+
+
स्थानीय तह निर्वाचन २०७९ :

गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

एमालेको उस्तैउस्तै

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ८ गते २०:४४
Photo Credit : गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि माओवादी केन्द्रले निकालेको विजय जुलुस ।

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो ।

पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, अघिल्लो पटक जितेका थुप्रै पालिकाको नेतृत्व गुमाउन पुगेको छ । गण्डकीका ८३ पालिकाको नतिजा आइसकेको छ । अब कास्कीको पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ ।

८३ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेसले ३५ पालिकामा खुम्चिएको छ । नतिजा आउन बाँकी रहेको व्यास नगरपालिकामा कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् ।

नेकपा एमालेले अघिल्लो भन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ । अघिल्लो पटक ३४ पालिका प्रमुख जितेकामा अहिले ३५ पु¥याएको छ ।

एमालेको प्रभाव भूमि भनेर चिनिएको कास्की जिल्लामा पनि यसपटकको नेकपा एमालेले हार व्यहोरेको छ । ०७४ सालको निर्वाचनमा एमालेले कास्कीका ५ पालिकामध्ये ४ पालिका प्रमुखसहित सबै पालिका उपप्रमुख जितेको थियो ।

तर, यसपटक एमालेले माछापुच्छ्रे र मादी गरेर २ पालिका गुमाइसकेको छ । पोखरा महानगरपालिकामा पनि आइतबार दिउँसो ७३ प्रतिशत गणना हुँदासम्म एमाले उम्मेदवार तीन हजार मत अन्तरले पछाडि छन् । यहाँ एमालेबाटै अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

स्याङ्जाका ११ पालिकामध्ये अघिल्लो पटक नेकपा एमालेले ९ पालिकामा जित निकालेको थियो । तर, अहिले एमालेले ६ पालिकामा सीमित हुँदा नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ ।

मुस्ताङमा पनि नेकपा एमालेले राम्रो सुधार गरेको छ । अघिल्लो पटक दुई पालिकामा खुम्चिएको नेकपा एमालेले यसपटक ४ पालिकामा जित निकालेको छ । मुस्ताङमा ५ गाउँपालिका छन् ।

म्याग्दी जिल्लामा पनि एमालेले सुधार गरेर ४ पालिकामा जित निकालेको छ । कांग्रेसले दुई पालिकाको नेतृत्व जितेको छ ।

बागलुङमा भने नेकपा एमालेले अघिल्लो पटकको विरासत गुमाएको छ । ०७४ सालमा बागलुङमा नेपाली कांग्रेस र नेकपा एमालेले ४–४ वटामा जितेका थिए । तर, यसपटक नेपाली कांग्रेसले ६ पालिका जित्दा नेकपा एमाले एउटामा मात्र सीमित भएको छ । बागलुङमा नेकपा माओवादी केन्द्रले एक र राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहको नेतृत्व जितेको छ ।

अघिल्लो पटक लमजुङमा ५ पालिका जितेको नेकपा एमालेले यसपटक एउटा पालिका गुमाएको छ । यसपटक ८ पालिकामध्ये नेकपा एमाले र कांग्रेसले समान ४–४ पालिका लमजुङमा जितेका छन् ।

एमालेले उल्ट्याएको नवलपुर !

नेकपा एमालेले सबैभन्दा बढी सुधार गण्डकीको नवलपुरमा गरेको छ । नवलपुरको ८ पालिकामध्ये एमालेले ६ वटा पालिकामा जित निकालेको छ । अघिल्लो निर्वाचनमा नवलपुरमा एमालेले २ वटामात्रै पालिका जितेको थियो । तर, यसपटक एमालेले अघिल्लो नतिजा उल्ट्याएको हो ।

नवलपुरमा नेकपा एमालेले यसपटक देवचुली, मध्यविन्दु, बुलिङटार, विनयीत्रिवेणी, कावासोती र बादीकाली जितेको छ । यसमध्ये अधिकांश पालिका नेपाली कांग्रेसबाट नेकपा एमालेले खोसेको हो । गैंडाकोट र हुप्सेकोटमात्रै नेपाली कांग्रेसको पोल्टामा परेको छ । यसमध्ये गैंडाकोट अघिल्लो पटक नेकपा एमालेले जितेको थियो ।

गोरखाको नतिजाले माओवादी सुधारियो

गण्डकी प्रदेशमा तेस्रो बनेको नेकपा माओवादीले संख्यात्मक रुपमा राम्रो उपलब्धी हासिल गरेको छ ।

नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका गोरखामा गुमाएको छ । गोरखाका ११ पालिकामध्ये ९ पालिका गुमाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले ९ र नेकपा माओवादीले २ पालिका प्रमुखमात्रै जितेको थियो । तर, अहिले पाँच वर्षपछि माओवादीले नतिजा उल्ट्याउँदै ९ पालिका जित्यो भने कांग्रेस २ पालिकामा सीमित हुन पुगेको छ ।

यता, अघिल्लो निर्वाचनमा नेकपा माओवादीले ५ पालिका जित्दै तेस्रो स्थानमा थियो । अहिले पनि नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै छ । तर, अघिल्लोभन्दा पालिकामा आफ्नो उपस्थिति सुधारेको छ । यसपटक नेकपा माओवादीले गण्डकीमा गोरखाको ९ सहित ११ पालिकामा जित निकालेको छ ।

नेकपा माओवादीले गोखरामा नेपाली कांग्रेसबाट दोहोरिएका पालिका प्रमुखहरुलाई नै पराजित गरेको थियो । बागलुङको ताराखोला गाउँपालिकामा अघिल्लो पटक र यसपटक पनि जित दोहोर्‍याएको छ ।

त्यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका गुमाएर आँबुखैरेनी गाउँपालिकामा जितेको हो । माओवादीले अघिल्लो पटक जितेको लमजुङको दोर्दी गाउँपालिका भने यसपटक गुमाएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?