+
+

दुईभन्दा बढी सन्तान भएका अभिभावकलाई बुढ्यौलीले छिटो छुन्छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १८:४५

‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने यो कथन नेपालमा मात्रै नभई संसारभरका अभिभावकले ग्रहण गरिरहेका छन् । तर व्यवहारमा भने अझै पूर्ण रुपमा लागु हुन सकेको छैन ।

पहिलेको तुलनामा अहिलेका अभिभावकले परिवारको आकार घटाइरहेका छन् । परिवारको आकार घटाउँदा आर्थिक, शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत फाइदा पुग्छ ।

सानो परिवारको तुलनामा ठूलो परिवारमा बढी समस्या हुन्छन् । ठूलो परिवारका लागि गाँस, बास, कपासका साथै शिक्षा, स्वास्थ्यजस्ता अन्य भौतिक आवश्यकताको परिपूर्ति गर्न गाह्रो पर्छ । यति मात्रै नभई सानो परिवारको अभिभावकको तुलनामा ठूलो परिवारका अभिभावक बढी बुढो देखिन्छन् । अर्थात् उनीहरुलाई बुढ्यौलीले छिटो छुन्छ ।

कोलम्बोको विश्वविद्यालयले गरेको अनुसन्धानमा तीन वा तीनभन्दा बढी सन्तान भएका अभिभावक वास्तविक उमेरभन्दा ६ दशमलव २ वर्ष बढी बुढो देखिने खुलेको छ ।

अभिभावक वास्तविक उमेरभन्दा बढी बुढो हुनुमा मुख्यतया  बालबालिकाको पालनपोषणको चिन्ता र आर्थिक भार रहेका छन् ।

६५ वर्षमाथिका व्यक्तिमा गरिएको थियो अनुसन्धान

यो अनुसन्धानका लागि वैज्ञानिकले युरोपको हेल्थ, एन्जिङ र रिटायरमेन्ट सर्भे (शेयर)को तथ्यांकको विश्लेषण गरेको थियो । यसमा ६५ वर्षमाथिका हजारौं व्यक्तिको तथ्यांक उपलब्ध छ । अनुसन्धानमा सहभागी गराइएकाहरु कम्तीमा दुई बालबालिकाका अभिभावक र युरोपका २० देश वा इजरायलका बासिन्दा रहेका छन् ।

बढी बालबालिका हुँदा अभिभावकमा भार पर्ने र जिम्मेवारी बढ्ने अनुसन्धानले बताएको छ । तनाव र आर्थिक भारका कारण अभिभावकको एन्जिङ प्रोसेस तीव्र हुन गई उनीहरु वास्तविक उमेरभन्दा अगावै बुढो हुने अनुसन्धानले पुष्टि गरेको छ ।

सम्झना र निर्णय लिने क्षमतामा असर

फ्रान्सको पेरिस डौफिन विश्वविद्यालयका प्रोफेसर डा. एरिक बोनसाङले तीन वा तीनभन्दा बढी सन्तान भएका अभिभावकमा ‘कग्निटिभ’ क्रियाकलापमा नकारात्मक असर पर्ने बताएका छन् । यो क्रियाकलापमा अभिभावकको सम्झन सक्ने, एकत्रित हुने क्षमता, बुद्धि र निर्णय लिन सक्ने क्षमता पर्छन् । यी असर महिला पुरुष दुवैमा समान हुन्छन् ।

बढी बालबालिकाका कारण प्रभावित हुन्छ लिभिङ स्टयान्डर्ड

बढी सन्तान भएमा अभिभावकमाथि आर्थिक भार पर्ने अनुसन्धानले देखाएको छ । यसका कारण बचत हुँदैन । यो समस्याले उनीहरुलाई गरिबीतिर धकेल्न सक्छ । परिवारमा समस्या र तनाव थपिंदै जाँदा अभिभावकको कग्निटिभ क्रियाकलापमा असर पर्छ । अभिभावक सन्तानको चिन्ता र घरायसी काममा बढी व्यस्त हुँदा उनीहरु वास्तविक उमेरभन्दा अगावै बुढो देखिने वैज्ञानिकले खोज गरेका छन् ।

बुढेसकालको खर्च बढ्छ

बुढेसकालमा सामाजिक क्रियाकलापमा सहभागी हुन र स्वतन्त्रतालाई बचाइराख्न कग्निटिभ स्वास्थ्यको हेरचाह गर्नु अति आवश्यक रहेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

दुईभन्दा बढी सन्तानका कारण शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा समेत असर पर्छ । यस्तो हुँदा खर्च बढ्छ । बुढ्यौलीले छोइसकेका अभिभावकको काम गर्ने क्षमता बढाउन र स्वास्थ्यमा कम खर्च गर्न तथा स्वस्थ राख्न कग्निटिभ स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

अहिले वैज्ञानिकहरु एक सन्तान हुनु र नहुनुले अभिभावकमा पार्ने असरका बारेमा अध्ययन गरिरहेका छन् ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?