+
+

चुनाव जितेपछि जनप्रतिनिधिलाई टर्च लाइट बालेर खोज्न नपरोस् : रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १८:५१

स्थानिय तहको निर्वाचन सही जनप्रतिनिधि छनौट गर्ने एउटा अवसर हो । यद्यपि हामीले सही र गलत छुट्याउन सक्नुपर्छ । किनभने निर्वाचनको बेला मात्रै गाउँघरको ढोकामा पुग्ने, हामीलाई भोट देउ भन्ने, अनेक प्रलोभन देखाउने, जितिसकेपछि नाकमुखै नदेखाउने, भ्रष्टचार गर्ने, जनताको काम नगर्ने गुनासो धेरै सुनिन्छ । चुनाव अघिसम्म जनताकहाँ धाउने नेतालाई चुनाव जितिसकेपछि टर्च लाइट बालेर खोज्नुपर्ने स्थिती आउनेगर्छ । यसपाली चाहिँ यस्तो प्रवृत्ति नदोहोरियोस् ।

हामीले मतदान गरेका, हामीले छनौट गरेका, हामीले जिताएका जनप्रतिनिधि निर्वाचनअघि जस्तै घर–दैलोमा आउन् । के कस्तो अवस्था छ  ? सोधीखोजी गरोस् । साथ र सहयोगका लागि तत्पर होस् । नेताको काम त्यही त हो नि । नेता भनेको जनताको सेवक हो । तर, नेताले आफ्ना जनतालाई सेवक बनाउनु भएन ।

भोट हाल्ने अघिल्लो दिनसम्म जनता मालिक हुन्छन् । बिडम्बना के भने, जनतालाई मात्र एक दिनको लागि मालिक बनाइन्छ । त्यसपछिका दिनमा भने नेताहरु सेवक होइन मालिक हुन्छन् । यस्तै कुराहरु भोगेर हुर्किएका हौं हामी । तर, अब यस्तो नहोस् ।

अक्सर निर्वाचनमा पैसाको चलखेल हुन्छ । जनताको मन जित्ने भन्दा पनि पैसाले भोट किन्ने प्रवृत्ति व्यापक हुन्छ । पैसाकै बलमा मतदान गराइन्छ । यसैको नतिजा हो, आजको भ्रष्ट राजनीति ।

हिजोको दिनमा जनताले जे चाहेका थिए, त्यो भएन । वडा, गाउँपालिका, नगरपालिका, महानगरमा अपेक्षाकृत विकास भएन । सर्वसाधरणले सेवा सुविधा उपभोग गर्न पाएनन् । आफ्नो प्रतिनिधि छान्ने व्यवस्था परिवर्तन भयो, तर जनताको अवस्था परिवर्तन भएन । उनीहरु हिजो जस्तो थिए, आज पनि उस्तै छ । त्यसैले अब व्यापक सुधारको खाँचो छ । सुधारका लागि योग्य, इमानदार जनप्रतिनिधि जरुरी हुन्छ । र, यसका लागि जरुरी हुन्छ हाम्रो विवेक । हाम्रो विवेकले कसैको दवाव, प्रभाव, प्रलोभनमा नपरी सही जनप्रतिनिधि छनौट गर्नुपर्छ ।

हामीलाई नेताले पटक पटक धोका दिएका छन् । त्यसैले अब यस्ता नेताहरुलाई तह लगाउने बेला भएको छ । हरेक कार्यकर्ताले आफ्नो नेतालाई तह लगाउने हो भने उनीहरुको मत पेटिका खाली गरिदिनुपर्छ । तब, नेताहरु सुध्रन्छन् ।

यो निर्वाचन एउटा राम्रो अवसर हो, उत्सव हो । पाँच–पाँच बर्षमा आउने पर्व हो । त्यसैले यतिबेला हामी सचेत हुन जरुरी छ, कसलाई जनप्रतिनिधि बनाउने भनेर । फलानोलाई दिउँ न जे सुकै होस् भनेर हेलचेक्राइ नगरौं । यस्तो गल्ती गरिएमा आगमी पाँच बर्षसम्म हामी अन्धकारमा बस्नुपर्ने हुन्छ । हाम्रो बालबच्चाको भविष्य अन्धकार हुनेछ । गलत प्रतिनिधि छनौट गरियो भने अन्तत दुःख पाउने हामीले नै हो । त्यसैले सही मानिस, सहि ढंगले छनौट गरौं । भोलिको दिनमा फलानो नेता यस्तो, उस्तो भनेर गुनासो गरिरहनुपर्दैन । यो मेरो पार्टी, त्यो उसको पार्टी, यो मेरो हजुरबाको पार्टी भन्नुभन्दा पनि राम्रो व्यक्ति छनौट गरौं । हरेक पार्टीमा कोही न कोही राम्रा मान्छेहरु छन् ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?