News Summary
Generated by OK AI. Editorially reviewed.- नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर स्थानीयले लालपूर्जा देखाएपछि रोकिएको छ।
- काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, जग्गाबारे सत्यतथ्य पत्ता लगाउन आठ जनाको सरकारी टोली खटिएको छ।
- सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ र त्यसपछि निर्णय गरिनेछ।
१९ वैशाख, काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर रोकिएको छ ।
सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, अहिले उक्त जग्गाबारे छानबिन गर्ने सत्यतथ्य पत्ता लगाउन सरकारी टोली खटिएको छ ।
डोजर पुगेपछि स्थानीयले लालपुर्जा देखाएपछि अहिले केहीबेरदेखि काम रोकिएको छ ।
घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।
‘कहिलेकाहीँ त फिल्डमा डोजर ब्रिग्रिएर वा मेसिनरी समस्या आएर रोकिने एउटा पाटो हो,’ सीडीओ पौडेलले भने, ‘केही जग्गाधनीहरूको पूर्जा छ, हाम्रो हकभोगको हो भनेर भनियो भन्ने कुरा आएको छ । त्यसलाई यकिन गर्नका लागि सरकारी टोली खटिएको छ ।’
उनका अनुसार, जग्गाबारे पत्ता लगाउन ८ जनाको सरकारी टोली खटिएको हो ।
‘काठमाडौं महानगरपालिकाका अधिकृत, नापि अधिकृत, मालपोत अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न बागमतीसहितको टोली खटिएको छ,’ सीडीओ पौडेलले भने ।
उनका अनुसार, सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ ।
‘फिल्डमा भेरिफाइ हुँदैछ । टोलीले हेर्छ, अनि रिपोर्टिङ गर्छ । त्यसपछि के गर्ने भन्ने निर्णय गर्छौं,’ उनले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4