+
+

उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि ‘सत्यम्’को छायांकन अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १३:४२
फाइल तस्वीर

काठमाडौं । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी उच्च अदालत पोखराले पनि आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन पुनः अनिश्चित बनेको छ ।

पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका निर्माताको योजना अन्योलग्रस्त बनेको हो । पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले शुक्रबार बिहान पोस्ट गरेको फेसबुक स्टाटसले पनि त्यसलाई पुष्टि गर्छ ।

जोशीले फिल्म निर्माता रेशम सापकोटाको तस्वीर सेयर गर्दै ‘सत्यम्’ फिल्मको प्रसंग उल्लेख गरेका छन् । ‘म पोखरामा छु तपाईं कता ? फोन अफ छ । तपाईंको नियतमाथि शंका लाग्यो,’ जोशीले लेखेका छन् ।

पललाई थुनामै राख्ने अदालतको आदेशको भोलिपल्ट जोशीको उक्त स्टाटसले फिल्मको छायांकन अन्योलमा परेको संकेत गर्छ । स्रोतका अनुसार निर्माता सापकोटा र जोशीबीच आर्थिक कारोबार भएको बताइन्छ । अदालतको आदेशपछि निर्माता सापकोटाको फोन अफ छ ।

पल रिहा भएपछि तत्काल छायांकनमा जाने भन्दै निर्माता सापकोटाले अभिनेता राजेश हमाललाई पनि पर्खाएका थिए । यसअघि अनलाइखबरसँग कुरा गर्दै हमालले आफूले लामो समय फिल्मको लागि प्रतीक्षा गर्न नसक्ने बताएका थिए ।

‘सत्यम्’ फिल्मबाट हमाल र पलले महंगो पारिश्रमिक लिएका छन् । यसै महिनाको सुरुवातमा फिल्मको गीत समेत रिलिज भएको थियो जहाँ हमाललाई मात्र चित्रण गरिएको छ ।

‘सत्यम्’ अब पलबिनै छायांकनमा जान्छ कि निर्माण नै हुँदैन भन्ने चासो सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?