+
+
स्वस्तिमा खड्कासँग वार्ता :

‘चिसो मान्छे फिल्मले सामाजिक मूल्यलाई प्रश्न गर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:०७

काठमाडौं । स्वस्तिमा खड्का ‘भर्सटाइल’ अभिनेत्रीको रुपमा परिचित छिन् । ‘लार्जर द्यान लाइफ’देखि आममान्छेसम्मको उनको चरित्रमा पात्रात्मक विविधता महसुस गर्न सकिन्छ ।

आगामी असार ३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘चिसो मान्छे’मा उनले सुदूरपश्चिमको बाजुराकी युवतीको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरबाट प्रशंसा बटुलेको यो फिल्मले मलेसियामा ज्यान गुमाएका श्रीमानको शवलाई लिएर काठमाडौंदेखि बाजुरासम्म श्रीमतीले गरेको मर्मस्पर्शी यात्राको कथा पेश गर्छ ।

‘चिसो मान्छे’को चरित्र, अभिनयका आयाम र कोभिड महामारीपछिको फिल्मको विषयवस्तुमा रहेर अभिनेत्री खड्कासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संक्षिप्त संवाद :

चिसो मान्छे’मा आफ्नो चरित्रबारे बताइदिनुस् न ।

बाजुराको विपन्न गाउँको २०-२२ वर्षकी युवतीको भूमिका मैले गरेकी हुँ, जो आफ्नो श्रीमानको शव बाजुरादेखि काठमाडौंसम्म लिन आएकी हुन्छिन् । काठमाडौंदेखि बाजुरासम्मको यात्राको कथा हो । श्रीमानको शवसँगको केमेस्ट्री, ड्राइभरसँगको केमेस्ट्री त्यहीं वरपरको कुरा छन् ।

कुन पक्षले तपाईंलाई ‘चिसो मान्छे’ फिल्ममा काम गर्न कन्भिन्स गर्‍यो ?

दुई–तीनवटा कुरा छन् । राम्रो टिम भइहाल्यो । मलाई पहिलादेखि नै सुदूरपश्चिमको एउटा क्यारेक्टर गर्न मन लागेको थियो । त्यतातिरको क्यारेक्टरले मलाई एकदमै आकर्षित तुल्याएको थियो । त्यहाँको भाषा, बोल्ने शैली, लवाइलाई चित्रण गर्न मन थियो । ठ्याक्कै त्यही बेलामा फिल्मको प्रस्ताव आयो । आफैंमा पनि कथा एकदमै रोचक छ ।

श्रीमानको लास लिएर गइरहेको छ र ऊसँग खासै अट्याचमेन्ट पनि छैन । मान्छेलाई एउटा ठूलो प्रश्न हुन्छ कि श्रीमानको लास लिएर गइरहेको छ, तर अर्को केटासँग केमेस्ट्री किन छ त ? फिल्म हेरिसकेपछि थाहा हुन्छ । यस्ता कुराहरुलाई मलाई एकदमै मन परेको थियो ।

कथा र दर्शकबीचको सम्बन्ध कसरी जोडिन्छ ?

दर्शकलाई कथा रिलेट गर्न एकदमै गाह्रो छ । किनभने हाम्रो समाजमा प्रायः श्रीमान श्रीमतीको केमेस्ट्री एकखालको हुनुपर्छ भन्ने आइडियोलजी छ नि त । समाजले एउटा रेखा तय गरिदिएको छ । बिहे भएकोलाई एउटा रेखा छ । केटा मान्छे यति रेखाभित्र बस्नुपर्छ । केटी मान्छे यति रेखाभित्र बस्नुपर्छ भन्ने छ । जब आफूलाई पर्छ तब त्यो सीमारेखा पार गर्नुपर्छ भन्ने कुरा फिल्मभित्र छ । तर अरुले हेर्दा त्यो गलत हो भन्ने हुन्छ ।

जसले बुझ्नुहुन्छ र जो पात्रसँग जोडिनुहुन्छ त्यसपछि दर्शकको दृष्टिकोण एकदमै फराकिलो हुन्छ जस्तो लाग्छ । वास्तविकतामा भएको भए शायद मैले यो चरित्रलाई मूल्यांकन गर्थें होला । आफ्नो श्रीमानको शव लिएर हिंडेको छ, तर अर्को केटासँग अट्याचमेन्ट हुनु नैतिकताविहीन हुन्छ भन्ने हुन्थ्यो नि त ।

ट्रेलर हेरेर केहीले प्रश्न पनि गर्नुहुन्छ कि सुदूरपश्चिमको केटीहरु यस्तो हुन्छ भनेर । फिल्म हेरिसकेपछि त्यस्तो लाग्न सक्छ, तर जसले बुझ्नुहुन्छ उहाँहरुले आफ्नो सोचाइलाई फराकिलो बनाउनुपर्छ भन्ने लाग्छ । यसकारण कनेक्ट हुन चुनौती नै कुरा लाग्छ ।

चिसो मान्छे’मा बाजुराको युवतीको भूमिकामा प्रस्तुत हुन कति मिहिनेत गर्नुपर्‍यो ?

‘चिसो मान्छे’को एक दृश्यमा स्वस्तिमा

पोस्टर हेरेर धेरैजनाले प्रशंसा गर्नुभएको थियो । खासमा यसमा मेरो काम केही पनि छैन । पोस्टरमा एउटा मेकअप र कस्ट्युमको कुरा थियो । यो कुरालाई मलाई खासै च्यालेन्जिङ लागेको थिएन । मेहनत पनि खासै थिएन । मुख्य चुनौती चरित्रलाई चित्रण गर्नु थियो ।

चित्रण गर्न सक्छु कि सक्दिन र त्यहाँ चिप्लियो भने मलाई एकदमै बोर हुन्छ भन्ने थियो । ट्रेलर आइसकेपछि सुदूरपश्चिमकै मान्छेले पनि प्रशंसा गर्नुभयो । म सुदूरपश्चिमको मान्छे र ठेट त्यस्तै देखिएको छ भनेर भन्नुभयो । मलाई खुसी लाग्यो । चुनौतीको पार्ट सबैभन्दा त्यही लागेको थियो । त्यहीं ठाउँमा गएर मैले सानो सानो कुरा पनि अध्ययन गरेकी थिएँ । हामीले यता सती भन्छौं भने उता सती भन्छन् । त्यो कुरा ख्याल गर्नु थियो । सानो कुरामा वर्कआउट गरें । काममा इन्जोय गरेकी थिएँ ।

तपाईंलाई यस्तो खालको पात्रले अपील गर्छन् या ‘लार्जर द्‍यान लाइफ’का चरित्रले ?

ठ्याक्कै यही भन्ने छैन । राम्रो फिल्म, राम्रो कन्टेन्ट र राम्रो क्यारेक्टर हुनुपर्‍यो । लार्जर द्यान लाइफलाई पनि नराम्रो भन्नुहुँदैन । त्यसको पनि आफ्नै खाले रमाइलो छ । हलको अनुभव दिन्छ ती फिल्मले । ती कुराको पनि म अप्रिसियट गर्छु । म कुटुमा कुटुमा पनि नाचिरहेको हुन्छ र बुलबुल र चिसो मान्छेको गीत पनि नाचिरहेकी हुन्छु । मलाई दुइटै खालका फिल्मले आफ्नै तरिकाको खुसी दिन्छन् ।

लार्जर द्यान लाइफका फिल्ममा महिला चरित्रलाई एकदमै हलुका ढंगले लिइन्छ भने यस्ता खालका फिल्ममा चरित्रलाई डेप्थ दिइएको हुन्छ । अभिनेत्रीको रुपमा यस्ता पात्र गर्दा मलाई हलुका रुपमा लिएको लाग्दैन । के खान्छ, कसरी हिंड्छ भन्नेदेखि लिएर अन्य कुरा पनि सिरियस्ली लेखेको छ । केटा र केटी चाहिन्छ भनेर लेखिएको छैन ।

महिला अभिनेत्री फिल्ममा चाहिन्छ र किन चाहिन्छ भन्ने कुरा लेखिदिएको छ । यस्तो कुरा निर्देशकले लेखिदिएको छ भने काम गर्दा मज्जा आउँछ । लार्जर द्यान लाइफका चरित्रमा पनि यस्ता खाले कुरा लेखियो भने त्यो गर्दा पनि मज्जा आउँछ ।

कोभिडको तेस्रो लहरपछि ‘कबड्डी’ लगायतका नेपाली फिल्मले राम्रो कमाइ गरेका छन् । विदेशी फिल्मको दबदबा पनि बढेको छ । ‘चिसो मान्छे’ले पनि ट्रेलरमार्फत प्रशंसा पाएको छ । यी सबै आयामलाई कसरी हेर्नुहुन्छ ?

सकारात्मक कुरा के छ भन्दा साउथ इन्डियन फिल्म नेपालमा जसरी चलेको थियो, ती फिल्मले कम्तीमा नेपालमा दर्शकलाई हलसम्म जाने बसेको छ जस्तो लाग्छ । नेपाली फिल्म हेर्ने दर्शक नभएको होइन, हलसम्म गएर हेर्ने दर्शक नभएको हो हामीसँग । एउटा ठीकठीकैको फिल्म युट्युबमा आउँदा पनि प्रशंसा पाइरहेको हुन्छ ।

दर्शक त रहेछ नि त । तर हलसम्म जाने दर्शक थिएनन् । साउथ इण्डियन फिल्मले गर्दा कम्तीमा त्यो बानी बसेको छ । दुई–तीन वर्षसम्म हलमै पुगेर फिल्म हेर्नुपर्छ भन्ने दर्शक बढेका छन् । आशा गरौं, राम्रा फिल्म बनाएर राम्रै हुन्छ । झुर उद्योग भनेर महसुस चाहिं गरेकी छैन ।

अहिले राम्रा फिल्म कमै संख्यामा बनिरहेका छन् अहिलेसम्म । राम्रा फिल्म धेरै बने धेरै संख्यामा दर्शक हलसम्म गएर हेर्नुहुन्छ । फिल्म हेर्ने संस्कृतिको जुन अभाव छ, त्यसमा हलसम्म जाने बानी पर्छ । फिल्म हेर्न जाने संस्कृति बस्यो भने फिल्मलाई फाइदा पुग्छ ।

चिसो मान्छे’को ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?