+
+

क्रिकेटर सीता भन्छिन् : कप्तान हुन्छु भन्ने आशै थिएन

नमिता दाहाल नमिता दाहाल
२०७९ जेठ ४ गते १९:१८

४ जेठ, काठमाडौं । यूएईमा पहिलो पटक आयोजना भएको फ्रेयर ब्रेक इन्भिटेसनल टी-२० क्रिकेट प्रतियोगितामा टोर्नाडोजबाट खेल्दै नेपाली राष्ट्रिय टिमकी सदस्य सीता राना मगरले उपाधि नै जितिन् ।

पहिलो पटक विदेशी प्रतियोगिता खेल्दा नै उपाधि हात पार्नु सीताको लागि मात्र नभएर नेपाली क्रिकेट जगतकै लागि खुशीको कुरा हो ।

तर यता नेपालमा सीताले उपाधि जितेको भन्दा उनलाई राष्ट्रिय टिमको उपकप्तानको जिम्मेवारीबाट हटाइएको विषयले ठूलो चर्चा पायो ।

महिला क्रिकेटको पहिलो पुस्ताको खेलाडी र डेढ दशक नेपाली क्रिकेटलाई योगदान दिइसकेकी सीता दुबई उड्नुअघि राष्ट्रिय टिमको उपकप्तान थिइन् । तर स्वदेश नफर्कंदै उनको पद खोसिइसकेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले सीताको ठाउँमा इन्दु बर्मालाई उपकप्तान बनाएको छ । सात वर्ष उपकप्तानको भूमिकामा रहेकी सीताले यो खबर फेयरब्रेकको फाइनलअघि नै पाइन् । तर त्यो पनि आधिकारिक निकायबाट नभई सञ्चार माध्यमबाट ।

‘मलाई गुनासो त छैन । तर अलिकति दुःख लागेको भनेको मिडियामा आइसकेको २४ घण्टापछि मात्रै मलाई क्यानबाट आधिकारिक व्याक्तिले भन्नुभयो’, उनले भनिन्, ‘खेलाडीबाट अनुशासन र व्यवसायिकताको खोजी गर्नुहुन्छ भने क्यानबाट पनि हामीलाई त्यही अनुसारको व्यवहार गरिदिएको भए हुन्थ्यो ।’

सीताले फेयरब्रेकमा टोर्नाडोजबाट ७ वटै खेल खेलिन्, जसमा ४ विकेट लिइन् । उनको प्रदर्शनले अरु नेपाली महिला क्रिकेट खेलाडी पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउने आश जगाइन् ।

दुबईमा फ्रेकब्रेक हुँदा उनले ‘झुकेगा नई’ सेलिब्रेसन गरेकी थिइन् । जुन धेरै हिट पनि भयो । ‘पुष्पा’ फिल्मको मुख्य एक्सन मानिएको ‘झुकेका नही’ सेलिब्रेसन अहिले नेपाली क्रिकेटमा पनि निकै चर्चित एक्सन बनेको छ । उनको सेलिब्रेसनलाई उपकप्तानबाट हटाउँदाको प्रतिक्रियाको रुपमा पनि बुझिएको छ ।

‘खेलाडीको रुपमा मलाइ कति ठाउँमा चित्त बुझेको थिएन, त्यसमा म चाहिँ झुक्दिन भन्ने कुरा नै देखाउन यो सेलिब्रेसन समर्पित थियो’, उनले भनिन्, ‘खेलाडीको रुपमा म अघि बढ्दै जान्छु म कुनै पनि कुरामा झुक्दिन भन्ने अर्थमा मैले गरेकी थिएँ ।’

क्यानले उपकप्तान परिवर्तन गर्दा युगाण्डाविरुद्धको पहिलो सिरिजमा सीता उपस्थित नहुने भएकाले अन्तरिम रुपमा मात्र गरिएको अनुमान गरिएको थियो । तर युगान्डासँगको पहिलो खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रुविना क्षेत्री र प्रशिक्षक जगत टमाटाले उपकप्तान स्थायी रुपमा परिवर्तन भएको जानकारी दिएका थिए । कप्तान क्षेत्रीले नयाँ पुस्तालाई मौका दिने उद्देश्यले क्यानबाट यो निर्णय भएको भन्दै बचाउ गरेकी थिइन् । ‘हामी अब लामो समय खेल्न सक्दैनौं । म पनि अब एक-डेढ बर्ष मात्रै खेल्छु । त्यसकारण नयाँ पिढीलाई यसको लागि तयार गरिएको हो’ उनले भनिन् ।

प्रशिक्षक जगत टमटाले नयाँ खेलाडीलाई जिम्मेवारी बोध गराउन क्यानले यो निर्णय गरेको हुन सक्ने बताए । ‘यो बोर्डले गरेको निर्णय हो यसमा हामीले केही भन्ने कुरा भएन’ उनले भने ।

सीता भने युवा खेलाडीलाई मौका दिने भए नेतृत्व नै परिवर्तन गर्नुपर्ने टिप्पणी गर्छिन् । ‘क्यानले युवा खेलाडीलाई मौका दिने उद्देश्यले गर्नुभएको होला, त्यसमा कुनै आपत्ति छैन । तर कप्तान र उपकप्तान दुवै युवा खेलाडीलाई दिएको भए घरेलु मैदानमा भएको खेलबाट सिक्ने सिकाउने मौका हुने थियो’ उनले भनिन् ।

सीता नेपाली क्रिकेटको पहिलो पुस्ताको खेलाडी हुन् । सन् २००७ मा नेपाली महिला क्रिकेट टिम बनाउँदादेखि उनी नियमित सदस्य छिन् । सीताले राष्ट्रिय टिमको धेरै खालको उतारचढाव देखेकी छिन् । उनले क्रिकेट खेल्न थल्दा नेपालमा क्रिकेट महिलाले खेल्ने खेलको रुपमा चिनिएकै थिएन । उनलाई राष्ट्रिय टिमको कप्तान हुने चाहना त थियो, तर कप्तान हुन्छु भन्ने चाहिँ नसोचेको बताउँछिन् ।  ‘मलाई नेतृत्व दिइन्छ भन्ने त मलाई आशै थिएन । म आश नै गर्दिन’ उनले भनिन् ।

यद्यपि नयाँ पुस्ताले नेतृत्व पाउनु खुशुको कुरा भएको सीता बताउँछिन् । ‘इन्दु पनि मेरी बहिनी हो । म अरुबेला जस्तै सिनियर खेलाडीको रुपमा नै खेलिरहनेछु’ उनले भनिन् ।

इन्दु भावी कप्तान !

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले टिमको हितलाई हेरेर उपकप्तान परिवर्तन गरेको बताए । ‘हामीले सीता वा रुविनाको विकल्प छिट्टै तयार गर्नुपर्छ । दुवै खेलाडी पूराना र सन्यासका क्रममा रहेकाले हामीले लामो समयसम्मको विकल्पको रुपमा इन्दुलाई उपकप्तान बनाएका हौं’ मल्लले भने ।

मल्लले उपकप्तान परिवर्तनलाई सीतामाथिको अन्यायको रुपमा बुझ्न नहुने बताए । इन्दु उपकप्तानको लागि योग्य रहेको पनि उनले  बताए । ‘उनलाई कप्तानको जिम्मेवारीका लागि तयार गर्न उपकप्तानको जिम्मेवारी दिएका हौं,’ मल्लले भने,  ‘क्यानले सीतालाई अन्याय गरेको अथवा खेलाडीको रुपमा भने सम्मान नगरेको होइन । उनी हाम्रो महत्वपूर्ण र अनुभवी खेलाडी हुन् उनलाई परेको खण्डमा हामीले सहयोग गर्नेछौं ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?