+
+

आइतबारको बिदा : केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले लागु नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:०७

३ जेठ, काठमाडौं । मन्त्रिपरिष्दको निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन बिदा दिन निर्देशन दिइसकेको छ ।

तर केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले भने तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाएका छन् । बुढानीलकण्ठ नगरपालिकाले वैशाख २९ गते र भक्तपुर नगरपालिकाले गत आइतबार सूचना जारी गर्दै आइतबार बिदा नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ । बुढानीलकण्ठ नगरपालिकाले एक महिना ढिला नयाँ शैक्षिक सत्र शुरु भएकाले अर्को सूचना जारी नभएसम्म बिदा नदिन भनेको छ ।

भक्तपुर नगरपालिकाले भने कुनै समस्या उल्लेख नगरी नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पालिकामा जनप्रतिनिधि नहुँदा निर्णय गर्न नसकिएकाले साबिककै अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकोले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड बडी आउन बित्तिकै निर्णय हुन्छ ।’

यस्तै त्रिभुवन विश्वविद्यालयले पनि हप्ताको दुई दिन बिदा कार्यान्वयन नगर्ने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले गत आइतबार सूचना जारी गर्दै ‘कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाको तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय पाठ्यक्रमको संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा आइतबार बिदा दिन नसक्ने जनाएको छ ।

‘विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएककाले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवा सञ्चालनमा रहनेछ’ सूचनामा भनिएको छ ।

शिक्षा मन्त्रालयले वैशाख २८ गते सम्बन्धित सबैलाई पत्राचार गर्दै हप्तामा दुई दिन बिदा दिन र पाठ्यघण्टा मिलाउन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्न निर्देशन दिएको थियो । मन्त्रालयले हप्ताको ६ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने र हिउँदे तथा वर्षे बिदा कटौती गरी पाठ्यभार मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरेको हो ।

मन्त्रालयका अनुसार विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?