
११ जेठ, काठमाडौं । सरकारले एक हप्ताकै बीचमा सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । गत ४ जेठमा मात्रै विभागले गाडी भाडा बढाएको थियो ।
नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.१ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा २.७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।
गत ४ जेठामा यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको थियो । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेका थियो ।
अब प्रदेशहरुले पनि यसकै आधारमा छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।
प्रतिक्रिया 4