+
+

बालेनहरु चम्किंदा ‘वैकल्पिक’ पार्टीको बिजोग

चुनावी नतिजा अपेक्षाअनुसार नआएको स्वीकार गरेको विवेकशील साझाले ‘निरन्तर समय दिनसक्ने जनशक्ति र आर्थिक स्रोतको अभाव’का कारण यस्तो भएको बताएको छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ ४ गते १९:२९
काठमाडौं महानगरपालिकाको मतगणनास्थल बाहिर बालेन साहका समर्थकहरु ।

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले अग्रता लिइरहेका मात्र छैनन्, नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा बढी उनी एक्लैले ल्याएका छन् ।

यो समाचार तयार पार्दासम्म बालेनले १७ हजार ६४३ मत पाएका छन् भने एमालेका केशव स्थापितले ९ हजार ११० र कांग्रेसकी सिर्जना सिंहले ८ हजार १६७ मत पाएकी छिन् ।

सुरुवाती अग्रता लिएका बालेनले दुई बलिया पार्टीका उम्मेदवारलाई नजिक आउने अवसर समेत दिएका छैनन् । केही महिना अघिसम्म राजनीतिमा नामै नसुनिएका बालेनले काठमाडौंका मतदाताकाे मन जित्दा वैकल्पिक राजनीतिको नारा दिएको विवेकशील साझा पार्टीका उम्मेदवारको अवस्था भने दयनीय छ ।

काठमाडौं महानगरको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले जम्मा १३३ मात्रै मत प्राप्त गरेकी छिन् ।

जबकि २०७४ को स्थानीय चुनावमा तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले प्रमुख दलका उम्मेदवारहरुलाई कडा चुनौती दिएका थिए । विवेकशीलकी रञ्जु दर्शनाले उतिबेला २३ हजार ४३९ मत ल्याएकी थिइन् भने साझा पार्टीबाट उठेका किशोर थापाले पनि १८ हजार ४९६ मत प्राप्त गरेका थिए ।

त्यही मतबाट हौसिएर पार्टी एकता गरेका विवेकशील र साझा मिलेर बनेको विवेकशील साझाले यसपटक नगन्य मत पाएको छ । काठमाडौं मात्र होइन, ठूला शहरहरुमा विवेकशील साझाका उम्मेदवारहरुले पाएको मत यस्तै छ ।

अहिलेसम्म बाराको फेटा गाउँपालिकामा एउटा वडाध्यक्ष जितेको छ भने त्यही पालिकामा दुईवटा वडा गन्न बाँकी छँदासम्म अध्यक्षका उम्मेदवार रुस्तम अन्सारीले अग्रता लिएका छन् ।

अन्यत्र अवस्था दयनीय छ । जबकि विवेकशील साझा छाडेर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल (गोपी) हमालले पनि कांग्रेस र एमालेका उम्मेदवारलाई फराकिलो मत अन्तरले पछाडि छाडेका छन् भने धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिएका छन् ।

किन खुम्चिए ‘वैकल्पिक’ दल ?

चुनावी नतिजा अपेक्षाअनुसार नआएको स्वीकार गरेको विवेकशील साझाले ‘निरन्तर समय दिनसक्ने जनशक्ति र आर्थिक स्रोतको अभाव’का कारण यस्तो भएको बताएको छ ।

‘गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौं’ प्रवक्ता शरदराज पाठकले २ जेठमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौं ।

तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौं, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो ।’

पार्टीमा आएको टुटफुटलाई पनि जनताले मन नपराएका कारण मत नआएको उसको जिकिर छ । टुटफुटले पार्टीमा उथलपुथल ल्याएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमाप्रार्थी छौं ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने विवेकशील साझाले भनेको विषय मुख्य नभई सहायक मान्छन् । टुटफुटले पनि जनताको विश्वास गुमाएको भन्दै उनले भने, ‘उनीहरुप्रति आकर्षण नहुनुको एउटा कारण पुराना पार्टीहरुभन्दा उनीहरु नयाँ भएर निस्किएनन् । विचार, कार्यक्रम र व्यवहारमा कुनै पनि नयाँपन भएन ।’

अर्को विवेकशील साझाले पछिल्लो समय लिएको वैचारिक रुझान भएको उनी बताउँछन् । ‘राजावादी लाइन लिएपछि त्यो पार्टी अरुभन्दा नयाँ भएन’ श्रेष्ठले अनलाइनखबरसँग भनेका छन्, ‘त्यसले गर्दा जनताले उसलाई यसपटकको चुनावमा तिरस्कार गरेको जस्तो देखिन्छ ।’

विवेकशील साझाको संस्थापन पक्षको पक्षको कारबाहीमा परेका नेता केशव दाहाल पार्टीले लिएको वैचारिक धारकै कारण जनताले नरुचाएको बताउँछन् ।

‘हामीले व्यवस्था परिवर्तन भयो, अब अवस्था बदल्नुपर्छ भन्यौं । जनताले चाहेको पनि अब तिमीहरुले अवस्था बदल्नुपर्छ भन्ने नै हो’ उनले भने, ‘पछिल्लो समय हामी अनावश्यक भाष्यमा अल्झियौंं । गणतन्त्र आयातित हो कि होइन ? संघीयता चाहिन्छ कि खारेज गर्नुपर्छ ? धर्मनिरपेक्षता ठीक कि बेठीक ? जस्ता कुरा गर्‍यौं । यो चिज आवश्यक नै थिएन । त्यही अनावश्यक भाष्य निर्माणमा प्रवेश गर्दा जनताले रुचाएनन् ।’

नयाँ पार्टी यस्तो होस् भनेर जनताले बनाएको मानकमा पर्न पनि नसक्दा पनि यस्तो भएको उनको बुझाइ छ । ‘पुराना पार्टीहरुप्रति पुरानै नेतृत्व भयो, पार्टीमा अहंकार भयो, भ्रष्टाचार बढ्यो र लोकतन्त्रलाई दलतन्त्र बनाए भन्ने असन्तुष्टि थियो’ दाहाल भन्छन्, ‘यस्ता सबै चिजलाई ब्रेक गर्ने र नयाँ सम्भावना देखाउने पार्टी चाहिन्छ भनेर जनताले अपेक्षा गरेका थिए । यी मानकमा वैकल्पिक भनेर बनेका नयाँ शक्ति, विवेकशील जस्ता पार्टी खरो उत्रिन सकेनन् ।’

पार्टीको पछिल्लो विभाजन अघि संयोजक रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज ल्याएका थिए, जसमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख छ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन चुनिएपछि एकताका लागि समेत अनौपचारिक वार्ता समेत भएको थियो ।

विवेकशील साझाले भने यसलाई अस्वीकार गरेको छ । ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगीकार गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्’ प्रवक्ता पाठकको विज्ञप्तिमा भनिएको छ, ‘अहिले मात्र होइन, सो दस्तावेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।’

खुम्चिएको छैन वैकल्पिक राजनीतिको ‘स्पेस’

वैकल्पिक राजनीति गर्ने भनेर आएका वैकल्पिक भनिएका पार्टीको अवस्था नाजुक बन्दा वैकल्पिक राजनीतिको ‘स्पेस’ पनि खुम्चिएको हो भन्ने प्रश्न पनि उठ्छ ।

दाहाल र श्रेष्ठ दुवै वैकल्पिक राजनीति गर्ने भनेर आएका पार्टी खुम्चिंदा वैकल्पिक राजनीतिको स्पेस नखुम्चिने बताउँछन् । दाहाल भन्छन्, ‘चुनावमा स्वतन्त्र मान्छेहरुले जुन खालको मत प्राप्त गर्दैछन्, युवाहरुको जुन खालको राजनीतिमाथि हस्तक्षेप गर्ने गरी उम्मेदवारी भयो र त्यो जनताले कहीं न कहीं अनुमोदन गरे, त्यसबाट वैकल्पिक राजनीतिको स्पेस छ भन्ने देखियो ।’

श्रेष्ठ पनि बालेन साह लगायतका उम्मेदवारले पाएको मतले पनि वैकल्पिक राजनीतिको स्पेस छ भन्ने देखाएको बताउँछन् । ‘जनताले परिवर्तन खोजेको देखिन्छ’ उनी भन्छन्, ‘बालेन साहलाई भोट दिएको पनि उनले परिवर्तन पो ल्याउला कि भनेर हो ।’

निम्न वर्गलाई लक्षित गरेर वैकल्पिक राजनीति गर्नेहरुका लागि ७० प्रतिशत ठाउँ खाली भएको उनको जिकिर छ । ‘नेपालमा मध्यम वर्ग भनेको करिब २९, ३० प्रतिशत मात्रै छ’ उनी भन्छन्, ‘बाँकी ७० प्रतिशतका लागि राजनीति गर्न कोही आएनन् । नेपालमा तल्लो वर्गको राजनीति गर्ने को छ ?’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?