+
+

जगरनाथपुरको रोकिएको मत गणना सुरु गर्न आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:०१

४ जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगका उपसचिव ऋषिराम भुसालले निर्वाचन अधिकृतको कार्यालय जगरनाथपुर गाउँपालिकालाई मत गणना सुचारु गर्न निर्देशन दिएको हो ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र बदर गरी मतगणना कार्य सुचारु गर्न आयोगले निर्देशन दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए । त्यसैगरी अयोगले मतपत्रमा हस्ताक्षर नगरी मतपत्र वितरण गर्ने सम्बन्धित मतदान अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न भनेको छ ।

मतगणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई समेत आयोगले निर्देशन दिएको छ । आयोगको पत्र पाएसँगै निर्वाचन अधिकृतले मत गणना सुरु गराउने तयारी थालेका छन् ।

किन स्थगित भएको थियो मतगणना ?

जगरनाथपुरको वडा नम्बर ३ मा मत गणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र समेत खसेको पाइएपछि मंगलबार नेपाली कांग्रेस बाहेकका दलले विरोध जनाएका थिए । उनीहरुले मत गणना कार्य रोकेर पुनः चुनाव गराउनुपर्ने माग राखेर निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त निवेदन दर्ता गराएका थिए ।

कांग्रेस बाहेक जनता समाजवादी पार्टी, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि, अध्यक्ष र वडाध्यक्षका उम्मेदवारले पनि निवेदनमा हस्ताक्षर गरेका छन् । निवेदन बुझेपछि निर्वाचन अधिकृत शर्माले मत गणना स्थगित गरेर आयोगलाई पत्राचार गरेका थिए ।

जगरनाथपुरमा वडा नम्बर १ र २ को मत गणना सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ को पनि १ हजार १६८ मत गनिसकेपछि गणना स्थगित गरिएको थियो । वडा नम्बर १, २ को पूरै र वडा नम्बर ३ को आंशिक मत गणना हुँदा अध्यक्षमा कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार बराबरीमा छन् भने एमाले उम्मेदवारले उनीहरुलाई पछ्याइरहेको छ ।

जनता समाजवादी पार्टीका कृष्णमोहन प्रसाद यादव र कांग्रेसका श्रीकान्त यादवले समान १८१३ मत पाउँदा महमद सलिम मन्सुर १ हजार २२३ मत मात्रै पाएका छन् । वडा नम्बर १ मा कांग्रेसका लक्ष्मी साह तेली र वडा नम्बर २ मा कांग्रेसकै नेपालीप्रसाद कुशवाहा विजयी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?