+
+

प्रतिकूल मौसमले विमान दुर्घटनामा बेपत्ताको खोजीमा समस्या

रासस रासस
२०७९ जेठ १६ गते १४:५९

१६ जेठ , म्याग्दी ।  प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ ।

भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको जानकारी दिए ।

‘शव सङ्कलन, पहिचान, बेपत्ताको खोजी र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजनामा मौसमले चुनौती सिर्जना गरेको छ’, उनले भने, ‘घटनास्थलबाट डाँडामा सङ्कलन गरेर राखिएको शव ल्याउन र बेपत्ताको खोजीमा समस्या भएको हो ।’ घटनास्थलमा रहेका स्थानीयवासी इन्द्रसिंह शेरचनले सुरक्षाकर्मीले डोरीको सहायताले भिरमा अड्किएका शव सङ्कलन गरेको बताए ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको छ । करिब १०० जना नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी उद्धारमा परिचालन भएका छन् । नेपाली सेना, फिस्टेल र कैलाश एयरको एक/एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि मौसमको प्रतिकूलताका कारण घटनास्थलतर्फ जान सकेका छैनन् ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान भेटिएको थियो ।

पोखराबाट आइतबार बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०: ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मनी नागरिक थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?