+
+

चुनावको उत्साह : कोही स्टेचरमा, कोही अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ९:३९

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रुपमा भइरहेको छ । वृद्धवृद्धा, अशक्तहरु पनि परिवारका सदस्यहरुको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

बिहान ७ बज्नुअघिदेखि नै मतदाताहरु मतदान केन्द्र पुगेर लाइनमा बसेका थिए । ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

कोही अक्सिजन सिलिण्डरसहित, कोही ह्वीलचेयरमा र कोही बुइ चढेर मतदान गर्न आएका दृष्यहरु देखिएको छ । तनहुँको ब्यास नगरपालिका–८ मा स्टेचरमा बोकेर ल्याइएका ९९ वर्षीया विर्खसिं गुरुङको पनि मत खसेको छ । उनको साटो उनका छोरा नारायण गुरुङले गाविस भवन मतदान केन्द्र ‘ख’ बाट मतदान गरिदिएका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका अन्तर्गत भीमढुंगाको बालबोध मावि मतदान केन्द्रमा ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएकै अवस्थामा मतदान गर्न गएका छन् । उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी थिइन् ।

रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले थवाङ गाउँपालिका वडा नं.१ को मतदान केन्द्रबाट मतदान गरेकी छन् । पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने उनलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रबाट १०० वर्षका कृष्णप्रसाद पण्डितले मतदान गरेका छन् । १०० वर्षको उमेरमा मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको छ ।’ उनले सबैको दीर्घायूको कामना पनि गरे । ‘सबैको आयु मेरो जस्तै होस्’, उनले भने, ‘सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’

मुगुको खत्याड गाउँपालिका-८ का ९७ वर्षीय भुवासिङ थापाले एक घन्टा पैदल हिँडेर सरस्वती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा आएर मतदान गरेका छन् । सम्भवतः उनी सो क्षेत्रका ज्येष्ठ नागरिक हुन् ।

यसैगरी रुपन्देहीको तिलोत्तमा-८ ज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट ८६ वर्षीय गंगाधर रिजालले पनि मतदान गरेका छन् । यो गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्ने केन्द्र हो ।

मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् ।

वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन केही ढिला भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । मतदाताहरु छाता ओढेर मतदान केन्द्रसम्म पुगेका छन् ।

दोलखाको वैत्यश्वरमा मतदानको क्रममा तनावको स्थिति भएपछि मतदान रोकिएको छ । बाराको देवताल गाउँपालिका वडा ७ मा पनि मतदानका क्रममा झडप भएपछि मतदान रोकिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित नारायण मावि मतदान केन्द्रमा बिहानै दुईवटा शंकास्पद बस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको छ । मतदानस्थलको गेट नजिक राखिएको शंकास्पद वस्तु वीरभद्रजंग गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । शंकास्पद वस्तु अरु पनि रहेकाले देखिएकाले मतदाताहरुलाई मतदान केन्द्र नजिक आउन दिइएको छैन ।

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।

अन्य स्थानहरुमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

 

\

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?