+
+

ललितपुरमा लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ७:३८
२०७९ सालको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएपछि ८१ वर्षीय नरसिंह व्यञ्जनकार । आर्यन धिमाल/अनलाइनखबर

५ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ वर्षीय भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जिते । रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

नरसिंह भने स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले पुतली चुनाव चिह्न पाएका थिए ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । २०७४ को स्थानीय चुनावमा पनि उनी स्वतन्त्र रूपमा नै चुनाव जितेका थिए ।

नरसिंह र रविनमानसँगै सो वडाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका राप्रपाका वीरबहादुर तामाङले ८० र माओवादी केन्द्रका रघुनाथ दुलालले ४७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?