News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले ४-४ विकेट लिएर आफ्नो टिमलाई लगातार तेस्रो जित दिलाए।
- दीपेन्द्रले सुदूरपश्चिमलाई कर्णाली विरुद्ध १३९ रन बनाउँदै ४५ रनले जिताउन ३९ रन बनाएर र ४ विकेट लिएर म्याच जिताए।
- सन्दीपले विराटनगर किङ्सलाई जनकपुर बोल्ट्सविरुद्ध ४ विकेट लिएर ९ रनको रोमाञ्चक जित दिलाए र प्लेअर अफ दि म्याच घोषित भए।
८ मंसिर, काठमाडौं । दुवै कप्तानले टस हारे तर दुवैले खेलमा ४-४ विकेट लिए । अनि आफ्नो टिमलाई जिताउन मद्दत गरे । दुवै टिमले आफ्नो टिमले बनाएको मध्यम स्कोर डिफेन्ड गराउनका लागि महत्वपूर्ण भूमिका खेले ।
दुवै खेलाडीका टिमले लगातार तेस्रो जित हात पार्यो । अपराजित यात्रा कायम राख्यो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छाए ।
दुवै खेलाडीका टिमले १४० रन भन्दा कम बनाएपनि दोस्रो इनिङ्समा उत्कृष्ट बलिङबाट विपक्षीलाई कम स्कोरमा रोक्न ठूलो रोल खेले । दुवै खेलाडी प्लेअर अफ दि म्याच घोषित भए ।
यसअघि भएका ८ खेलमा विदेशी खेलाडीहरू हावी बन्दा ७ विदेशी प्लेअर अफ दि म्याच बनेका थिए भने एक मात्र नेपाली खेलाडी (लोकेश बम) प्लेअर अफ दि म्याच घोषित भएका थिए ।
तर सोमबार भने दुवै खेलमा नेपाली खेलाडी नै चम्किए । त्यसमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई अनुभवी खेलाडी चम्किएका हुन् । आईसीसीको टी-२० अलराउण्डर वरीयतामा समेत शीर्ष १० भित्र पर्दै २ नम्बरसम्म पुगेका अलराउण्डर दीपेन्द्रले कर्णाली विरुद्ध त्यस्तै किसिमको प्रदर्शन गरे ।

दीपेन्द्रको अलराउण्ड प्रदर्शन ३९(२८) र ४-२३ मा साविक उपविजेता सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित निकालेर शीर्ष स्थानमै उक्लियो ।
त्यसअघि पहिलो खेलमा विराटनगर किङ्सले पनि मध्यम योगफल डिफेन्ड गर्ने क्रममा कर्णाली याक्सविरुद्ध ९ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए ।
सन्दीपको घातक बलिङ
सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो । ब्याटिङमा खासै बलियो योगफल नबनाएको विराटनगरले बलिङमार्फत शानदार प्रदर्शन गर्दै खेल जितेको हो ।
यसमा नायक कप्तान सन्दीप रहेका थिए जसले ४ ओभरमा केवल ११ रन मात्र दिएर ४ विकेट लिए । ती ४ वटै विकेट महत्वपूर्ण थिए जसले विराटनगरलाई खेलमा हर समय बलियो अवस्थामा राख्यो ।
पावरप्लेमा ठीकठाक सुरुवात गरेको जनकपुरले खेल त्यहाँबाट गुमाउन थाल्यो जब सन्दीपले बलिङको सुरुवात गरे । सन्दीपले आफ्नो पहिलो ओभरमै विपक्षी कप्तान अनिल साहलाई आउट गरे ।
त्यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमा लाहिरु मिलान्थालाई आउट गरे, जो क्रिजमा टिकिरहेका थिए ।

अन्तिम ओभर लिएर खेलको १८औं ओभर बलिङ गर्न आएका सन्दीपले रुपेश सिंह र संगीथ कूरेलाई लगातार बलमा आउट गरेर ह्याट्रिक बलको अवस्थामा पनि पुगेका थिए ।
विकेटमा ह्याट्रिक नलिए पनि टिमको ह्याट्रिक जित भने उनले पक्का गराए । यसरी सन्दीपले धेरै रन पनि नदिइ ४ विकेट लिएर विराटनगरलाई लगातार तेस्रो जित हासिल गराए ।
खेलपछि सन्दीपले यस वर्ष सफलतामा रमाइरहेको बताए । ‘यो सफलतालाई हामी इन्जोय गरिरहेका छौं। गत वर्ष त्यो सफलता थिएन । यस पटक वि आर इन्जोइङ’ सन्दीपले भने ‘आज बलिङको लागि फेभरेबल कन्डिसन थियो । त्यतिको स्कोर बन्नु पनि राम्रो थियो।’
लगातार दोस्रो हारपछि जनकपुरका प्रशिक्षक शिवनराइन चन्द्रपलले भने खराब ब्याटिङका कारण बेहोरेको उल्लेख गरे । उनले टप अर्डरबाट निराशाजनक ब्याटिङ भएको बताएका थिए।
उनले सन्दीपको बलिङको पनि प्रशंसा गर्दै पछिल्ला वर्षहरूमा उनको खेल हेर्ने गरेको र उनी सधैं उत्कृष्ट बलरका रूपमा रहेको बताए ।
दीपेन्द्रको अलराउन्ड प्रदर्शन
यता कर्णाली याक्सविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको टप अर्डर आज चलेन । सुदूरका शीर्ष ३ ब्याटर जोश ब्राउन, विनोद भण्डारी र क्रिस लिन कमै स्कोरमा आउट हुँदा ८ ओभरभित्रै सुदूरपश्चिम ४१-३ को अवस्थामा थियो ।
त्यसपछि इशान पाण्डे पनि रनआउट भएपछि सुदूर १० ओभर सकिँदा ५३-४ को अवस्थामा थियो र क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र आरिफ शेख ।
दीपेन्द्रले त्यस अवस्थाबाट २८ बलमा ३९ रन बनाएपछि सुदूरपश्चिमले १३९ रनको योगफल बनाउन सक्यो । जवाफमा दीपेन्द्रले बलिङमा पनि ४ विकेट लिएर म्याच विनिङ प्रदर्शन गरेपछि ककर्णाली ४ बल बाँकी छँदै ९४ रनमै अलआउट भयो ।
दीपेन्द्रले कर्णालीका दुवै ओपनरलाई आउट गरे । एक थिए प्रियांक पान्चाल जसलाई शून्यमै स्टम्प आउटको शिकार बनाए । अर्का थिए मार्क वाट, जसले अघिल्लो खेलमा शानदार शतक बनाएर आएका थिए र आजको खेलमा पनि अट्याक गर्न थालिसकेका थिए ।

वाटले २ छक्का दीपेन्द्रलाई नै प्रहार गरेका थिए । पछि उनैले एलबीडब्लु आउट गरिदिए । यहाँ दीपेन्द्रले ‘क्वीक रिभेन्ज’ पनि लिए । पावरप्लेभित्रै ३ ओभर बलिङ गरेका दीपेन्द्रले अफगानी ब्याटर नजिबुल्लाह जाद्रानलाई पनि एलबीडब्लुमा फसाए ।
यसपछि दीपेन्द्रले अर्को एक महत्वपूर्ण विकेट लिए । कर्णालीलाई खेल जिताउन सक्षम खेलाडी गुल्शनलाई पनि बोल्ड गरिदिएपछि दीपेन्द्रले ४ विकेट पूरा गरे । खेल पनि सुदूरपश्चिमकै पक्षमा पक्का गरे ।
खेलपछि कुरा गर्दै दीपेन्द्रले समग्र टिमले अवस्था अनुसार राम्रो खेलिरहेको बताए । ‘एकदम राम्रो भइरहेको छ । टिमले विकेटअनुसार खेलिरहेको छ । प्लेअफ पुग्न जितमा ह्याट्रिक गर्यौं । अब अरु टिमलाई पनि दबाब परेको छ सुदूरपश्चिमलाई लगातार तेस्रो खेल जिताएर प्लेयर अफ दि म्याच बनेका दीपेन्द्रले पोस्ट म्याच कन्फेरेन्समा भने ।
दीपेन्द्रले गुल्शनसँगको शर्त जित्दा ‘समरसल्ट’ सेलेब्रेसन
खेलमा दीपेन्द्रले गुल्शन झालाई बोल्ड गरेपछि समरसल्ट सेलिब्रेसन गरेका थिए । दीपेन्द्रले कुनै महत्वपूर्ण विकेट लिँदा समरसल्ट सेलिब्रेसन गर्ने गरेका छन् ।
आझ उनले दुईपटक उक्त सेलेब्रेसन गरेका थिए । गुल्शनलाई आउट गर्नुअघि नजिबलाई आउट गर्दा पनि उनले उक्त सेलेब्रेसन गरेका थिए ।
पहिलो सेलेब्रेसेन अरुबेला जस्तै गरेको उल्लेख गर्दै उनले आज गुल्शनलाई आउट गरेपछि भने एक शर्त जितेपछि उक्त सेलेब्रेसन गरेको उल्लेख गरे ।
‘सुरुमा चाहिँ अटोमेटिक थियो त्यस्तो खासै थिएन, दोस्रोमा चाहिँ गुल्शन र मैले शर्त लगाएका थियौं त्यो जितेपछि सेलेब्रेसन गरेको हो’ उनले भने ।

बलरलाई फेभरेबल कन्डिशन
आजका दुवै खेलमा बलरहरूलाई सहयोग गर्ने किसिमको पिच देखियो । पहिलो खेलमा विराटनगरले १३५ रन मात्र बनाएर डिफेन्ड गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमले पनि १३९ रन मात्र बनाएर विपक्षीलाई दोहोरो अंकको योगफलमै रोक्यो।
बलरमा पनि स्पीन बलरहरूलाई आजको कन्डिशन सहयोगि देखियो । पहिलो खेलपछि विराटनगरका कप्तान सन्दीपले पनि बलिङ सहयोगी पिच कन्डिशन रहेको बताएका थिए ।
दोस्रो खेलमा कर्णाली याक्सका प्रशिक्षक राजु बस्न्यातले पनि सोही किसिमको टिप्पणी गरेका थिए । ‘आजको पिचअनुसार सुरुमा खेल्न गाह्रो नै थियो, पहिलो खेलमा पनि हेर्यौं स्पीन बलरहरूलाई फाइदा पुग्ने किसिमको थियो’ राजुले भने, ‘तर त्यो मात्र नभएर हामीले खराब ब्याटिङ गरेको भएर पनि आज पराजित भएका हौं।’
आजका दुई खेलहरूमा गरेर कूल ३५ विकेट खसेका थिए । जहाँ १८ विकेट स्पीन बलहरूले लिए भने १७ विकेट पेस बलरको नाममा रह्यो ।

दाबेदार देखिँदै सुदूरपश्चिम र विराटनगर
लगातार तीन खेल जितेका सुदूरपश्चिम र विराटनगर ६ अंक जोड्दै शीर्ष दुईमा रहेका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ ।
दुवै टिम अहिले विपक्षी भन्दा ४ अंकले अघि छन् । सुरुवाती तीन खेलमा लगातार जितले दुवै टोलीले एउटा लय समातेको छ र प्लेअफ पुग्नका लागि दाबेदार टोलीको रुपमा देखिएको छ ।
गत वर्ष लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेर पनि फाइनलमा चुक्दा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो । यस पटक जसरी पनि च्याम्पियन नै बन्ने लक्ष्यका साथ उनीहरू आएका छन् ।
त्यसमा यस पटक अष्ट्रेलियाका चर्चित ब्याटरहरू क्रिस लिन र जोश ब्राउनको आगमनले सुदूरपश्चिमको टोली झन् बलियो देखिएको छ । दीपेन्द्र सहितका घरेलु खेलाडीहरू पनि लयमा छन् भने बलिङमा न्युजिलयाण्डका स्कट कुगेलेइन जस्ता अनुभवी खेलाडीसँग नेपालका दुई मिडियम पेस बरलर अविनाश बोहरा र हेमन्त धामीले पनि राम्रो गरिरहेका छन् ।
अर्कोतर्फ सन्दीप लामिछानेसहित फाफ डु प्लेसी र मार्टिन गप्टिल जस्ता विदेशी खेलाडी अनुबन्ध गरेपछि विराटनगर किङ्स यस वर्ष अर्को चर्चित टोली बनेको छ । फाफ डु प्लेसी आउनुअघि नै विराटनगरले लय समातेको छ र डु प्लेसी आएपछि टिम अझ बलियो हुने पक्का देखिएको छ । कप्तान सन्दीपले पनि फाफ आएपछि टोलीमा थप इनर्जी थपिने उल्लेख गरे ।
यस्तै सन्दीपसँगै सूर्य तामाङ पनि स्पीनमा राम्रो देखिइरहेका छन् भने मर्चेन्ट डे लाङले पेस अट्याक लिड गर्दा अर्का पेसर प्रतिश जीसी र मिडियम पेसर शुभम रन्जानेले सपोर्ट गरिरहेका छन् ।
प्रतिक्रिया 4