+
+

सिन्धुपाल्चोक : एमाले खुम्चिंदा कांग्रेस र माओवादीले ‘जनमत’ बढाए

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ४ गते १७:२४

४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जित बढाएका छन् ।

सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये ९ वटा पालिका/नगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, तीन पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र एक पालिका प्रमुख जितेर एमाले तेस्रो दलका रुपमा रहेको छ । बाँकी ३ वटा पालिकाको परिणाम आउँदा पनि अहिलेसम्मको दलीय समिकरण नफेरिने स्थानीय नेताहरु बताउँछन् । परिणामले एमालेले आफुलाई ०७४ सालको तुलनामा खुम्च्याएको, कांग्रेस र माओवादी केन्द्रले जनमत बढाएको देखाउँछ ।

एमालेले गुमायो ६ पालिका प्रमुख

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये ७ पालिका प्रमुख जितेको थियो । एमालेले बाह्रविसे र मेलम्ची नगरपालिका र जुगल, बलेफी, पाँच पोखरी थाङपाल, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिको प्रमुख जितेर पहिलो स्थान हासिल गरेको थियो ।

०७९ को चुनावको परिणाम आउँदै गर्दा एमाले यी सात मध्ये ६ पालिका प्रमुख गुमाउन पुगेको छ । पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुखमा भने एमालेका उम्मेदवार जारी मतगणनामा अगाडि छन् । यो पटक एमालेले इन्द्रावती गाउँपालिका प्रमुख जितेको छ । ०७४ सालमा यो पालिका प्रमुख कांग्रेसले जितेको थियो । यो पटक एमालेले जितेको हो ।

इन्द्रवती गाउँपालिकामा ०७४ मा अध्यक्षमा पराजित एमालेका झम्क नेपाल यसपटक विजयी भएका हुन् । सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपाल कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले ६५१३ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी कांग्रेसका लामाले ६४७० मत ल्याए । उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६४७० मत ल्याएकी छन् ।

पाँच पोखरी थाङपाल गाउँपालिकाका प्रमुख जितेको खण्डमा एमाले दुई पालिका प्रमुखमा खुम्चनेछ ।

कांग्रेस र माओवादीलाई दोब्बर प्रतिफल

एमाले खुम्चिँदा कांग्रेस र माओवादी केन्द्रले दोब्बरले प्रतिफल पाएका छन् ।

२०७४ मा कांग्रेसले तीन पालिका प्रमुख -हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका) जितेको थियो । तीनमध्ये हेलम्बु गाउँपालिका प्रमुख कांग्रेसले जितिसकेको छ । सुनकोशी गाउँपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका हुन् । निवर्तमान अध्यक्ष शेर्पा ५३८६ मत ल्याएर विजयी हुदाँ अध्यक्षका प्रत्यासी एमालेका उम्मेदवार दावा लामाले ४६०३ मत ल्याए ।

कांग्रेसकै अप्सरा लामिछाने उपाध्यक्षमा ५२१४ मत ल्याएर विजयी भईन । उपाध्यक्षका प्रत्यासी एमालेबाट गंगा अर्याल ४ हजार ६ सय ७१ मत ल्याइन् ।

०७४ मा जितेको एउटा पालिका गुमाएको कांग्रेसले अहिले थप पालिकाहरुमा जीत हात पारेको छ । कांग्रेसले मेलम्ची र बाह्रविसे नगरपालिका जितिसकेको छ ।

मेलम्ची नगरपालिकाको प्रमुखमा ११ हजार १६५ मत पाएका एमालेका बालकृष्ण देउजालाई पराजित गरेका कांग्रेसका आइतमान तामाङले ११ हजार २५८ मत पाए । उपमेयरमा भने एमालेका उमा प्रधान बिजयी भएकी छन् । प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८३५६ मत ल्याए ।

बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर एमालेका नेता निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी भए । ०७४ मा एमालेका उम्मेदवार शेर्पासँग पराजित बालकृष्णले यस उनै शेर्पालाई पराजित गरेका हुन् । शेर्पाले ५४३३ मत ल्याँउदा बालकृष्ण बस्नेतले ७७२८ मत ल्याएर विजयी भए ।

उपमेयर पदमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख शुशीला पाख्रीन पराजित भइन् । पाखि्रनले ५ हजार ९ सय ९० मत ल्याँउदा कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार ९ सय ७७ मत ल्याएर बिजयी हासिल गरिन् ।

भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख कांग्रेसले जितेको छ ।

भोटेकोसी गाँउपालिकामा कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्ष पदमा २६०५ मत ल्याए भने उनका प्रत्यासी एमालेका अध्यक्ष अमृत खड्काले २०४८ मत पाए ।

उपाध्यक्ष पदमा कांग्रेसका दिछेन शेर्पाेले २७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलिमाया लामा श्रेष्ठले २ हजार ५ सय ५३ मत ल्याइन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४२२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३२६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन् । उनले ४१५६ मत ल्याउदा एमालेकी सविता श्रेष्ठले ३८८९ मत ल्याइन् ।

यसरी कांग्रेसले पाँच पालिका प्रमुखमा जीत हासिल गरिसकेको छ । सुनकोशी गाउँपालिकाको मत गणनामा पनि कांग्रेसका उम्मेदवार अगाडि छन् । यो पालिका प्रमुख जितेको खण्डमा कांग्रेसले ६ पालिका प्रमुखसहित सबैभन्दा ठूलो दल हुनेछ ।

सभामुखको क्षेत्रमा माओवादी बलियो

सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्रमा माओवादी केन्द्र बलियो देखिएको छ । ०७४ मा माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका प्रमुख जितेको थियो । दुईमध्ये भोटेकोशी गाउँपालिका प्रमुख माओवादीले गुमाएको छ, कांग्रेसले जितेको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख भने जितिसकेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् । माओवादी केन्ऽका कृष्णप्रसाद सापकोटा (देशबन्धु) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका इन्द्र नेपालले ६७११ मत ल्याए । देशबन्धु सभामुख अग्नीप्रसाद सापकोटाका भाइ हुन् ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् । चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो ।

यो पटक माओवादीले जुगल गाउँपालिका, बलेफी गाउँपालिका प्रमुख जितेको छ ।

जुगल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङबो र नेपाली काङग्रेसका उपाध्यक्ष पदमा हिमाल कुमार श्रेष्ठ विजयी भएका छन् । माओवादी केन्द्रका रेशम स्याङबो ५५७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका जयबहादुर लामाले ४४१५ मत ल्याए ।

उपाध्यक्ष नेपाली कांग्रेसका हिमाल कुमार श्रेष्ठले ४७६८ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेका सुनिता थापाले ३७०७ मत ल्याइन् ।

जुगल गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काङग्रेसबीच चुनावी तालमेल भएको थियो ।
बलेफी गाउँपालिकामा अध्यक्षमा माओवादीका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भए । उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भएकी छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार तामाङले ४ हजार ६ सय ६६ मत ल्याएर विजयी भए भने कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार सुवास तिमल्सिनाले ४ हजार १०५ मत ल्याए । एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले ३३८ मत ल्याए ।

एमालेबाट उपाध्यक्ष उम्मेदवार सपना थापाले ३ हजार ६३३ मत ल्याउँदा कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार सरु लामा तामाङ भने ४ हजार ३९४ मत ल्याएर विजयी भइन् ।

हालसम्म तीन पालिका प्रमुख जितिसकेको माओवादी केन्द्रका उम्मेदवारहरु लिसंखुपाखर पालिका प्रमुखमा पनि अगाडि छन् ।

लिसंखुपाखर प्रमुख जितेको खण्डमा माओवादीले ४ पालिका प्रमुख जित्नेछ । माओवादी नेता माधव सापकोटाका अनुसार माओवादीले अहिले जितेको र अगाडि रहेको पालिकाहरु सभामुख अग्नि प्रसाद सापकोटाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?