
१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धानका लागि दुई शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलविरुद्ध अनुसन्धानका लागि अदालतले अनुमति दिएपछि अब विस्तृत छानविन सुरु हुनेछ ।
मंगलबार दुई शिक्षकविरुद्ध विद्यार्थीले कलेजमा नारावाजी र प्रदर्शन नै गरेका थिए । उनीहरुले ‘आफूहरुसँग नजिक भए कलेजको शूल्क’ तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरुको आरोप छ । प्रदर्शनमा सहभागी एक विद्यार्थीका अनुसार दुवैजनाले विद्यार्थी अश्लिल सन्देशहरु पनि पठाउने गरेका थिए ।
‘कहिले लगाएको लुगाप्रति अभद्र कमेन्ट गर्नै अहिले बेड पार्टनर बन्न नै म्यासेज गर्ने गरेको देखिएको छ’ प्रहरी वृत्त, गौशालाका एक अधिकृत भन्छन्, ‘आफूले भनेअनुसार इच्छाहरु पूरा गरिदिए सबै थोक गरिदिन्छु भनेर प्रलोभन देखाएको पाइएको छ ।’
सामाजिक विषय समेत पढाउने कोअर्डिनेटर अधिकारीले त ‘आफ्नो एक साइनले रेस्टिकेट’ हुने भन्दै विद्यार्थीहरुलाई धम्की पनि दिने गरेको विद्यार्थीहरुको भनाइ छ ।
कलेज प्रशासनले नपुगेपछि प्रहरीसम्म पुग्यो घटना
कलेजमा भएको प्रदर्शन नियन्त्रणबाहिर जाने परिस्थिति देखिएपछि कलेज प्रशासनले पनि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले गौशालामा अभिभावक, प्रशासन र शिक्षक बोलाएर घटनाबारे जानकारी लिएको थियो ।
‘छलफल गराउँदा विद्यार्थीलाई दुर्व्यवहार गरेको देखियो, तीन जना विद्यार्थीले किटानी जाहेरी पनि दिनुभयो’ प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराई भन्छन्, ‘त्यसपछि दुई शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’
कलेजका एक विद्यार्थीका अनुसार अहिले चर्चामा आएको घटना तत्कालको होइन । एक महिना अघि नै यस विषयमा कलेज प्रशासनलाई जानकारी गराइएको थियो । तर कलेजले शिक्षकलाई कारबाही गरेको थिएन ।
सोमबार पनि कलेजमा शिक्षकहरुसँग छलफल भएको तर शिक्षक अधिकारी गैरजिम्मेवार तरिकाले भागेर गएको विद्यार्थीहरुको आरोप छ । ‘हिजै सरले गम्भिरतापूर्वक लिइदिनु भएको भए, यस्तो हुने थिएन’ ती विद्यार्थीले भने, ‘अब प्रहरीले उहाँहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ताकि भोलि अरु कुनै शिक्षकले विद्यार्थीमाथि यस्तो नजर नराखुन् ।’
प्रतिक्रिया 4