो आयुको पनि यो कलासँग केही सम्बन्ध हुनुपर्छ। उनी दुर्गमका मानिसहरूसँग घुलमिल भएर त्यहाँका लोकगीत संकलन गर्न सक्छन् भने न्यूजिल्यान्ड पुगेर त्यहाँकी स्थानीय युवतीसँग ‘बेल डान्स’ गर्न सक्छन्। सत्यमोहनको यही अनुकूलनलाई अवसरवाद भन्नेहरू पनि छन् तर पुस्तकभरि यो आरोपका बारेमा भने कतै पनि चर्चा छैन। बरु आफूले नचाहँदा नचाहँदै बालकृष्ण समले नाटकबाट एकजना महिला कलाकारलाई निकालेपछि आफूले बेकारमा ती महिलाको गाली खानु परेको प्रसंग छ। मानौं, उनको जीवनमा लागेको त्यति मात्रै हो आरोप।

सत्यमोहन किन सत्ताको आलोचक रहेनन् भन्ने बारेमा पुस्तकमा कतै पनि चर्चा छैन तर एक दुई प्रसंगबाट भने अर्थ निकाल्न सकिन्छ।

‘श्रीपञ्चमीको दिन थियो त्यो। महाङ्कालनजिकै पूर्णनारायण सुब्बालाई झुन्ड्याइँदै छ भन्ने हल्ला सुनेपछि म पनि त्यता पुगें। झुन्ड्याउने भनेर सम्पूर्ण बन्दोबस्त भइसकेको रहेछ। एकैछिनमा प्रधानमन्त्री जुद्धशमशेर त्यहाँ आइपुगे।…

‘क्या हो यो ?’ त्यो झुन्ड्याउन तयार पारेर राखिएको स्थानमा पुगेर श्री ३ ले चर्को स्वरमा प्रश्न गरे। प्रतिउत्तरमा पूर्णनारायणले माफी मागे।

लगत्तै त्यत्रा शक्तिशाली प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको अप्रत्याशित भनाइ सुनेर त्यहाँ उपस्थित सबै चकित परे। एक हिसाबले भित्रभित्रै हर्षोल्लास छायो। जुद्धशमशेरले बोलेको त्यो अप्रत्याशित वाक्य थियो, “ल भैगो, माफी भयो।”

यसरी मेरै आँखाको सामुन्ने फाँसीमा झुन्ड्याउनका निम्ति तयार पारिएका एक जना सरकारी जागिरेलाई प्रधानमन्त्रीको एक वचनले पुनर्जीवन प्रदान गरिदिएको थियो। …

यो सबै देख्दादेख्दै घरपरिवारको दायित्व सम्हालेको र जागिरे जीवन बिताइरहेको मैले आफूलाई राजनीतितर्फ मोड्ने आँट गर्न सकिनँ। (पेज ६३) त्यस्तै, १९९७ सालमा शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको बोटमा झुन्डिरहेको देख्नुपर्दा म असाध्यै विचलित भएको थिएँ। (पेज ६१)

पुस्तकमा कतै किटान गरिएको छैन र पुन: अर्को पटक यो सन्दर्भ उठेको पनि छैन तर सोही प्रसंगलाई भन्न सकिन्छ, ‘भयवश सत्यमोहन जोशी जीवनभर सत्तापक्ष रहे।’ समाजका सबै मानिस ‘क्रान्तिकारी’ हुँदैनन् र सायद हुनु पर्दैन पनि।

यस्तै पुस्तकमा कतिपय प्रसंगहरू पटक–पटक दोहोरिन्छन्। यसमा लेखक गिरिश गिरी चुकेका छन्। उनले सत्यमोहन जोशीका भोगाइलाई प्राकृतिक रूपमा रहन दिने लहडमा प्रसंगहरू छाँटकाँट नगरेर बेला–बेला पाठकको समय खाइदिएका छन्। त्यस्तै, जुरेली दर्शनको सन्दर्भलाई पुस्तकमा जति महत्व दिइएको छ, पढ्दा त्यति महत्वपूर्ण लाग्दैनन्।

यीसँगै पुस्तकमा आएका ऐतिहासिक सन्दर्भहरूलाई तेस्रो स्रोतबाट ‘भेरिफाइ’ पनि गरिएको भए सुनमा सुगन्ध हुन सक्थ्यो।

समग्रमा, एउटा ‘अक्रान्तिकारी मानिस’ले कसरी नेपाली समाजका विभिन्न क्षेत्रमा विभिन्न क्रान्ति गर्यो भन्ने कुराहरूको फेहरिस्त बनेको छ पुस्तक। ती फेहरिस्तमा सत्यमोहनको कथा र अनुभूति मिश्रण भएको हुँदा ती जीवन्त छन्। अझ ती व्यक्तिगत प्रसंगहरूमा सामाजिक र मुलुककै एउटा लामो समय जोडिएको भएर यो पुस्तक पढ्नै पर्ने बनेको छ। र, पुस्तक पढिसकेपछि लाग्छ, सत्यमोहनको दोस्रो भाग पनि आउनुपर्छ। यसै पनि सत्यमोहनले भनेका छन्, “कहिलेकाहीं त यस्ता कथा भनिरहनकै निम्ति बाँचिरहेको छु जस्तो लाग्छ।” (पेज ९३)

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?