+
+

धनाढ्यको खेलमा ‘गरिब’को उडान

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ जेठ १६ गते १७:३८

१६ जेठ, काठमाडौं । एघार वर्षअघि ८ कक्षा पढ्दैगर्दा लहैलहैमा गल्फ कोर्षमा पुग्दा शुक्रबहादुर राईले यसैलाई करिअर बनाउँछु भनेर कल्पनासम्म गरेका थिएनन् । तर आजको दिनमा आइपुग्दा उनी नेपालका नम्बर एक व्यावसायिक गल्फर हुन् ।

दशकलामो गल्फ जीवनमा शुक्रले हरेक समय आफूलाई भाग्यमानी महशुस गरिरहे । सामान्य मजदूर परिवारबाट माथि उठेर धनीहरुको खेल मानिने गल्फमा शीर्षस्तरको उडान गर्न सफल शुक्र धेरैका लागि प्रेरणा भएका छन् । व्यावसायिक गल्फर बनिसकेपछि उनको निष्कर्ष छ, ‘दृढ इच्छाशक्ति भयो भने अभावलाई चिर्न सकिँदो रहेछ ।’

दुई चार सयको आशमा स्कुल हापेर क्याडी ब्वाई बन्न धरान गल्फकोर्षमा पुगेका उनलाई गल्फमा अगाडि बढ्न आर्थिक रुपमा अहिल्यै अप्ठेरो भएन । उनी आफैं बलियो आर्थिक पृष्ठभूमिका होइनन् । तर खेल देखेर मन पराउनेको सहयोगले नै उनलाई यहाँसम्मको यात्रामा सहज भएको हो ।

सन् २०१४ मा सूर्य नेपाल इस्टर्न ओपन गल्फमा एमेच्योरतर्फ उपाधि जितेपछि अगाडि बढेको उनको यात्रामा धरान गल्फ कोर्षका सदस्यहरु, नेपाल गल्फ संघ र नेपाल व्यावसायिक गल्फर संघको उत्तिकै साथ छ । आफ्नो करिअरको सफलतामा यी संस्थाहरु र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेको सहयोगप्रति उनी सधैं अनुग्रहित छन् ।

सन् २०१९ को अन्तिममा एमेच्योरबाट व्यावसायिक (प्रो गल्फर)बनेका शुक्रले साढे दुई वर्षको बीचमा नेपालकै शीर्ष वरीयता हासिल गरे । गत बिहीबार गोकर्ण गल्फ कोर्षमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेपछि शुक्रले यो सफलता पाएका हुन् ।

सूर्य नेपाल गल्फ टूरको सन् २०२१/२२ को सिजनमा उनले तीन प्रतियोगिता जिते । त्यसमध्ये सर्वाधिक पुरस्कार राशी र वरीयताप्राप्त पछिल्लो प्रतियोगिताको सफलताले उनी थप प्रेरित भएका छन् । ‘दोस्रो र तेस्रो दिन मैले आफ्नो योजनाअनुसार प्रदर्शन गर्न सकेँ । अन्तिम दिनमा अझै राम्रो गरेर कोर्ष कीर्तिमान बनाउने लक्ष्य पूरा हुन पाएन,’ अनलाइनखबरसँगको कुराकानीमा शुक्र भन्छन् । गोकर्ण गल्फ कोर्षमा २२ अण्डरको कीर्तिमान छ ।

उनले अन्तिम चरणमा ३ अण्डर ६९ को प्रदर्शनसहित समग्रमा १९ अण्डर २६९ को स्कोरकार्डमा उपाधि जित्दा दोस्रो स्थानमा रहेका धरानकै व्यावसायिक गल्फर निरज तामाङलाई ६ स्ट्रोकले पछि पारे । सिजनको कुल ८ मध्ये ५ प्रतियोगिता खेलेका शुक्रले तीनवटा उपाधिसहित कुल ६ लाख ६३ हजार ५ सय रुपैयाँ पुरस्कार जिते ।

धरान उपमहानगर–१९ चौकीबारीका शुक्र सामान्य परिवारमा हुर्किएका हुन् । उनका बुबा अहिले पनि घर बनाउने मजदूरी गर्छन् । स्कुल पढ्दापढ्दै गल्फकोर्षमा पुगेका उनले क्याडीहरुका लागि हरेक बुधबार हुने प्रतियोगिता खेल्न पाए । सुरुदेखि नै राम्रो गरेपछि कोर्षका सदस्यहरुको नजरमा परेका उनलाई त्यसपछि माथिल्ला प्रतियोगिता खेल्न सजिलो हुन थाल्यो ।

दुई वर्षपछि नेपाल गल्फ संघको जुनियर राष्ट्रिय टिममा परेपछि खेल सामग्री र सामान्य आम्दानीको अभाव हुन छाड्यो । किशोरावयदेखि नै गल्फलाई नै सबैथोक मानेका शुक्रले सन् २०१४ यता एमेच्योर खेलाडीका रुपमा सिनियर प्रतियोगिता खेल्न थालेका हुन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा टिम स्पर्धामा स्वर्ण र एकलतर्फ कांस्य जितेका शुक्र नेपाली गल्फवृत्तमा निकै नै सम्भावना भएका खेलाडीका रुपमा चिनिन्छन् । १३औंं सागमा स्वर्ण जित्नुअघि एक वर्षअघि नै उनी नेपालका शीर्ष प्रो खेलाडीहरुलाई हराउनसक्ने भइसकेका थिए । सन् २०१८ मै उनले सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका हुन् ।

व्यावसायिक यात्रालगत्तै कोरोना महामारी

१३औं सागमा पदक जितेपछि शुक्रले एमेच्योरबाट व्यावसायिक गल्फर बन्ने निर्णय लिए । ‘एमेच्योरबाट सम्भव भएजति सबै सफलता पाएको थिएँ । एसियाली खेलकुद र सागसम्म खेलेँ । अब एक चरण माथि उक्लेर व्यावसायिक प्रतियोगिता खेल्ने सोचले नै यो निर्णय गरेको हो,’ उनले भने ।

प्रो बनेलगत्तै कोरोना महामारी सुरु भयो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल गतिविधि ठप्प भयो । व्यावसायिक करिअरको अनुभव लिनै नपाइ झण्डै डेढ वर्षसम्म खाली बस्नुपर्दा आफ्नो लयमा असर परेको उनले बताए । ‘पहिलो लकडाउनमा खासै असर परेको थिएन । धरानमा कोर्षमै गएर खेल्न पाइरहेको थिएँ । आफूलाई फिट राखेको थिएँ,’ उनले भने, ‘दोस्रो लकडाउनमा संक्रमणदर पनि धेरै थियो । घरमै बस्नुपर्दा मानसिक र शारीरिक रुपमा बोधो भएँ ।’

गल्फमा एमेच्योर खेलाडीले प्रतियोगिता जितेर नगद पुरस्कार पाउँदैनन् । खेल संघमार्फत आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताका यी खेलाडीहरुलाई प्रतिनिधित्व गराइन्छ । यसका लागि राष्ट्रिय संघले नै खेलाडीको सबै व्यवस्था गरेको हुन्छ । व्यावसायिक मान्यता लिएपछि क्याडी र प्रशिक्षकलगायत सबै व्यवस्था आफैंले गर्नुपर्ने हुन्छ ।

एमेच्योरबाट भर्खरै व्यावसायिक बनेका शुक्रका लागि कोरोना महामारीले प्रतियोगिता पनि आयोजना हुन नसक्दा निराशाको समय सुरु भएको थियो । ‘एक मन त किन प्रो मान्यता लिएछु भन्नेजस्तो भयो,’ शुक्र भन्छन् ।

शुक्रले जुन उद्देश्यका लागि व्यावसायिक बन्ने निर्णय गरेका थिए, त्यो केहि महिनाअघि मात्रै पूरा भयो । एसियन व्यावसायिक टूरका लागि भारतमा व्यावसायिक प्रतियोगिता खेल्नु अनिवार्य छ । ६ महिनाअघि शुक्रले इण्डिया टूरका लागि छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरे ।

अघिल्लो महिना पहिलो सिजनका ६ प्रतियोगिता खेलेर फर्किएका शुक्रले भने, ‘छनोटमा राम्रो गरेको थिएँ । पहिलो सिजनको प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकिनँ । मेरो आफ्नो अपेक्षाअनुसार भएन । सेप्टेम्बरदेखि अर्को सिजन सुरु हुँदैछ । त्यसमा राम्रो प्रदर्शन गरी शीर्ष ६० भित्र पर्ने आशा छ ।’

भारतीय व्यावसायिक गल्फर संघले आयोजना गर्ने प्रतियोगितामा उपल्लास्तरका खेलाडीसँगको पहिलो प्रतिस्पर्धा उनका लागि अनुभव हासिल गर्ने अवसर बन्यो । अर्को सिजन कम्तिमा एउटा प्रतियोगिता जितेर आफूलाई स्थापित गर्ने शुक्रको लक्ष्य छ ।

शुक्रको अनुभवमा व्यावसायिक गल्फर बन्नु दवावयुक्त जिम्मेवारी हो । एमेच्योर हुँदा धेरै हदसम्म नेपाल गल्फ संघको सहारा पाएका उनले अहलिे आफ्ना लागि सबै कुरा आफैंले व्यवस्था गर्नुपर्छ । टूरको छनोटदेखि प्रशिक्षक, क्याडी र खेल सामग्रीको जोहो आफैंले गर्नुपर्छ । एमेच्योरबाट व्यावसयिक यात्राका लागि विदाइ गर्ने समयमा नेपाल गल्फ संघले एक सेट गल्फ खेल सामग्री उपहार दिएको थियो ।

कोरोनाका कारण लामो समयसम्म प्रतियोगिताविहीन हुँदा प्रशिक्षणका लागि यही सामग्रीले निकै सहयोग गरेको उनी सम्झन्छन् । हाल जर्मनीमा रहेका सविन सापकोटाले शुक्रलाई प्रशिक्षण गराइरहेका छन् । ‘धरानमै हुँदादेखि नै उहाँले मलाई धेरै नै सिकाउनुभएको थियो । अहिले पनि भर्चुअल रुपमा धेरै ज्ञानहरु पाइरहेको छु,’ शुक्रले भने, ‘प्रो भएपछि त उहाँले विशेष सहयोग गरिरहनुभएको छ ।’

गल्फ खेल्न सुरु गर्दा शिवराम श्रेष्ठ नेपालका नम्बर एक गल्फर थिए । गोकर्ण गल्फ कोर्षमा पहिलोपल्ट शिवरामको खेल हेर्दा उनले आफूलाई त्यही स्थानमा रहेर कल्पना गरेका थिए । ‘ठ्याक्कै मिति थाहा भएन । हामीलाई धरानबाट स्वयमसेवकका रुपमा गोकर्ण ल्याइएको थियो । सूर्य नेपाल मास्टर्समा शिवराम दाइको खेल देखेको थिएँ,’ शुक्र सम्झिन्छन्, ‘त्यतिबेला उहाँजस्तो कहिले बन्ने होला भन्ने लाग्थ्यो ।

कालान्तरमा शुक्रले नेपाल नम्बर एकको उपाधि पाएका छन् । यो उनका लागि एउटा ठूलो लक्ष्य पूरा भएजस्स्तै हो । व्यावसायिक करिअरमा इण्डिया टूर जितेर एसियन टूरका लागि छनोट हुने शुक्रको अहिलेको लक्ष्य हो । एमेच्योरमा पाएको जस्तै सफलतालाई व्यावसायिक करिअरमा पनि कायम राख्नका लागि चुनौति धेरै छ । सबैभन्दा ठूलो कुरा आर्थिक रुपमा सबल हुनुछ । शुक्र व्यावसायिक प्रायोजनको खोजीमा छन् । आफ्नो सफलताका लागि धेरै आशावादी छन् । नेपालबाट अहिलेसम्मकै सबैभन्दा सफल गल्फर बन्ने लक्ष्य पूरा गर्न त्यत्तिकै मिहिनेत गर्नुपर्ने तथ्यलाई पनि बिर्सेका छैनन् ।

तस्वीर तथा भिडियो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?