+
+

नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज नपरेपछि कैलालीमा आन्दोलन

जनक विष्ट जनक विष्ट
२०७९ जेठ १२ गते १७:२१

१२ जेठ, धनगढी । नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नराखिएको विरोधमा कैलालीको धनगढी र अत्तरियामा आन्दोलन सुरु भएको छ ।

पूर्वाधार तयार भइसकेको गेटाको सट्टा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको विषय समेटिनुले यहाँका नागरिक अगुवाले आशंका गरेका छन् ।

कतै देउवाले गेटालाई बेवास्ता गरेर आफ्नो चुनावी एजेन्डा बनाउन मात्र घोषणा गरेका हुन् कि भन्ने उनीहरुको आशंका छ । गेटा मेडिकल कलेज सञ्चालनका लागि दबाव दिन धनगढी र अत्तरियामा छुट्टाछुट्टै संघर्ष समिति बनाइएको छ ।

धनगढीको संघर्ष समितिले मेडिकल कलेज सञ्चालनका लागि दबावस्वरुप हस्ताक्षर संकलनका साथै मेयर गोपाल हमाल र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुुझाएको छ । अत्तरियाको समितिले पनि मेयर हमाल र मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

आन्दोलनरत पक्षले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नु राम्रो भएपनि गेटामा भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालनको घोषणा नहुनु विडम्बना भएको बताएको छ ।

गेटा मेडिकल कलेज सञ्चालन संघर्ष समिति अत्तरियाका संयोजक लोकराज पाण्डेले भौतिक संरचना निर्माण भइसकेकाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन हुनुपर्ने बताए ।

‘डडेल्धुरामा मेडिकल कलेज बन्दा हामीलाई कुनै आपत्ति छैन । त्यो राम्रो कुरा हो तर भौतिक संरचना निर्माण भइसकेको गेटामा सञ्चालन गर्न ढिलाइ किन भइरहेको हो ?’, पाण्डेले अनलाइनखबरसँग भने, ‘यहाँ तत्काल अस्पताल र चिकित्सा शिक्षाको अध्यापन थाल्नुुपर्छ भन्ने हाम्रो माग छ । यो माग शीघ्र सम्बोधन भएन भने हामी जस्तो सुकै कदम चाल्न पनि तयार छौँ ।’

पाण्डेकाअनुसार मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी, जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख नेताहरु तथा धनगढी, गोदावरी लगायतका स्थानीय तहका प्रमुखलाई समेत ज्ञापन पत्र बुझाइएको छ ।

धनगढीमा संघर्ष समितिको अगुवाइ गर्नेमध्येका एक सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंह नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषयमा नबोलिएका कारण दबाव दिन आन्दोलनको थालनी गरिएको बताउँछन् ।

‘गेटामा भौतिक संरचना निर्माण भएर मेडिकल कलेज सञ्चालनका लागि तयारी अवस्थामा छन् तर सरकारले आफ्नो नीति तथा कार्यक्रममा यो विषयमा कुनै कुरा बोलेको देखिएन,’ सिंहले अनलाइनखबरसँग भने, ‘कलेज सञ्चालन नभए निर्माण भइसकेका संरचना पनि जीर्ण हुने अवस्था आउन सक्छ । त्यसैले चाडोभन्दा चाडो कलेज सञ्चालनमा ल्याउनुुपर्छ भनेर हामी दबावमूलक कार्यक्रम गरिरहेका छौँ ।’

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका इन्जिनियर पवन रावलका अनुसार अस्पताल र कलेज भवन सञ्चालनका लागि आवश्यक आधारभूत भौतिक संरचना निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भइसकेका छन् ।

उनका अनुसार कलेज भवनको निर्माण सकेर २०७७ सालको फागुनमा र अस्पताल भवन एक वर्षअघि हस्तान्तरण भएका छन् ।

आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएको गेटा मेडिकल कलेजमा अहिलेसम्म साढे पाँच अर्बभन्दा बढीको काम भइसकेको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?