+
+

चन्द्रमायालाई निर्वाचनले जुरायो गुन तिर्ने अवसर

‘नागरिकता बनाउन सघाउनेलाई भोट’

दिपेश शाही दिपेश शाही
२०७९ वैशाख ३० गते १८:२३

३० वैशाख, काठमाडौं । चन्द्रमाया सोनामलाई चुनावमा भोट हाल्नुको महत्वबारे खासै जानकारी छैन । तर उनी भोट हाल्नकै लागि काठमाडौं सहरमाथिको गाउँ गोलढुंगाबाट करिब १० किलोमिटरको यात्रा तय गरेर पैदलै हाडीगाउँसम्म पुग्न सडकमा निस्किएकी थिइन् ।

६७ वर्ष उमेर पार गरिसकेकी उनलाई जिन्दगीमा कसैको ऋण तिर्नु छैन, तर तिरिनसक्नु गुनको भारी हृदयभरि छ ।

त्यो गुन तिर्ने महत्वपूर्ण अवसर बनेर आएको छ, स्थानीय तह निर्वाचन २०७९ । ‘ऋण त कसैको खाएकी छैन, तर गुन यति धेरै पाएकी छु कि तिर्न सक्दिन होला,’ उनी भन्दै थिइन्, ‘एकजना आपसीलाई आज भोट हाल्नुछ । त्यहीं जान हिंडेकी । आज बस चल्दैनन्, त्यही भएर गाडी रोक्दै हिंडेकी छु ।’

सार्वजनिक यातायात नसक्दा पनि उनी रोकिइनन् । चोक–चोकमा सुरक्षाकर्मीले ब्यारिकेट राखेर गरिरहेको सोधपुछले पनि उनको लक्ष्यमा अवरोध सिर्जना गर्न सकेका छैनन् । पैदलै चुनावमा भोट हाल्ने लक्ष्य भेट्न हिंडेकी उनी लिफ्ट मागेर चढेको साधनलाई पनि अनुमति दिन बाध्य बनाइरहेकी थिइन् । ‘म बुढी मान्छे । उहाँलाई रोकेर पुर्‍याइदिन भनेकी हुँ । तपाईंहरूले गर्दा बीचबाटोमा अलपत्र पर्ने भएँ,’ उनी आफ्नो कुरा सुरक्षाकर्मीलाई निर्धक्क भन्थिन् । सुरक्षाकर्मी पनि उनको तर्कमा धेरै प्रतिवाद जनाउन सक्थेनन् । सञ्चारकर्मीको साधनमा लिफ्ट पाएकी उनी जीवनमा पहिलोपटक भोट हाल्न पाइने भएपछि दंग सुनिन्थिन् ।

चुनाव चिन्ह के हो र पार्टीको नाम के हो ? उनले मतदान स्थलमा उम्मेदवारलाई भेटेर सोधेपछि मात्र थाहा पाउनेछिन् । तर खुसीको कुरा उनलाई यो लोकतन्त्रले गुन तिर्ने अवसर जुराइदिएको छ । उनले भोट हालेर त्यो पूरा गरेकी छन् ।

****

चन्द्रमाया दोलखाबाट काठमाडौं आएर बसेको करिब ४५ वर्ष भयो । यो यकिन होइन, उनको अनुमान हो । तर काठमाडौंमा बाँचेको यो समय उनको जिन्दगीको खास हो । उनले भोगेको उतारचढावपूर्ण अवधि हो । त्यसैले त उनलाई बुढ्यौलीले छोइसकेको यो उमेरमा पनि भोट हाल्न दौडधुप गर्न जाँगर चलेको छ । ‘घर अहिले काठमाडौं नै हो, तर म जन्मेकी यहाँ होइन,’ उनले आफ्नो विगत सम्झिइन्, ‘४५-४६ वर्षअघि विवाह गरेर आएकी हुँ ।’

उमेरले झण्डै सात दशक पुग्न लागेकी उनले अहिलेसम्म भोट हालेकी छैनन् । उनी जीवनमा पहिलोपटक भोट हाल्दै थिइन्, त्यसैले पनि उनका लागि यो चुनाव विशेष छ । त्यसैमा गुन तिर्ने अवसर पनि भएकाले उनका लागि यो झन् विशेष बनेर आएको छ ।

सानै उमेरमा बिहे भएपछि उनी श्रीमानको पछि लागेर दोलखाबाट काठमाडौं सहर आइपुगेकी थिइन् । दोलखाको दलित परिवारका उनीहरू काठमाडौं पुगेपछि हाडीगाउँको एउटा साँघुरो कोठामा भाडामा बस्दै आएका थिए । उनीहरूका लागि त्यो पनि खुसीकै कुरा थियो । दुःखसुख गरेर दुई जनाको परिवार पालिएको थियो । उनीहरूका दुई भाइ छोरा पनि जन्मिएपछि परिवारमा थप खुसी छाएको थियो ।

तर एक दिन श्रीमानले हाडीगाउँको भाडाको कोठामा दुई छोरालाई चन्द्रमायाको काखमा सुताएर अर्कैसँग विवाह गरे । जसलाई जिन्दगीको सहारा ठानेर पछि लागेकी थिइन्, उसैले छाडेर गएपछि उनका लागि हाडीगाउँको अँध्यारो भाडाको कोठा र दुई छोरा नै सर्वस्व बने । उनले हार मानिनन् । एक्लै आफ्ना दुई छोरालाई पढाइन्, हुर्काइन् । ‘श्रीमानले अर्को विवाह गर्दा छोराहरू सानै थिए । त्यही हाडीगाउँमा बसेर हुर्काएँ, बढाएँ,’ उनलाई असाध्यै माया लाग्ने हाडीगाउँबारे भन्छिन्, ‘त्यही भएर आफ्नो माइती भने पनि घर भने पनि यही ठाउँजस्तो लाग्छ । अघिपछि पनि आइरहन्छु ।’

हाडीगाउँको अँध्यारो कोठाबाट छोराहरूले बढ्दै पढ्दै उज्यालो देखे । ठूलो भएपछि उनीहरू विदेश जाने भए । त्यसका लागि राहदानी बनाउनुपर्ने भयो । राहदानी बनाउन नागरिकता चाहिने भयो । उनीसँग आफ्नै नागरिकता थिएन, छोराहरूको नागरिकता र राहदानी कसरी बनाइदिने अलमलमा परिन् ।

आफू भाडामा बसिरहेको घरका मान्छे र टोलका जान्ने बुझ्नेले उनले अप्ठ्यारो सुनाइन् । वषौंदेखि बस्दै आएकी चन्द्रमायाको दुःखलाई हाडीगाउँवासीले टुलुटुलु हेरेर बस्न सकेनन् । उनीहरूले सकेको उपाय लगाएर बबरमहल (काठमाडौं जिल्ला प्रशासन कार्यालय भएको स्थान)बाट चन्द्रमायालाई नागरिकता दिलाए । चन्द्रमायाले नागरिकता पाएको दोस्रो दिन छोराहरूले पनि नागरिकता पाए ।

उनीहरू एकैपटक काठमाडौंको हाडीगाउँका नागरिक भए । त्यो उनको जीवनको लागि ठूलो खुसी थियो । छोराहरूले पासपोर्ट बनाएर विदेश गए, पैसा कमाए । अहिले दुई भाइ छोराले विदेशमा गरेको मेहनतले हाडीगाउँबाट पर गोलढुंगामा तीनतले घर ठडिएको छ । दुवै छोराले विवाह पनि गरेका छन् । चार जना नातिनातिना छन् । उनलाई श्रीमानले छाडेको दुःखलाई छोराहरूले दिलाएको खुसीले बिर्सायो ।

यति ठूलो खुसी दिलाएको त्यही हाडीगाउँ र तिनै चिनजानका मान्छेले हो भन्ने चन्द्रमायाले बिर्सिएकी छैनन् । उनी जान्ने भएदेखि देखे–सुनेको हाडीगाउँका हरेक गल्ली र चोक आफ्नै जस्ता लाग्छन् । त्यही हाडीगाउँका चिनजानका एक जना सहयोगी यसपटक स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन्, जसले उनलाई र छोराहरूलाई नागरिकता दिलाउन सहयोग गरेका थिए ।

तिनै उम्मेदवारले उनलाई चुनावमा आउने खबर फोनमार्फत सुनाएका थिए । त्यो सुनेदेखि नै उनी भोट हाल्न आतुर थिइन् । उनलाई यातायातको साधन नभएका कारण भोट हाल्न आउन सकिन भनेर बहाना बनाउनै मन लागेन ।

****

यसै पनि गोलढुंगावासीलाई सामान्य समयमा समेत सार्वजनिक यातायातमा कोचाकोच गरेर सहर झर्नुपर्छ, बस्तीतिर फर्किनुपर्छ । मतदानको दिन निजी, सार्वजनिक र भाडाका लगायत सबै यातायात ठप्प छन् । यो चन्द्रमायालाई जानकारी भएकै विषय हो । तर उनलाई यसपटक भोट नहाली भएको छैन ।

सहरतिर झरिरहेका सवारी साधनलाई रोक्दै र केही पाइला चाल्दै उनी गन्तव्यसम्म पुग्ने अठोटमा थिइन् । नागरिकता बनाउन सघाउने तिनै हितैषी उम्मेदवारलाई भोट हाल्न उनी सोचेभन्दा सजिलै र छिट्टै मतदान केन्द्र पुगेकी थिइन् । उनले छुट्नुभन्दा पहिले नै हितैषी उम्मेदवारलाई फोन लगाइसकेकी थिइन् ।

चुनाव चिन्ह के हो र पार्टीको नाम के हो ? उनी अब मात्रै उम्मेदवारलाई सोधेर थाहा पाउने छिन् । तर खुसीको कुरा उनलाई यो लोकतन्त्रले गुन तिर्ने अवसर जुराइदिएको छ । उनले भोट हालेर त्यो पूरा गरेकी छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?