+
+

२५ वर्षे गाउँपालिका अध्यक्ष भन्छन् : मास्टर प्लान बनाएर काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ६:०६

१० जेठ, सप्तरी । विद्यानन्द चौधरी २५ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा चुनाव लडेका उनी २ हजार ८९५ मतका साथ निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७६६ मत पाए । ‘युवाकै अत्यधिक सहयोगमा निर्वाचित हुन सकेको छु,’ स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दै गरेका गाउँपालिका अध्यक्ष चौधरी भन्छन्, ‘मलाई निर्वाचित गराउने यहाँका जनतालाई निराश हुन नदिने किसिमले काम गर्छु ।’

शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट ६ वर्षअघि राजनीति शुरु गरेका उनी गाउँपालिका अध्यक्ष बन्ने परिकल्पना गरेका थिएनन् । ‘अध्यक्ष नै बन्छु जस्तो लागेको थिएन, तर पार्टीले टिकट दिएपछि चुनाव लडें र अध्यक्ष बनें,’ उनले भने ।

चुनौतिका चाङ

अध्यक्ष र उपाध्यक्षबीच चलेको द्वन्द्वका कारण पछिल्लो ५ वर्ष छिन्नमस्ता गाउँपालिकामा काम नै हुन सकेको छैन । तत्कालीन अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषा कुमारी मण्डलको विवादका कारण लगातार दुई वर्ष त गाउँसभा नै भएन । समयमा तलव नपाउँदा कर्मचारी पटक–पटक आन्दोलनमा उत्रिए ।

गाउँपालिकाको समस्याबारे जानकार नवनिर्वाचित अध्यक्ष विद्यानन्द भन्छन्, ‘गाउँपालिकाका जनताले स्थानीय सरकारको अनुभूति गर्नै पाएका छैनन्, विकास त केही भएकै छैन ।’

आफ्नो पहिलो प्राथमिकता ट्रयाकभन्दा बाहिर गएको पालिकालाई ट्रयाकमा ल्याउने भएको उनले बताए । ‘त्यसपछि जनताका नियमित सिफारिस लगायतका कामहरुलाई घर–घरमा पुर्याउने, शिक्षा, स्वास्थ्य, पूर्वाधारका काम  गर्ने सोच छ,’ उनले भने, ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका सवाल र जनताले अनुभूति गर्नसक्ने तथा विकासलाई बलियो बनाउन मास्टर प्लान बनाएर काम गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?