
२९ वैशाख, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार हुने स्थानीय निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन् ।
बिहीबार केही मतदान केन्द्रको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बुथहरु निर्माण गर्ने, मतपत्र वितरण गर्ने, मतगणना स्थल निर्माण गर्ने लगायतका काम लगभग पूरा भएको बताए ।
निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीहरुले स्थानीय स्तरमा राजनीतिक दलका प्रतिनिधिहरुसँग समन्वय गर्ने काम भइरहेको उनले बताए ।
काठमाडौंको ११ वटै स्थानीय तहमा मतगणनास्थलको तयारी पनि लगभग सकिइसकेको उनले बताए ।
काठमाडौंमा ३२० मतदानस्थल रहेका छन् । जसमध्ये ११५ मतदान स्थलहरु संवेदनशील रहेको उनले बताए । काठमाडौंमा अतिसंवेदनशील मतदानस्थल एउटा पनि नरहेको उनको भनाइ छ ।
‘मतदान स्थलको वर्गीकरण गर्दा धेरै सूचकहरु लिएका थियौं । शान्ति सुरक्षाका कुरालाई मात्रै नलिएर यातायातको उपलब्धता, सञ्चारको उपलब्धता, मतदान स्थलहरु सुरक्षा संयन्त्रबाट कति टाढा वा नजिक छ । विगतका निर्वाचनमा कुनै पनि खालको अप्रिय घटना भए/नभको विश्लेषणलाई पनि आधार बनाएका छौं । यस्तै धेरै सूचकहरुलाई आधार मानेर मतदान स्थलको वर्गिकरण गरिएको हो’ उनले भने ।
प्रतिक्रिया 4