+
+

भरतपुरमा गठबन्धन–एमालेको प्रतिस्पर्धामा भुईंकटहरको इन्ट्री

सुवास पण्डित सुवास पण्डित
२०७९ जेठ २ गते १३:४६

२ जेठ, चितवन । भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रको मतगणना सकिंदा मेयर पदको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ ।

एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी र सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल बीचको तीव्र प्रतिस्पर्धामा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको दरिलो ‘इन्ट्री’ सुरु भएको छ ।

वडा नं. १ र २ मा ११ प्रतिशत मत पाएका पौडेलले वडा नं. ३ को गणनामा सकिन लाग्दा मतप्रतिशत बढाएर २० पुर्‍याएका छन् । यसले सत्ता गठबन्धनमा चिन्ता थपिदिएको छ ।

वडा नं. १ कांग्रेस र माओवादीको प्रभाव क्षेत्र हो । यहाँ एमालेका सुवेदीले १०८७ मत पाए । रेनुले १२०८ मत पाइन् । जगन्नाथले ४३० मत पाए । वडा नं. १ बाट १२१ मतको घाटा बोकेर वडा नं. २ मा प्रवेश गरेका विजय वडा नं. ३ मा पुग्दा जम्मा ३ मतले मात्रै पछाडि थिए ।

यस्तै वडा नं. २ मा विजयले १८२८ मत पाउँदा रेनुले १७१० मत पाइन् । कांग्रेसका बागी जगन्नाथले वडा नं. २ मा ४९४ मत थपेर ९२४ मतमा पुगे । वडा नं. ३ मा उनले अपेक्षा गरेभन्दा बढी ६४८ मत पाएका छन् । नारायणगढ बजारको पुल्चोक, लायन्सचोक पूर्वपश्चिम राजमार्गभन्दा तल्लो भाग वडा नं. ३ मा पर्दछ ।

वडा नं. ३ को मतगणना सकिँदा एमालेका विजय सुवेदीले ५० मतको अग्रतासहित ३ हजार ९४४ मत ल्याएका छन् । रेनु दाहालले ३ हजार ८९४ मत पाइन् । जगन्नाथले १ हजार ५७२ मत पु¥याएका छन् । जगन्नाथले वडा नं. ३ मा मत बढाएपछि बागी उम्मेदवार पक्षहरु खुुसी देखिएका छन् । कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा यही वडाका बासिन्दा हुन् । कांग्रेस चितवनको तीन पटकसम्म पार्टी सभापति भएका सापकोटा मेयरका बागी जगन्नाथका प्रस्तावक हुन् ।

एमाले र माओवादीलाई टाउको दुखाइ

कांग्रेसको दरिलो किल्ला मानिने वडा नम्बर ३ बाट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत पाएका थिए । तर, यसपटक विजय सुवेदीले निकै कम मतको अग्रता लिए । अघिल्लोपटक एमालेका मेयर उम्मेदवारलाई आएको मत भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका जगन्नाथ पौडेललाई गएको छ ।

२०७४ मा वडा नं. १, २ र ३ गरेर देवी ज्ञवालीले झण्डै १३०० मतको अग्रता रेनु माथि कायम गरेका थिए । तर, वडा नं. ३ को यसपटकको गणना सकिदा उनीहरु बीचको अन्तर खासै छैन । मतान्तर कम हुनु एमालेका लागि टाउको दुःखाइको विषय बनेको एमालेका नेताहरु बताउँछन् ।

वडा नं. २ र ३ बाट जुन अनुपातको अग्रताको अपेक्षा एमालेले गरेको थियो सो अनुरुप भएन । एमालेका वडा अध्यक्षहरुले पाएको मत मेयरका उम्मेदवार विजय सुवेदीलाई गएको पाइएको छैन ।

माओवादीका लागि जगन्नाथको प्रभाव बढी देखिदै जानु अर्को चिन्ताको विषय छ । २०७४ मा एमालेका देवी ज्ञवालीले लिएको अग्रताभन्दा बढी मत जगन्नाथले पाएका छन् । जगन्नाथको प्रभाव अब अझै बढेर जाने अनुमान छ ।

भरतपुरमा उक्लिदै प्रतिस्पर्धा

नारायणगढको बजार क्षेत्रमा अहिलेसम्म चलेको प्रतिस्पर्धा अब भरतपुरतिर उक्लिनेछ । वडा नं. ४ कांग्रेसको प्रभाव क्षेत्र हो । अघिल्लो चुनावमा वडाध्यक्षमा एमालेका हरि आचार्यले झिनो मतान्तरले वडाध्यक्ष जितेका थिए । तर, यसपटक वडा नं. ४ कांग्रेसको भागमा परेको छ । वडामा कांग्रेस आफैं पनि बलियो छ ।

वडा नं. ४ कांग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलकै समर्थक मिना खरेलको वडा हो । उनलाई कांग्रेसले जगन्नाथको समर्थक बसेको भनेर कारवाही गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील मिनाको प्रभाव वडा नं. ४ मा बढी छ । त्यसैले सत्ता गठबन्धनका लागि वडा नं. ४ पनि त्यति सन्तोषजनक नतिजा नआउने अनुमान छ । जगन्नाथले जति बढी कांग्रेसको मत काट्छन् उति नै एमालेका लागि सहज हुनेछ । त्यसकारण, एमाले र सत्ता गठबन्धनको जित कांग्रेसबाट काटिने मत र कांग्रेसबाट पाउने मतमा निर्भर रहनेछ ।

भरतपुर महानगरपालिकाका वडा नं. ५, ६, ७ र ८ कांग्रेसको बाहुल्य भएका वडाहरु हुन् । अघिल्लो चुनावमा एमालेले वडा नं. ५ र ७ मा थोरै मतले जितेको थियो । वडा नंं ७ सत्ता गठबन्धनका तर्फबाट समाजवादीले पाएको छ ।

वडा नं. ६ मा अघिल्लो पटक रेनु दाहालले अधिक मत पाएर देवीसँगको मतान्तर घटाएकी थिइन् । यसपटक पनि बढी मत पाउने आशा उनको छ । तर, यहाँबाट यसपटक धेरै भोट जगन्नाथ पौडेललाई पर्ने अनुमान छ । किनकि वडा नं. ७ कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको वडा हो ।

वडा नं. १४, १५ र १७ मा समेत जगन्नाथको प्रभाव छ । वडा नं. १८, १९, २०, २१ र २६ पनि कांग्रेसको प्रभाव भएका वडा हुन् । वडा नं. ९, १०, ११ र १२ एमालेको प्रभाव क्षेत्र मानिन्छन् । वडा नं. १३ माओवादी केन्द्रको प्रभाव भएको वडा हो । २०७४ को चुनावमा वडा नम्बर १३ मा माओवादी केन्द्रले क्लिन स्वीप गरेको थियो ।

वडा नं. २२, २३, २४ र २५ मा सत्ता गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा छ । वडा नं. २३, २४, २५, २७ र २८ मा राप्रपाको समेत प्रभाव छ । राप्रपाले एमालेलाई मत दिएको खण्डमा रेनुका लागि असहज हुन सक्ने विश्लेषण गरिएको छ ।

कांग्रेसको गढमा एमाले वडाध्यक्ष विजयी

अघिल्लो पटकको निर्वाचनमा कांग्रेसले जितेको वडा नं. ३ यसपटक एमालेले जितेको छ । एमालेका विकास थापाले ६१७ मतले पराजित गर्दै जित निकाले । थापाले १६६६ मत पाउँदा पाँच दलिय गठबन्धनका वडाध्यक्ष उम्मेदवार भरत लामिछानेले १०४९ मत पाए ।

यो जितमा कांग्रेसकै हात छ । उपमेयरलाई मत दिएका कांग्रेसका मतदाताले वडाध्यक्षमा एमालेका थापालाई मत दिएर जिताइदिए । कांग्रेस भित्र वडाध्यक्ष उम्मेदवार बनाउने विषयमा विवाद थियो । वडा कमिटीले वडा सभापति तारामित्र पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरे पनि क्षेत्रीय सभापति रहेका भरत लामिछाने आफैं वडाध्यक्ष बन्न तम्सिए । दुबैले उम्मेदवारी दर्ता गराए । कांग्रेस केन्द्रले सुरुमा कमलको फूल चुनाव चिह्न पाएका पण्डिलाई आधिकारिक उम्मेदवार बनायो तर पछि फेरि लामिछानेलाई नै आधिकारिक उम्मेदवार भएको पत्र थमायो ।

निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठको उपस्थिपतिमा पण्डितले लामिछानेलाई समर्थन गरेको बताए । तर, नतिजा फरक आयो ।

वडा नं. १ र २ : एमालेले वडाध्यक्ष गुमायो तर बहुमत वडासदस्य जित्यो

भरतपुर महानगरपालिका वडा नं. १ र २ मा कांग्रेसका उम्मेदवारहरु विजयी भए तर वडामा भने एमालेले बहुमत वडा सदस्य जितेको छ ।

वडा नं. १ मा कांग्रेसका केशव महर्जन १३९७ मतसहित विजयी हुँदा एमालेका शुक्र श्रेष्ठले १३१३ मत पाए । बाँकी ३ वडा सदस्य भने एमालेले जित्यो । अघिल्लो चुनावमा कांग्रेसले एक्लै जितेको यो वडामा यसपटक पाँच दलीय गठबन्धनलाई जित्न निकै गाह्रो देखियो ।

यस्तै, वडा नं. २ मा अघिल्लोपटक एमालेले जितेको थियो तर यसपटक गठबन्धनका उम्मेदवार मनोज रानाभाटले जिते । रानाभाटले वडाध्यक्षमा २०९९ मत पाउँदा एमालेका कृष्ण केसीले २०६५ मत पाए । बाँकी ४ जना वडा सदस्य भने एमालेले जितेको छ ।

अघिल्लो चुनावमा एमालेका पूर्णबहादुर श्रेष्ठले १९२६ मत ल्याउँदा कांग्रेसले १३५४ र माओवादीले ७७० मत पाएका थिए । उनीहरुको मत जोड्दा गठबन्धनका उम्मेदवारले सहज जित निकाल्नुपर्ने भए पनि त्यस्तो भएन । प्रतिस्पर्धा बढी भयो ।

 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?