+
+

काठमाडौंका मतदान केन्द्र : धेरै मतदातालाई साँघुरो ठाउँ

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख २९ गते १८:१९

२९ वैशाख, काठमाडौं । साँघुरो स्थानमा मतदान केन्द्र तय गरिएकाले काठमाडौं महानगरका कतिपय स्थानमा मतदान स्थलको व्यवस्थापनमा कर्मचारीलाई कठिनाई परेको छ ।

मतदाता बढी भएका स्थानमा समेत साँघुरो ठाउँलाई मतदान केन्द्र बनाइएको छ । काठमाडौं महानगरको वडा नम्बर १६ र २५ का चार मतदान केन्द्रको अवस्था हेर्दा सानो क्षेत्र भएकैले कर्मचारीलाई व्यवस्थापनमा कठिन भएको छ ।

काठमाडौं– १६ को नेपाल युवक माध्यमिक विद्यालय केन्द्रमा मतदाताको संख्या ८८५ छ । विद्यालय प्रांगढ फराकिलो हुनुका साथै मतदाता थोरै भएकाले त्यहाँ कर्मचारीलाई कठिन छैन । यस्तै वडाको सोह्रखुट्टेमा चोकमा रहेको बुथमा ३ हजार २ सय बढी मतदाता छन् ।

वडा कार्यालयसँगै रहेको व्यास भवनमा अन्त्यन्तै साँघुरो छ । ३ हजार २ सय जनालाई तोकिएको केन्द्र भन्दा झण्डै चार गुणा बढी क्षेत्रफल रहेको स्थान ८८५ जनाको लागि तय गरिएको छ । मतदाताको संख्यालाई मध्यनजर नगरी केन्द्र तय गरिएको छ । मतदाता र क्षेत्रफलको तादाम्यता नमिलाइएको स्वयं मतदान अधिकृतहरु बताउँछन् ।

वडा नम्बर १६ व्यास भवन केन्द्रका मतदान अधिकृत भन्छन्,‘साँघुरो स्थान छ । ३२ सय बढी मतदाता छन् । मत पेटिका स्थल र मतदाताको लाइन मिलाउनै समस्या छ ।’ नेपाल युवक माध्यमिक विद्यालय गठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले भोट हाल्ने केन्द्र हो ।

आयोगले खटाएका कर्मचारी तथा सुरक्षाकर्मी शुक्रबारका लागि मतदान स्थल तयार गर्न हतारमा देखिन्छन् । कोही पोल ठड्याँउदै डोरी बाँध्न व्यस्त छन् भने केही पाल टाँग्न लागिरहेका देखिन्छन् । मौसम प्रतिकुल हुने शंकाले धेरै स्थानमा पाल टांग्न लागिएको छ । साँघुरो स्थान भएकाले मतपेटिका बाकस राख्ने ठाउँ, मतदान अधिकृत बस्ने स्थान तथा कर्मचारीलाई बसाउने स्थान मिलाउन समेत कठिन परेको देखिन्छ ।

सोह्रखुट्टे चोकको मतदान केन्द्र भन्दा दयनीय अवस्था असनस्थित मछिन्द्रबहाल मतदान स्थानको छ । सेतो मछिन्द्रनाथ मन्दिर अगाडी मतदान स्थल तय गरिएको छ । १ हजार ६३४ मतदाताका लागि तोकिएको स्थानमा लाइन लगाउने ठाउँ समेत अभाव छ ।

‘मछिन्द्रनाथ मन्दिर पुन निर्माणको क्रममा रहेकाले मन्दिर पछिको भाग प्रयोग गर्न सकिएन,’ उक्त केन्द्रका मतदान अधिकृत सूर्य प्रसाद सापकोटा भन्छन्,‘वरपर पसल छन् । हिजो अस्ति नै हटाउन सकिएन । मतदातालाई लाइनमा बसाउने धेरै ठाउँ पनि छैन । मूल सडकमै लाइनमा राख्र्नु पर्ला ।’

सापकोटाकै नियती भोगेका वडा १६ व्यास भवनका अधिकृत पोखरेलको छ । मतदानको दिन गाडी चलाउन प्रतिवन्ध रहेकाले मूल सडकमा मतदातालाई लाइनमा राख्ने उनले बताए ।

साँघुरो स्थान भएकाले अशक्त,वृद्ध,गर्भवतीलाई छुट्टै लाइनको व्यवस्था हुन सकेको छैन । छुट्टै लाइन बनाउन सकिने अवस्था नभएपछि ती मतदातालाई लाइनमा बस्नै नपर्ने गरि विकल्प अपनाइएको छ । दलहरुका प्रतिनिधिहरु र मतदान अधिकृतको बैठकले अपाङ्ग, अशक्त र वृद्धवृद्धालाई सिधैं मतपेटिकामा पुग्ने व्यवस्था मिलाइएको छ ।

‘वृद्ध,गर्भवती महिला,अशक्त तथा अपाङ्गलाई लाइनमा बस्न पर्दैन । दलका प्रतिनिधिहरुसँग छलफल गरि सहमति गरेका छौं,’ सरस्वती क्याम्पस मतदान केन्द्रकी सहायक अधिकृत विज्ञा भण्डारीले भनिन् ।

निर्वाचन आयोगले बुधबार र विहीबारका लागि मतदाता परिचयपत्र वितरणको समय निर्धारण गरेको छ । मतदान केन्द्रबाट नै मतदाता परिचयपत्र वितरण भइरहेको छ । तर, मतदाता परिचयपत्र लिन आउनेहरुको संख्या भने न्युन रहेको मतदान अधिकृतहरुले जानकारी दिए ।

नयाँ परिचयपत्र लिन आउनेको तुलनामा पुरानो मतदाता परिचयपत्र लिन आउनेको संख्या निकै कम भएको असनस्थित मछिन्द्रबहाल मतदान केन्द्रका मतदान अधिकृत सूर्य प्रसाद सापकोटाले जानकारी दिए ।

‘यस केन्द्रमा नयाँका ७१ मध्ये ४६ जनाले परिचयपत्र लगेका छन् । १४१ वटा पुरानो मतदाता परिचयपत्र थियो । पुरानोको जम्मा ४ जनाले लगेका छन्,’ सापकोटाले भने,‘मृत्य र बसाइसराईंका कारण मतदाता परिचय पत्र लिन नआउनु भएको होला ।’

काठमाडौं महानगरको मतपत्र अन्यत्रको तुलनामा धेरै ठूलो आकारको रहेको छ । मतपत्र ठूलो आकारको भएकाले मतदान गर्दा समय बढी लाग्ने पूर्व आकलन निर्वाचन अधिकृतहरुले गरेका छन् । मतपत्र प्राप्त गरिसकेपछि मतदाताले स्वस्तिक छाप लगाउन कम्तिमा तिन मिनेट लाग्ने मतदान अधिकृतहरु बताउँछन् ।

‘मतपत्र ठूलो छ । हेरेर आफ्नो उम्मेदवार छान्न समय तिन मिनेट बढी लाग्छ,’ वडा नम्बर १६ स्थित नेपाल युवक माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएकी मतदान अधिकृत रिता खड्काले भनिन्,‘वृद्धहरुलाई झनै बढी समय लाग्छ । केही समय बढी लागेपनि समय दिनुपर्‍यो ।’

यी केन्द्रहरुमा मतदाताको संख्या हेरेर सुरक्षाकर्मीको संख्या पनि तोकिएको छ । बढी मतदाता भएको स्थानमा सुरक्षाकर्मीको संख्या पनि थपिएको छ । यी केन्द्रमा ८ देखि १६ जनासम्म सुरक्षाकर्मी खटाइएको छ । अधिकृत सहित पाँच जना कर्मचारी एउटा केन्द्रमा तोकिएका छन् । तीन जना स्वयंसेवक अधिकृतले नै चयन गरि थप्न पाउने छन् ।

आयोगले मतदानको अवधि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकेको छ । मतदान ५ बजेसम्म नसकिए अवधि बढाएर भएपनि मतअधिकार दिने निर्वाचन अधिकृत बताउँछन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

 

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?