+
+
बजेट २०७९\८० :

विमानस्थल पूर्वाधारको बजेट आधा घट्ने

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ ८ गते १३:०८

८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन र त्यसमा पनि विमानस्थल पूर्वाधारतर्फको बजेट उल्लेख्य घट्दैछ । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न भएको र निजगढ विमानस्थलका लागि ठूलो रकम जाने सम्भावना कम भएका कारण विमानस्थल पूर्वाधारतर्फको बजेट घट्न लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार मन्त्रालय र प्राधिकरणलाई यसै पनि सिलिङ कम आएको थियो । त्यसमा पनि विमानस्थल पूर्वाधारमा अर्को ठूलो घोषणाको तयारी नभएका कारण बजेट कम हुन लागेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुको निर्माण र स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये पनि ठूलो रकम खर्च भने हुन सकेको छैन ।

आगामी आर्थिक वर्षमा यसको आधा हाराहारी मात्र विनियोजन हुने प्राधिकरण स्रोतको भनाइ छ । ‘एउटा राष्ट्रिय गौरवको आयोजना सकियो,’ स्रोतले भन्यो, ‘अर्को ठूलो आयोजनामा तत्काल धेरै पैसा जाने सम्भावना छैन, त्यसकारण विमानस्थल पूर्वाधारको बजेट घट्छ ।’

आगामी आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा भने बजेट विनियोजन हुनेछ । प्राधिकरणका अनुसार निजगढ विमानस्थलले काम चलाउ बजेट मात्र पाउने सम्भावना छ ।

यो विमानस्थल निर्माणको मोडालिटी तय गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ । यो समितिले काम गरिरहेको छ । अर्कोतर्फ विमानस्थलको साइट क्लियरेन्समा रहेका कानूनी झमेलाहरु सुल्झिएका छैनन् । सोही कारण सो विमानस्थलमा ठूलो बजेट जाने र नयाँ घोषणा हुने सम्भाजना समेत नरहेको स्रोतको भनाइ छ ।

चालु आवमा शुरुमा केपी ओली नेतृत्वको सरकारले बजेट ल्याएको थियो । यसलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटमा हेरफेर गरेको थियो । त्यसयता नागरिक उड्डयन र पर्यटनका धेरै घोषणा अधुरै रहेका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे विस्तार र टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड रकम विनियोजन गरेको थियो । भैरहवा विमानस्थलको बाँकी काम पूरा गर्न र दोस्रो टर्मिनल भवन बनाउन ३ अर्ब ५३ करोड विनियोजन गरेको थियो । पोखरा विमानस्थलका लागि भने ८ अर्ब ५० करोड विनियोजन गरेको थियो ।

आन्तरिक विमानस्थलहरुका लागि १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको थियो । पर्यटनतर्फ निजामति कर्मचारीलाई १० दिने काज बिदा दिने घोषणा अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?