
१२ जेठ, सप्तरी । मधेशका जिल्लामा डोम समुदायलाई अहिले पनि सबैभन्दा तल्लो दर्जामा राख्दै छुवाछुत मान्ने गरिन्छ । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधिको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि डोम समुदायकी एक महिलालाई नै बनाइएको छ ।
छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्षसहित जनप्रतिनिधिको शपथ ग्रहण र पदस्थापन कार्यक्रमका प्रमुख अतिथि ५५ वर्षीया राजेदेवी मरिक भइन् । गाउँपालिकाको वडा नम्बर ३ निवासी मरिक डोम समुदायकी एकल महिला हुन् । पानसमा दियो बालेर उनले शपथ तथा पदस्थापन कार्यक्रमको उद्घाटन गरिन् ।
यो गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय युवक विद्यानन्द चौधरी निर्वाचित भएका छन् । चौधरीले समाजमा कायम रहेको छुवाछुतको भावनालाई तोड्न डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथि बनाएको बताए । ‘मलाई विश्वास छ, यसले सकारात्मक सन्देश जान्छ र छुवाछुत हट्छ’ उनले भने, ‘म छुवाछुत हटाउनका लागि पनि काम गर्छु ।’
अध्यक्ष चौधरीले निर्वाचनअघि आफूले गरेका हरेक घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
पण्डित र मौलानाबाट पूजा गराउँदै पदस्थापन
अध्यक्ष चौधरीले आफ्नो पदस्थापन ग्रहण गर्ने क्रममा हिन्दू समुदायका पण्डित र मुस्लिम समुदायका मौलानाबाट पूजा गराएका छन् । छिन्नमस्ता मन्दिरका पिठाधीश महाकान्त ठाकुर नेतृत्वमा रहेका पूजारी तथा मोहम्मद अब्दुल अजिज साहेबको नेतृत्वमा रहेका मौलानाले आ–आफ्नो धार्मिक चलन अनुसार अध्यक्ष चौधरीको पदस्थापन गराए ।
यसले धार्मिक सहिष्णुता कायम हुने विश्वास आफूलाई रहेको अध्यक्ष चौधरीले बताए । ‘म सबै वर्ग, जाति, समुदाय, धर्मको अध्यक्ष हुँ, सबैका लागि काम गर्छु’ उनले भने, ‘समाजमा शान्ति स्थापना, धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न पनि सदैब ध्यान दिन्छु ।’
पदस्थापन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन गराउने पहिलो निर्णय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4