+

चार देशका अटोमोबाइल फेडेरेसन ड्रोन र भर्टिकल मोबिलिटीमा प्रवेश

२०८३ वैशाख  १९ गते १४:३९ २०८३ वैशाख १९ गते १४:३९
चार देशका अटोमोबाइल फेडेरेसन ड्रोन र भर्टिकल मोबिलिटीमा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अटोमोबाइल्स एसोसिएसनले एफआईएको सहकार्यमा पाँच दिने ड्रोन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
  • तालिममा नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका सहभागीले ड्रोन उडान, कानुन र प्रविधिमा प्रशिक्षण पाएका थिए।
  • यस तालिमले ड्रोन र भर्टिकल मोबिलिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ।

१९ वैशाख, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले पाँच दिने ड्रोन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) को रिजन–२ एसिया–प्यासिफिकको वार्षिक क्यालेन्डर अन्तर्गत गत अप्रिल २७ देखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिम स्विट्जरल्याण्डस्थित ड्रोन एण्ड भर्टिकल मोबिलिटी एकेडेमीसँगको सहकार्यमा सञ्चालन गरिएको थियो ।

अटोमोबाइल, मोबिलिटी, मोटर तथा मोटरसाइकल खेल, पावरबोटिङ र ड्रोन क्षेत्रमा सक्रिय नासा नेपालका लागि भर्टिकल मोबिलिटी क्षेत्रमा यो पहिलो अन्तर्राष्ट्रिय पहल हो ।

विश्वभर भर्टिकल मोबिलिटीप्रति बढ्दो चासोका बीच एफआईएले केही वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको छ। सोही अभियानलाई एसियाली मुलुकहरूमा विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एफआईएको टेक्निकल पार्टनरसमेत रहेको स्विट्जरल्याण्डको राष्ट्रिय अटोमोबाइल संघ (टीसीएस) द्वारा प्रवर्द्धित एकेडेमीसँग सहकार्य गरिएको हो ।

एफआईए ड्रोन एम्बेसेडर तथा एकेडेमीका निर्देशक निकोलस विगरको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका सहभागी थिए ।

अण्डोराको राष्ट्रिय अटोमोबाइल महासंघ अटोमोबिल क्लब डे अण्डोराका निर्देशक डेभिड फ्रान्सिनेटले एफआईएको ड्रोन रणनीति तथा अण्डोरामा ड्रोनमार्फत भएका सफल परीक्षणबारे प्रस्तुति दिएका थिए ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसर, धुलिखेल लज रिसोर्ट तथा रोयल टुलिप काठमाडौंमा सञ्चालन गरिएको तालिममा आईकाओका मार्गनिर्देशन, वातावरण र उड्डयन, विभिन्न देशका उड्डयन कानुन तथा कार्यविधि, ड्रोनको प्राविधिक पक्ष, पर्यटन प्रवर्द्धन र आर्थिक रूपान्तरणमा ड्रोनको भूमिका, विश्वव्यापी अवस्था तथा एफआईएको पहललगायत विषयमा प्रस्तुति र छलफल गरिएको थियो ।

साथै, ड्रोन उडानसम्बन्धी व्यावसायिक ज्ञान र सहभागी संघहरूको कार्ययोजनामा ड्रोनको प्रयोगबारे पनि विस्तृत छलफल भएको थियो ।

स्विस दूतावास र स्विस टुरिङ क्लबको सहयोग तथा एफआईएको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिममा अटोमोबाइल एसोसिएसन अफ बंगलादेशका इहसान अहमद, अटोमोबाइल एसोसिएसन अफ सिंगापुरका लि वुन वी, अटोमोबाइल एसोसिएसन अफ सिलोनका इन्दुला सुमिथाराहोची तथा नासा नेपालका अंकित भण्डारी, सिजन भट्टराई र मोतिराम इटनी सहभागी थिए। नासा नेपालको तर्फबाट सुवास भट्टराई र किरण धितालले कार्यक्रम व्यवस्थापन गरेका थिए ।

डेढ दशकअघि संस्थागत रूपमा नेपाली अटोमोबाइल खेलकुदमा प्रवेश गरेको नासा नेपालले जलदेखि आकाशसम्म आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आएको छ । ड्रोनलाई औपचारिक रूपमा समेटेपछि अब खेलकुद र मोबिलिटी दुवै क्षेत्रमा यसको प्रयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

साथै, बंगलादेश, श्रीलंका र सिंगापुरका अटोमोबाइल संघहरूले समेत ड्रोन र भर्टिकल मोबिलिटी क्षेत्रमा काम सुरु गर्ने जनाइएको छ ।

ड्रोन तालिम नासा नेपाल नेपाल अटोमोबाइल्स एसोसिएसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय