+
+

धनगढी : वडाध्यक्षमा दलका उम्मेदवार, मेयरमा हमाल !

जनक विष्ट जनक विष्ट
२०७९ जेठ ६ गते २१:४५

६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नृपबहादुर वडले भनेका थिए, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । अगाडि–पछाडि र दाया–बायाँ कतै छैन । त्यसैले मेरो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुदैन ।’

अघिल्लो पटक मेयर बन्दा पाएको १४ हजार बढी मत, १० हजारभन्दा बढी ल्याएको माओवादी केन्द्रसहित सत्तारुढ दलहरुको गठबन्धनका कारण वडले स्वतन्त्र उम्मेदवार गोपाल (गोपी हमाल) लाई प्रतिस्पर्धी नै नमानेको हुनसक्छ । तर तीनै हमाल, वडलाई हराएर धनगढीको मेयर बन्ने सम्भावनाको नजिक पुगेका छन् ।

९३ हजारभन्दा बढी मतदाता रहेको धनगढी उपमहानगरमा ३० वैशाखमा भएको निर्वाचनमा ६३ हजार ७१५ मत खसेको थियो । ४४ हजार १०४ मतको गणना सकिँदासम्म मेयरमा स्वतन्त्र उम्मेदवार हमालले दोस्रो स्थानमा रहेका वडले भन्दा दोब्बर मत ल्याएका छन् ।

हमालले २० हजार ६ मतसहित अग्रता लिँदा वड ९ हजार ९२९ र एमालेका रणबहादुर चन्द ४ हजार ९१४ मतसहित पछ्याइरहेका छन् । अब १९ हजार मत गणना गर्न बाँकी छ, तर स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मत अन्तर बनाइसकेका छन् ।

मेयरमा हमाल र वडामा दलकै उम्मेदवारलाई भोट !

धनगढी उपमहानगरपालिकाको १ देखि ६ तथा १५ देखि १९ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

गणना सम्पन्न भएकामध्ये १, २, ३, ४, १५, १७ र १९ नम्बर वडा कांग्रेसको गढ र १६, १८ र १९ नेकपा एमालेको गढ मानिन्छ । तर यी वडाहरुमा मेयरका उम्मेदवार वड र चन्दले आशा गरेअनुसार मत सकेनन् ।

गणनामा बसेकाहरुका अनुसार वडा सदस्यदेखि वडाध्यक्षसम्म दलका उम्मेदवारलाई मत दिएकाहरुले मेयरमा भने स्वतन्त्र उम्मेदवार मत दिएको पाइन्छ । मत क्रस भएकै कारण माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गर्दा समेत कांग्रेसका नृपबहादुर वडको अवस्था २०७४ सालको स्थानीय निर्वाचन भन्दा कमजोर देखिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा कांग्रेसले मेयर र उपमेयरसँगै ११ वटा वडा जितेको थियो । अहिले ११ वडाको गणना सकिँदा ९ वडा जितिसकेको छ ।

वडामा राम्रो मत पाएर जितिरहेको बेला मेयरमा स्वतन्त्र उम्मेदवार हमालको भन्दा आधा मात्र मत पाउनु गम्भीर भएको कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट बताउँछन् ।

‘धनगढीबासीले अहिलेसम्म कुनै पनि निर्वाचनमा एउटै व्यक्तिलाई दोहो¥याएर विजयी गराएको इतिहास छैन । यो अर्थमा २०७४ सालमा मेयर जितेका नृपबहादुर वड मतगणनाका क्रममा अहिलेसम्म दोस्रो देखिनुुलाई अन्यथा लिनुु हुँदैन’, भट्ट भन्छन्, ‘तर वडाहरुमा हाम्रा उम्मेदवार राम्रो मतका साथ जित्ने, मेयरले त्यो मत नपाउने कुरालाई गम्भीर रुपमा लिएका छौं । चुनाव सकिएपछि गम्भीर रुपमा समीक्षा गर्छौं ।’

एमाले कैलालीले पनि वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई प्राप्त भएको मत मेयर र उपमेयरलाई नआउनुुलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

‘वडाध्यक्ष र वडा सदस्यहरुलाई आउने मत मेयर र उपमेयरका उम्मेदवारलाई पनि आउनुुपर्ने हो, तर अवस्था फरक देखिएको छ,’ एमाले कैलालीका उपाध्यक्ष दुर्गादत्त जोशीले भने, ‘यस्तो किन भयो भनेर अहिले भन्ने सकिने अवस्था छैन । हामी बैठक बसेर गम्भीर समीक्षा गर्छौं ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?