+
+

रोल्पाको परिवर्तन गाउँपालिकाको उपाध्यक्षमा ‘परिवर्तन’की श्रीमती विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:०१

२ जेठ, रोल्पा । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित भएसँगै रोल्पाका स्थानीय तहले साविकको नाम फेर्ने होडबाजी गरे । १० स्थानीय तह रहेको रोल्पामा तीमध्ये तीन पालिकाले नाम फेरे ।

सुनिलस्मृति गाउँपालिका, गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिका साविकका क्रमशः सुवर्णावती गाउँपालिका, सुकीदह गाउँपालिका र दुईखोली गाउँपालिकाका परिवर्तित नाम हुन् ।

माओवादी द्वन्द्वमा मारिएका व्यक्तिहरुको नाममा स्थानीय तहको नामकरण गर्ने नेकपा माओवादी केन्द्रको चुनावी प्रतिबद्धता थियो । दशवर्षे सशस्त्र युद्धमा मारिएका शहीदको सम्मान गर्न भन्दै ती स्थानीय तहको नाम फेरिएका थिए ।

युद्धमा मारिएका माओवादी नेता किमबहादुर थापाको स्मरणमा सुवर्णावती गाउँपालिका सुनिलस्मृति भयो । किमबहादुर माओवादी सेनाका डिभिजन कमाण्डर थिए । उनलाई १४ मंसिर २०६२ मा सेनाले हेलिकप्टरबाट गोली हानी हत्या गरेको थियो ।

किमबहादुरकी श्रीमती वागमती क्षेत्रिनी २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सुनिलस्मृति गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीले द्वन्द्वमा मारिएकी आफ्नै श्रीमती गंगा खत्री र अर्का मृतक देवबहादुर वलीको स्मरणमा गंगादेव गाउँपालिका राखेका थिए ।

नेपबहादुर केसी ‘परिवर्तन’को स्मरणमा दुईखोली गाउँपालिकालाई परिवर्तन गाउँपालिका बनाइएको थियो । नेपबहादुर तत्काली माओवादीका केन्द्रीय सदस्य तथा मंगलसेन प्रथम ब्रिगेडका कमाण्डर थिए । ३१ वैशाख २०६१ मा आन्तरिक दुर्घटनामा उनको मृत्यु भएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वमा मारिएका तिनै नेपबहादुर केसीकी श्रीमती कलादेवी खत्रिनी यसपटकको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेकी उनले तीन हजार ३८७ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी सपना बुढामगरले दुई हजार ३०८ मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिकामा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको थियो । यसपटक भने दुईवटा वडामा नेपाली कांग्रेसले वडाध्यक्ष सहित सबै पदमा जित हात पार्दा माओवादी केन्द्र ५ वटामा खुम्चिएको छ । यहाँ सँगै सशस्त्र युद्ध लडेको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीदेखि कांग्रेस, एमाले र नेकपा एकीकृत समाजवादीले माओवादीविरुद्ध गठबन्धन गरेका थिए ।

परिवर्तन गाउँपालिका उपराष्ट्रपति नन्दबहादुर पुनको गृहपालिका हो । यसका साथै विप्लव, पूर्वसभामुख जयपुरी घर्तीमगर पनि परिवर्तन गाउँपालिकाका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?