+
+

कांग्रेस र माओवादीको विवादले थाहा-७ मा पुनः मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:४१

२ जेठ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–७ को वडाध्यक्ष पदको पुन मतगणना हुने भएको छ । मतगणना सकिनै लाग्दा कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले फरक/फरक मत आएको दाबी गरेपछि विवाद भएको थियो ।

थाहाका निर्वाचन अधिकृत तीर्थराज भट्टराईले दलका प्रतिनिधिहरुले फरक-फरक मत दाबी गरेपछि विवाद भएको अनलाइनखबरलाई जानकारी दिए । विवाद भएपछि वडाअध्यक्षकै उम्मेदवारले पुनः मतगणनाक लागि निवेदन नै दिएपछि पुनः मतगणना गर्ने निर्णय गरिएको भट्टराईले बताए ।

थाहा–७ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट शिवराज थिङ, माओवादी केन्द्रबाट बिनायक गोले र नेकपा एमालेबाट शम्भु खत्री उम्मेदवार छन् । मतगणनामा एमालेका उम्मेदवार खत्री तेस्रो स्थानमा थिए ।

स्थानीय नेताहरुका अनुसार मतगणना सकिएपछि माओवादी केन्द्रका प्रतिनिधिहरु १० मतले जितियो भन्दै बाहिरिएका थिए । तर, कांग्रेसका प्रतिनिधिहरुले कांग्रेसको मत बढी रहेको दाबी गरेपछि विवाद भएको थियो ।

निर्वाचन अधिकृत भट्टराईले पनि १० मतमा विवाद भएको जानकारी दिए । ‘विवाद बढ्दै गएपछि वडा अध्यक्षका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दिनुभयो । निवेदन कानुन सम्मत नै आएकाले पुनः मतगणना गर्ने निर्णय गरिएको हो’ भट्टराईले भने ।

निर्वाचन अधिकृत भट्टराईका अनुसार चार जना वडा सदस्यको परिणाम भने घोषणा गरिएको छ । चारै जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

वडा नम्बर ७ मा २३६५ मत खसेको थियो । ९३५ मत ल्याएर हरिमाया बुलुन महिला सदस्यमा, ९१० मत ल्याएर हरिमाया विश्वकर्मा दलित महिला सदस्यमा, ८८६ मत ल्याएर बलबहादुर गोङ्बा र ८६० मत ल्याएर देवेन्द्र थापा मगर खुला सदस्यमा निर्वाचित भएका छन् ।

यसअघि नै मतगणना भइसकेको वडा नम्बर १ को वडा अध्यक्षमा माओवादी केन्द्रबाट हेरमान गोपाली निर्वाचित भएका छन् । वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रबाटै बमबहादुर सिङ्तान विजयी भएका छन् ।

वडा नम्बर ३ को वडा अध्यक्षमा माओवादी केन्द्रका हिरेन्द्रकुमार रायमाझी निर्वाचित भएका छन् । वडा नम्बर ४ को वडा अध्यक्षमा पनि माओवादी केन्द्रकै नारायण लामा निर्वाचित भएका छन् ।

वडा नम्बर ५ को वडाअध्यक्षमा एमालेका विष्णुबहादुर गुरुङ र वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता

थाहा नगरपालिकाको मेयर र उपमेयर दुबैमा सत्ता गठबन्धनका साझा उम्मेदवारले अग्रता लिइरहेका छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मेयरका उम्मेदवार विष्णु विष्टले ६ हजार २७० मत ल्याउँदा नेकपा एमालेका मेयरका उम्मेदवार अचुतमप्रसाद ढकालले ४ हजार ५१२ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भरत गोपालीले ५ हजार ६६८ मत ल्याउँदा एमालेका उपमेयर उम्मेदवार कल्पना बलामीले ५ हजार १०८ मत ल्याएकी छन् । थाहा नगरको १२ वटा वडामध्ये ६ वटा वडाको मतपरिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?