+
+

एम्बाप्पेले पीएसजी नै किन रोजे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:१६

८ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पे थप तीन वर्षका लागि पीएसजीमा नै बस्ने निश्चित भएको छ ।

उनको अन्तिम निर्णय सार्वजनिक हुनअघि पीएसजी र रियल मड्रिड दुवै क्लबले आआफ्नो दावी छाडेका थिएनन् ।

शुत्रबारमात्र उनकी आमा र एजेन्टले दुवै क्लबका अधिकारीसँग सम्झौताका सर्तबारे खुलेर कुरा गरेका थिए । दुवै क्लबले एम्बाप्पेलाई १५० मिलियन युरो दिन राजी भएका थिए । प्रतिलिपि अधिकार स्वयम् रहने गरी मासिक ४० मिलियन पाउण्डको प्रस्ताव थियो ।

हर सम्भव प्रयास असफल भएपछि शनिबार रियल बेटिसविरुद्ध ला लिगाको सिजनको अन्तिम खेलपछि रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका खेलाडीलाई ड्रेसिङ रुममा पुगेर आफ्ना खेलाडीलाई एम्बापे मड्रिड नआउने जानकारी गराएका थिए ।

विश्व विजेता फ्रान्सेली सुपरस्टार एम्बाप्पे आगामी सिजनदेखि मड्रिड आउनेमा रियलका अफिसियल ढुक्क थिए । यहाँसम्म कि एम्बापेले पुनः पीएसजी छानेपछि पनि रियलका उनका समर्थक कुनै न कुनै दिन एम्बाप्पेले रियल रोज्ने बताउन थालेका छन् ।

उनले बाल्यकालमा मड्रिडको जर्सीमा रोनाल्डोको फोटो टाँसेको तस्वीर भाइरल भएको थियो । त्यति मात्रै नभई उनले लामो समयदेखि मड्रिडको प्रशंसा पनि गर्दै आइरहेका थिए । अघिल्लो सातासम्म रियल मड्रिडका अधिकारीहरु एम्बाप्पेका एजेन्ट र अभिभावकसँग सकारात्मक छलफल गरिरहेका थिए ।

त्यसो भए एम्बाप्पेले अचानक पीएसजी नै किन रोजे त ?

एम्बाप्पेको यो निर्णण पूर्ण रुपमा पैसाबाट निर्देशित छैन । तर, धेरै हदसम्म यसले भूमिका खेलेको छ । एक महिना अघिदेखि पीएसजीले एम्बाप्पेलाई थप दुई वर्ष राख्नका लागि मोटो रकमको प्रस्ताव राखेको थियो ।

त्यसपश्चिात उनको परिवारले मड्रिडसँग अनुबन्ध रकमको बारेमा प्रश्न गरेको थियो, जसमा मड्रिडलाई उनीहरुको स्तरभन्दा निकै तल झर्नु परेकाले एम्बाप्पे पुन पीएसजीमा बस्ने तय भएको बताइएको छ ।

फ्रान्सेली मिडियाका अनुसार एमबाप्पे पीएसजीमा रहनु अनुबन्ध रकम बढाइनु तथा उनलाई अन्य सेवा सुविधा( खेलमा उनको निर्णयको कदर, भविष्यमा कतारसँगको सम्झौता) मा अधिकार थप गरिनु रहेको बताएको छ ।

पीएसजीको ठूला खेलाडीमाथि राम्रै लगानी गर्ने गरेको छ । यसपल्ट एम्बाप्पेलाई रोक्नका लागि उसले ठूलै प्रस्ताव गरेको चर्चा भइरहेका छन् ।

एम्बापेको लागि उनका आमाबुवा उनका सबैभन्दा ठूला सल्लाहाकार हुन् । उनीहरु र एम्बापेका वकिलका कारण ठूलो परिवर्तन भएको छ । जसमा कतारमा हुने विश्वकप र पीएसजीका कतारी मालिक एक स्पष्ट कारण हुन् ।

कतारका अधिकारीहरुले फ्रान्स सरकारलाई नै प्रभावित पारेको देखिन्छ । फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोन पनि एम्बापेलाई पीएसजीमा राख्न लागि परेका थिए ।

केहि समय अघिसम्म पीएसजीले जस्तोसुकै प्रलोभन दिए पनि एम्बाप्पे क्लब छाड्ने निर्णयबाट पछाडि नफर्किने स्थितिमा थिए । पीएसजीको नयाँ प्रशिक्षकका रुपमा जिनेदिन जिदानको चर्चा भइरहेको छ । यतिसम्म कि जिदानले सम्झाउँदा पनि उनलाई रियल मड्रिड जानबाट रोक्न नसक्ने चर्चा भएको थियो ।

तर, पछिल्ला केहि दिनमा सबै सूचनाहरु परिवर्तन भए । पीएसजीका खेलाडीहरुले नै एम्बाप्पेले आफ्नो निर्णय परिवर्तन गर्न लागेको संकेत पाए ।

फुटबलको दृष्किोणबाट हेर्दा एम्बाप्पेले पनि पीएसजीमै रहेर प्रतिष्ठित बेलोन डी’ओर जित्न सक्ने सम्भावनाबारे धेरै विचार गरेको हुनुपर्छ । यस्तो हुनका लागि पीएसजीले युरोपियज च्याम्पियन्स लिग जित्नैपर्छ, उनले प्रतियोगितामा १० भन्दा बढी गोल गर्नुपर्छ ।

च्याम्पियन्स लिगमा उनले रियलका करिम बेन्जेमा, हालै म्यानचेस्टर सिटी पुगेका इर्लिङ हलान्ड, युभेन्टसका डुसान भ्लाहोबिचसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पीएसजीमै रहेर प्रतिष्ठित व्यक्तिगत उपाधि जित्नु उनका लागि धेरै नै कठिन काम हुनसक्छ ।

तर, उनी बर्नबाउ जाने सम्भावना अझै समाप्त भइसकेको छैन । किनभने एम्बाप्पेलाई उमेरको डर छैन । २३ वर्षीय उनले १/२ वर्ष पीएसजीमै रहेर ऐतिहासिक च्याम्पियन्स लिग उपाधि जित्न सक्छन् । त्यसपछि रियलको यात्रा गरी करिअरको सबैभन्दा उच्चतम समय बर्नबाउमा विताउन पाउँछन् ।

तत्कालका लागि रियललाई एम्बाप्पेजस्ता स्टार खेलाडीको खोजी प्रक्रियामा ठूलो झड्का लागेको छ । सन् २०१८ मा सुपरस्टार क्रिष्टियानो रोनाल्डोको बहिर्गमनयता रियलले अहिलेसम्म उनको उत्तराधिकारी भेट्टाउन सकेको छैन । सन् २०१९ मा बेल्जियन मिडफिल्डरमा त्यो सम्भावना देखेको रियल अहिले पछुताइरहेको छ ।

एम्बाप्पेले आफ्नो निर्णय गरिसकेका छन् । यो पीएसजीका समर्थकका लागि ठूलो खुसीको कुरा हो । निश्चित रुपमा उनीहरु खुसी मनाइरहेका छन् ।

तर, समर्थकका लागि वास्तविक खुसी दिने कार्य भने पीएसजी टिमले गर्न बाँकी नै छ । एउटा ठूलो निर्णयको आवश्यकता अझै पनि छ । त्यो भनेको सम्भवतः प्रशिक्षक परिवर्तन हुनेछ । भलै, वर्तमान प्रशिक्षक माउरिसियो पोचेटिनोसँग एम्बाप्पेको राम्रो सम्बन्ध छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?