+
+
Shares

प्रदीप ज्ञवाली भन्छन्- सरकार निर्वाचित सर्वसत्तावादतर्फ हिँड्यो

‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १५:३२

१९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार निर्वाचित सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाएका छन् । शनिबार जिल्ला समन्वय समितिको जिम्मेवारी विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले १०० दिनभित्र नबोल्ने चाहना हुँदाहुँदै पनि सरकारका गतिविधिले केही कुरा भन्नैपर्ने अवस्था आएको भन्दै यस्तो बताएका हुन् ।

‘केही कुरा नभनी नहुने, रेकर्ड नगराइ नहुने, त्यसका बारेमा समाजलाई सचेत नगराइ नहुने स्थिति सिर्जना भएको छ,’ नेता ज्ञवालीले भने, ‘सरकार कसरी हिँड्न चाहिरहेको छ, उसको हिँडाइले हाम्रो आगामी दिन कस्तो देख्छौं भन्दा चारपाँच तस्वीरहरू धमिलोधमिलो गरी आकार लिन थालेको देखिन्छ ।’

सरकारको काम गराइको अवस्था हेर्दा विस्तारै नेपाली जनताले लामो समय संघर्ष गरेर हासिल गरेका लोकतान्त्रिक अधिकारहरू संकुचनमा पर्ने जोखिम देखापर्नथालेको  उनले बताए ।

यसैक्रममा ०२१ मा पञ्चायतसँग नेपाली जनताले खोसेर ल्याएको सबैभन्दा पहिलो अधिकार स्वतन्त्र विद्यार्थी युनियनको अधिकार रहेको उनले स्मरण गराए । ‘दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा हुनुहुन्थ्यो, तर विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार २०२१ सालमा खोसेर ल्याएको अधिकार हो । आज त्यो कटौती गर्ने घोषणा गरिएको छ,’ ज्ञवालीले भने ।

यस्तै ट्रेड युनियन अधिकार नेपालको संविधानले दिएको अधिकार रहेको उनले बताए । उनले भने, ‘होलान् ट्रेड युनियनमा विकृति, होला विद्यार्थी संगठनमा विकृति, विकृति दलमै पनि त छन् । दलमा विकृति छन् भनेर हामी दलविहीन व्यवस्थाको कल्पना गर्छौं र ?’ तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा त्यही गरेको उनले स्मरण गराए ।

यस्तै स्वतन्त्र मिडियाहरू बलियो नहोउन् भन्न का लागि उनीहरूलाई दिइरहेका विज्ञापनमा नियन्त्रण गरिएको उनले बताए । ‘यसमा करिब करिब निषेध । सामाजिक सञ्जालमा त्यस्तै । त्यहाँ स्वस्थ बहस नहोस् भन्नका लागि एउटा संगठित जमात तयार पारेर अलिकति फरक विचार आयो कि बुलिङ गरेर दुर्व्यवहार गर्ने तहसम्मको स्थिति,’ उनले भने ।

यी गतिबिधि निर्वाचित सर्वसत्तावादतिरको संकेत रहेको उनले टिप्पणी गरे । उनले भने, ‘निर्वाचित सर्वसत्तावाद, निर्वाचित अलोकतान्त्रिक रेजिमतिर जाँदैछौं कि भन्ने प्रारम्भिक अवस्थाले देखाइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?