+
+

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ४ गते ०:०८

३ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् ।

अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार ५६० मत ल्याउँदा रामप्रितले तीन हजार २९९ मत पाएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिए । ०७४ सालको निर्वाचनमा रामप्रित दुई ९५९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा निर्वाचित रेखाले पनि निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई पराजित गरेकी हुन् । रेखाले उषाले भन्दा एक हजार ७४५ मत बढी ल्याएकी छन् । उषाले चार हजार ७१० मत पाउँदा रेखाले दुई हजार ९६५ मत मात्रै पाएकी छन् । जिराभवानी गाउँपालिकामा ११ हजार ४९५ मत खसेको थियो ।

को हुन अनोज ?

३२ वर्षीय अनोजको व्यक्तिगत रुपमा राजनीतिक योगदान छैन । तर परिवारमा राजनीतिक विरासत छ । उनी काँग्रेस नेता एवं पर्सा क्षेत्र नं ४ (क) का प्रदेश सभा सदस्य शंकर चौधरीका भतिज हुन् । बुवा स्वर्गिय महादेव महतो थारु ०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट तत्कालिन सेढवा गाविसका अध्यक्ष थिए । भने ०७४ सालमा गाउँपालिका अध्यक्षमा रामप्रितसँग पराजित भएका थिए । दोस्रो स्थानमा आएका महादेवले दुई हजार २८७ मत ल्याएका थिए । २०७७ चैतमा उनको मृत्यु भएको थियो ।

बैंगलोरबाट एमफर्मा गरेका अनोजले नेशनल हेल्थ केयर औषधी उद्योगको जागिर छोडेर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् । प्रदेश सभा सदस्य चौधरीका अनुसार ५ वटै वडाबाट स्थानीयले उम्मेदवार बन्न आग्रह गरेपछि अनोज जागिर छोडेर आएका थिए । ‘सानैदेखि कहिले काठमाण्डु त कहिले बैंगलोरतिर पढेको हो’ उनले भने, ‘एम फर्मा गरेर नेशनल हेल्थ केयरमा ८ वर्षदेखि जागिर खाँदै थिए,  पाँचवटै वडाका जनताले राजनीतिमा आउन भनेपछि गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए, जनताले साथ पनि दिए ।’

३ वटा वडामा कांग्रेस, २ वटामा एमाले विजयी

०७४ सालको निर्वाचनमा जिराभवानीको पाँच वटा वडामध्ये २ वटा एमालेले, कांग्रेस, राप्रपा र तत्कालिन संघीय समाजवादी फोरमले १/१ वटा वडा जितेका थिए । यसपटक नेपाली कांग्रेसले ३ र एमालेले २ वटा वडा जितेको छ ।

गत निर्वाचनमा कांग्रेसले जितेको वडा नं १ मा एमालेका रामशरण खवास थारु (१२८८), वडा नं २ मा पूनः एमालेका महादेव महतो थारु (८७७), फोरमले जितेको वडा नं ३ मा काँग्रेसका सुरुज राय थारु (९६४), एमालेले जितेको वडा नं ४ मा कांग्रेसका राजेश्वर दास थारु (७४२ र राप्रपाले जितेको वडा नं ५ मा काँग्रेसकै दारा सिंह राउत (थारु) (६१०) मत ल्याएर विजयी भएका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?