+
+

चुनावमा विप्लव : रोल्पामा देखिएन प्रभाव

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ २ गते १३:३७

२ जेठ, रोल्पा । पार्टी फुटको चुनौती मोलेर स्थानीय तह निर्वाचनमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले रोल्पामा कुनै पनि वडा जित्न सकेका छैनन् ।

विप्लवको गृहजिल्ला रोल्पामा उसले कतै एकल र कतै कांग्रेस-एमालेसँग तालमेल गरेको थियो । १० स्थानीय तह र ७२ वडा रहेको रोल्पामा हालसम्म दुई स्थानीय तह र ५० बढी वडाहरुको अन्तिम मत परिणाम आइसक्दा विप्लव निकट उमेदवारले चार वडा सदस्यमा चित्त बुझाउनु परेको छ ।

पार्टीका केन्द्रीय सदस्य चुडामणि वली, पूर्व जिल्ला सेक्रेटरी पुष्टमन घर्ती, पूर्व जिल्ला ईन्चार्जहरु सन्तोष सुवेदी र कमल थापा चुनावमा होमिएका थिए । केन्द्रीय सदस्य वली गंगादेव गाउँपालिका अध्यक्षमा, पूर्व जिल्ला सेक्रेटरी पुष्टमन सुनछहरी गाउँपालिका अध्यक्षमा, पूर्व जिल्ला ईन्चार्ज कमल थापा सुनिलस्मृति गाउँपालिका र अर्का जिल्ला ईन्चार्ज सन्तोष सुवेदी सुनिलस्मृति गाउँपालिका-६ को वडाध्यक्षमा उम्मेदवार बनेका थिए ।

थबाङ गाउँपालिकामा कांग्रेस-एमालेसँग गठबन्धन गरेर स्वतन्त्र उम्मेदवारी दिएका दर्जित रोकामगरले गाउँपालिका अध्यक्षमा १ हजार ५०६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढा २ हजार १२२ मत प्राप्त गरी विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा रायबहादुर पुनमगरले १ हजार ४६८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका शर्मिला बुढामगरले २ हजार १२२ मत प्राप्त गरी विजयी भएकी थिइन् ।

वडाध्यक्षमा थबाङ गाउँपालिका-१ मा फर्के झाँक्रीले ३३६ मत प्राप्त गर्दा माओवादी केन्द्रका हिराप्रसाद बुढामगरले ३५८ मत प्राप्त गरी विजय भएका थिए । यस वडामा दोस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार २२ मतान्तरले पराजित भएका थिए ।

थबाङ गाउँपालिका-२ मा स्वतन्त्र उम्मेदवार तीर्थनारायण मिजारले ३६६ मत प्राप्त गर्दा  माओवादी केन्द्रका अभिलाष रोकामगर ४२१ मत प्राप्त गरी विजयी भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार ५५ मतान्तरले पराजित भएका थिए ।

गंगादेव गाउँपालिका-३ मा स्वतन्त्र उमेदवार लालबहादुर वलीले ३८६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए । सो वडामा नेकपा माओवादी केन्द्रका लोकमान वलीले ४१९ मत प्राप्त गरी विजयी भए । उक्त वडामा ३३ मतान्तर रहेको थियो । उक्त वडामा महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य २ जना गरी ४ स्थानमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले १ हजार ५७३ मत प्राप्त गरी चौथो स्थानमा खुम्चिए । सो गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनले २ हजार ५४८ मतका साथ विजयी हँुदा नेकपा एमालेका रोशनकुमार वलीले २ हजार ४९९  मत र नेकपा माओवादी केन्द्रका वीरबहादुर खत्रीले २ हजार १५४ मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको थियो । सो गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षको उम्मेदवार बनेकी सुशीला वलीले ८५५ मत प्राप्त गरेकी थिइन् ।

परिवर्तन गाउँपालिका-४ मा स्वतन्त्र उम्मेदवार चित्रबहादुर बुढाले १६१ मत प्राप्त गरी चौथो स्थान हासिल गरे । यस वडामा नेकपा माओवादी केन्द्रका मानसिंह बुढाले ३७१ मत प्राप्त गरी विजयी भए । सोही गाउँपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार पृथ्वी डाँगीले २३३ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरे । नेपाली कांग्रेसका खिमविक्रम चन्दले ४४२ मत प्राप्त गरे ।

सुनिलस्मृति गाउँपालिका-२ मा स्वतन्त्र उम्मेदवार रहेका वेगमध्वज थापाले १०७ मत ल्याई चौथो स्थान हासिल गरेका थिए । सो वडामा कांग्रेसबाट बागी उम्मेदवारी दिएका नेत्रबहादुर गिरी ४४५ मतका साथ विजयी भए । नेपाली कांग्रेसका रोशन गिरीले ३१७ मत, नेकपा एमालेका गिरीराज गिरीले ७१ मत र माओवादी केन्द्रका शान्तराज शाहले ३८२ मत प्राप्त गरे ।

सोही गाउँपालिका-६ मा विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला ईन्चार्ज सन्तोष सुवेदीले वडाध्यक्षमा उमेदवारी दिएका थिए । सुवेदीले २५४ मतका साथ तेस्रो स्थान हासिल गर्दा नेकपा माओवादी केन्द्रका लोकेन्द्र थापाले ६२३ मत प्राप्त गरे । दोस्रो स्थान हासिल गरेका नेपाली कांग्रेसका हिराबहादुर थापाले ३३२ मत प्राप्त गरेका थिए ।

एमाले कांग्रेस स्वतन्त्र गठबन्धनको तर्फबाट सुनछहरी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका पुष्टमन घर्तीमगरको मतगणना भइरहे पनि मत उत्साहजनक देखिंदैन । सुनछहरी गाउँपालिका-६ मा वडाध्यक्षमा स्वतन्त्र उमेदवार रहेका हेमलाल पुनको भने मत गणना भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?