+
+

स्थानीय निर्वाचन : कसले जित्यो,कसले हार्‍यो ?

कांग्रेस र माओवादीले एक्लै लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत कति छ ? यसको मसिनो विश्लेषण नगरी चुनाव कसले जित्यो र कसले हार्‍यो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।

विष्णु रिजाल विष्णु रिजाल
२०७९ जेठ ९ गते ८:४२

स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित-हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके/नसकेका बारेमा चर्चा-परिचर्चा केन्द्रित छन् । र, नेकपा (एमाले) ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन (न्यारेटिभ) निर्माण गर्ने कोसिस पनि भइरहेको छ ।

सबै तथ्य आइसकेका छैनन् । तर, प्राप्त परिणामलाई विश्लेषण गर्दा प्रश्न उठ्छ- के नेकपा (एमाले)ले ‘शर्मनाक’ रूपमा हारेको र अरूले ‘दिग्विजय’ हासिल गरेका हुन् त ? के अरूले चर्चा गर्ने गरे जस्तो कांग्रेस र माओवादीको पुनरुत्थान नै भएको हो त ?

तथ्यहरूले त्यसो भन्दैनन् । हो, एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन र गत निर्वाचनमा २९४ पालिकाको नेतृत्व गरेर पहिलो भएको दल यसपटक २०० हाराहारी पालिकामा झर्नु परेको छ । तर, जनमत परीक्षण र निर्वाचन विश्लेषणका लागि पालिकाको नेतृत्व मात्रै पर्याप्त हुँदैन, त्यसका लागि समग्र जनमत विश्लेषण गर्नुपर्छ ।

अहिले सबै नतिजा आउनै बाँकी छ । देशभरका उम्मेदवारहरूले प्राप्त गरेको मत जोडेर औसत निकालेपछि कुन पार्टीको अवस्था के छ भन्ने धरातल थाहा हुन्छ । निर्वाचनमा कुन दलले जित्यो र कुन दलले हार्‍यो भन्नका लागि पहिला हरेक दलले प्राप्त गरेको मत केलाउनुपर्छ ।

सबैलाई थाहा छ- यसपटकको निर्वाचन दलहरूका बीचमा नभएर पाँचदलीय गठबन्धन र नेकपा (एमाले) का बीचमा भएको छ । दलहरू स्वतन्त्रतापूर्वक चुनाव लडेको भए सबैको वास्तविक शक्ति थाहा हुन्थ्यो । तर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा एउटै मोर्चाबाट चुनाव लडेकाले उनीहरूमध्ये कसले कति मत प्राप्त गरे र कसको वास्तविक शक्ति कति हो भनेर छुट्याउन गाह्रो छ ।

नेकपा (एमाले) का हकमा त्यस्तो छैन । ३५ हजार जनप्रतिनिधिमध्ये करिब ३४ प्रतिशत स्थान हासिल गरेर नेकपा (एमाले) ले आफूलाई बलियो शक्तिका रूपमा स्थापित गरेको छ । कांग्रेसले एमालेको भन्दा बढी सिट जिते पनि त्यो उसको आफ्नो मात्र शक्तिबाट आर्जित होइन । त्यसैले फेरि पनि कुन दल कति बलियो छ भन्नका लागि अन्तिम परिणाम आइसकेपछि उम्मेदवारहरूले प्राप्त गरेको मत जोडेर हिसाब निकाल्नुपर्छ ।

नेकपा (एमाले) ले आफ्ना विरुद्धमा भइरहेका सबै खालका मोर्चाबन्दीहरूलाई नबुझेको होइन । २८ असार २०७८ मा सर्वोच्च अदालतको दुरुपयोग गरेर निर्माण गरिएको पाँचदलीय मोर्चामार्फत के-के गर्न खोजिएको छ भन्ने एमालेलाई राम्ररी थाहा छ ।

विकास, समृद्धि, देशभक्ति र अग्रगमनको झण्डालाई बलियो गरी समातेको शक्तिलाई कमजोर नपारी नेपाललाई कमजोर पार्न सकिन्न भनेर बुझेकाहरूले एमालेलाई फुटाउने, कमजोर बनाउने, एक्ल्याउने र शक्तिहीन बनाउने अनेक प्रयासहरू गरे पनि ती सबै प्रयास असफल भएका छन् । जनताको मतद्वारा नेकपा (एमाले) ले पुनः वैधता प्राप्त गरेको छ र मुलुकको भरपर्दो शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ ।

पार्टी विभाजनको मनोविज्ञान बोकेर निर्वाचनमा जानु यसै पनि कम कष्टकर कुरा होइन । पार्टी र देशको नेतृत्व गरिसकेका, पार्टीबाट मन्त्री, सांसद, मेयर आदि भइसकेका, पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसिसकेका नेताहरूको पंक्ति बाहिरिंदा त्यसको केही पनि प्रभाव पर्दैन भन्ने होइन । तर, छाड्नेहरूले त छाडी गए, रहेकाहरूले हिम्मतका साथ पार्टीलाई अघि बढाउनुबाहेक कुनै विकल्प रहँदैन । र, नेकपा (एमाले) को नेतृत्वले दृढताका साथ त्यही गरेका कारण थप क्षति हुन पाएन ।

कांग्रेस र माओवादीले जितेको स्थानीय तहमध्ये करिब ४० प्रतिशत जस्तो एक-अर्काको सहयोगमा जितेका छन् । कांग्रेस एकल लडेर जितेका पालिकाहरू कति छन् ? माओवादीले एकल लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत संख्या कति छ ? यी सबै कुराको मसिनो विश्लेषण नगरी चुनावमा कसले जितेको र कसले हारेको भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।

नेकपा (एमाले) ले हारेर पनि हार स्वीकार गर्न नसकेको र यसका नेताहरूमा अझै ‘दम्भ’ रहेको प्रचारवाजीका पछाडि एमालेलाई जसरी पनि ‘हारेको’ प्रमाणित गर्ने नियत लुकेको छ । भनिरहनै पर्दैन, नेकपा -एमाले) ले संख्यात्मक रूपमा पहिलो शक्ति हुन सकेन, दोस्रोमा झरेको छ । एउटा लोकतान्त्रिक, जन-आधारित र लोकपि्रय पार्टी हुनुका नाताले नेकपा (एमाले) जनताले दिएको आदेशलाई शिर झुकाएर सम्मान गर्दछ ।

साथै, राजनीतिक दल भएका कारण यो कुरामा एमाले चनाखो छ- जनताको अभिमतलाई स्वतन्त्र रूपमा अभिव्यक्त हुन कत्तिको दिइएको छ ? निर्वाचनमा सत्ताको दुरुपयोग गर्दै धाँधली गरिएको कुरा एमालेले सप्रमाण सार्वजनिक गर्दा त्यसलाई ‘हारको मानसिकता’ का रूपमा व्याख्या गर्नेहरूलाई थाहा हुनुपर्ने हो- आफैं चुनाव गराएको कांग्रेसले समेत कतिपय ठाउँमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ ।

स्थानीय निर्वाचन मूलतः स्थानीय एजेन्डामा आधारित हुन्छ । स्थानीय विशेषता, अन्तरविरोध, सन्तुलन, लोकपि्रयता जस्ता कुराले स्थानीय निर्वाचनलाई बढी प्रभावित गर्दछ । पाँच दल मिलेका छन् भन्नेबित्तिकै तटस्थ मानिसहरूका मनमा ‘ए, यसपटक एमाले हार्ने भएछ’ भन्ने धारणा स्वतः विकास हुने नै भयो । थपमा, पार्टीमा सानो भए पनि विभाजन भएका कारण उत्पन्न मनोवैज्ञानिक त्रास त छँदैथियो ।

गत निर्वाचनमा धेरै ठाउँमा जितेको छ र सत्तामा भएका कारण हुन सक्ने नकारात्मक क्षतिबाट पनि एमाले यसपटक प्रभावित भएको छ । पहिलो पटकका स्थानीय तह भएका कारण कतिपय प्रक्रियागत झन्झट, कतिपय अनुभवको कमी र कतिपय स्थानीय अन्तरविरोधहरूका कारण त्यसको नकारात्मक प्रभाव चुनावमा परेको अनुभूति भएको छ ।

यस्तो अवस्थामा पनि पार्टीले जुन जनमत निर्माण गरेको छ, यसबाट स्पष्ट रूपमा नेकपा (एमाले) ले आफूलाई बचाएको छ । नेतृत्व तहमा उत्पन्न बेमेल र त्यसबाट उत्पन्न विभाजनको दुःखद अवस्थालाई चिरेर आम कार्यकर्ता र मतदाताले नेकपा (एमाले) लाई सग्लो रूपमा बचाइदिएका छन् । अब यसलाई निर्णायक र परिणाममुखी बनाएर आउँदो चुनावमा विजयी बनाउने जिम्मेवारी नेतृत्वको काँधमा छ ।

नेकपा (एमाले) अनेक हण्डर, ठक्कर र चक्कर भोगेर यहाँसम्म आइपुगेको छ । पार्टी एकता, एकता भंग र आफ्नै साविकको पार्टीसमेत विभाजनको कष्टसाध्य बाटोबाट एमाले सहज चौतारीमा आइपुगेको छ । अब एमालेलाई घेराबन्दी गर्ने यसभन्दा बाँकी उपाय छैनन् ।

भएभरका जम्मै दल मिल्दा पनि एमालेलाई चाहे जसरी हराउन सकेनन् भने अब यसभन्दा बढी चाहिं के नै गर्न सक्छन् र भन्ने मनोविज्ञान नेकपा (एमाले) का नेता-कार्यकर्तामा निर्माण भएको छ । पार्टीको अवस्था के कस्तो होला भनेर अन्योलमा रहेको पंक्ति पनि चुनाव परिणामपछि स्पष्ट भएको छ । अब अझ बढी ऊर्जा र स्पष्टताका साथ त्यस्तो पंक्ति पार्टीमा सक्रिय हुन्छ ।

चुनावका बेला हुने कतिपय स्वाभाविक र कतिपय अस्वाभाविक समस्याहरूबाट नेकपा (एमाले) पृथक् रहन सकेन । उम्मेदवारी चयनमा पर्याप्त मात्रामा छलफल र सहमतिको प्रयासभन्दा पनि प्रक्रियागत रूपमा बढी ध्यान दिएका कारण असन्तुष्टिहरूलाई बेलैमा सम्बोधन गर्न नसक्दा उल्लेख्य रूपमा क्षति भएको छ । अन्तर्घात जस्ता कांग्रेसमा मात्र देखिने रोग एमालेमा सर्न थालेको महसुस यसपटक भएको छ ।

यस बाहेक निर्वाचनका बेला सत्तापक्षले प्रयोग गर्ने पैसा र शक्तिको प्रभाव एमालेभित्र पनि परेको तीतो अनुभूति भएको छ । अन्तिम बेलामा उम्मेदवार परिवर्तन गर्ने जस्ता गर्नै नहुने कामहरू हाम्रा लागि पाठ भएका छन् । साथै, लामो इतिहास भएको पार्टी भएका कारण धेरै पुराना नेता-कार्यकर्ताहरू नेतृत्वमा रहने र उनीहरूको बढी ध्यान पुरानैतिर केन्द्रित हुने कुराबाट अब एमालेले आफूलाई मुक्त गर्नैपर्छ । नयाँ पुस्तालाई बढी विश्वास र भरोसा गरेर निर्वाचनमा पठाउनुपर्छ ।

चुनावपूर्व अध्यक्ष केपी शर्मा ओलीले गरेको अथक् मिहिनेत, राष्ट्रव्यापी दौडधुप, पार्टी पंक्ति परिचालन जस्ता कुराले नेकपा (एमाले)को क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गरेको छ । आजको अवस्थामा अध्यक्ष ओलीलाई कमजोर बनाउनु नै एमालेलाई कमजोर बनाउनु हो भन्ने बुझेकाहरूले उहाँको सक्रियता, पहलकदमी र उत्साहलाई नकारात्मक रूपमा प्रचार गर्न खोजेका छन् । तर पनि एमाले पंक्तिका लागि त्यो ऊर्जाको विषय बनेको छ । यदि अध्यक्ष ओली त्यसरी नखटेको भए पार्टीको अवस्था के हुन्थ्यो होला भन्ने कुरा पार्टी पंक्तिले बुझेको छ । शरीर शिथिल बनाउन टाउकामा प्रहार गर्नुपर्छ भनेर बुझेकाहरूले एमालेलाई कमजोर बनाउन नेतृत्वमाथि प्रहार केन्द्रित गरेका छन् भन्ने कुरा बुझिएकै छ ।

समग्रमा नेकपा (एमाले) ले हारेको छैन । स्थानीय निर्वाचनमा थोरै मतको अन्तरमा हार-जित हुन्छ । त्यसमा सबै दल एकातिर उभिंदा विजय हुनका लागि थोरै मत नपुग्नुलाई जनमत घटेको रूपमा लिन मिल्दैन ।

सत्तारुढ गठबन्धन कायम रहिरहृयो वा गठबन्धनले मात्र भएन, अब एउटै पार्टी बनाएर निर्वाचनमा जाऔं भनेर उनीहरूले एउटै पार्टी बनाए भने त्यसमा एमालेले केही गर्न सक्दैन । अन्यथा जनमत, संगठन परिचालन, नेतृत्व जस्ता विषयमा एमालेले निराश हुनुपर्ने कारण छैन ।

किनभने, यस पटकको निर्वाचनबाट जनमतको रक्षा भएको छ, पार्टी पंक्ति अपूर्व रूपमा परिचालन भएको छ र नेतृत्व एकताबद्ध बनेको छ । एउटा जीवन्त पार्टीका लागि यति आधारभूत कुरा ठीकठाक भइसकेपछि बाँकी कुरा स्वतः गौण हुन्छन् .

लेखकको बारेमा
विष्णु रिजाल

लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?