+
+

रूस-युक्रेन युद्धका सम्भावित ५ विकल्प

रुसले एकतर्फी युद्धविरामको घोषणा गरेमा युद्धको परिदृश्यमा ठूलो परिवर्तन ल्याउनसक्छ तर यसले युद्धको अन्त्य भने हुँदैन ।

जेम्स ल्यान्डेल जेम्स ल्यान्डेल
२०७९ जेठ २२ गते ९:५८
Photo Credit : GETTY IMAGES

युद्ध सुरु भएपछि कसैको हार, कसैको जित हुन्छ । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि हमला यसको अपवाद हुनसक्दैन ।

रुस युक्रेनतर्फ तीब्र गतिमा अगाडि बढिरहेको छ । मिसाइल र गोलाबारुदबाट शहरका शहर उजाड भइरहेका छन् । युक्रेनका सर्वसाधारण पनि ‘सैनिक’ बनेर डटिरहेका छन् र युद्ध अझै जारी रहने सम्भावना प्रबल छ ।

युक्रेनमाथि रुस हमलाको सय दिन पूरा भइसकेको छ । यो अवस्थामा अब यो युद्ध कसरी अगाडि बढ्ला ?

त्यसो त, यो युद्ध हो, जहाँ एक पलमै जे पनि हुनसक्छ तर अहिलेसम्मका घटनाक्रमहरूलाई नियाल्दै अबको सम्भावित नतिजा केलाउँदा यी पाँचमध्ये एक परिणाम आउनसक्छ ।

‘परिणाम यही आउँछ’ भन्न त सकिन्न तर सय दिन नाघिसकेको युद्धको नतिजा यी हुनसक्छन् ।

१. लामो समयसम्म संघर्ष

युक्रेन र रुसबीचको यो लडाइँ लामो समयसम्म चलिरहन सक्छ । यदि वर्षौंसम्म नभए पनि कम्तिमा केही महिनासम्म जारी रहने सम्भावना छ। रुस र युक्रेनका सेनाहरू दिनहुँ आपसमा लडिरहेका छन्, दिनहुँ एकअर्कामाथि आक्रमण गरिरहेका छन्, त्यसैले यो युद्ध लामो समयसम्म चल्ने सम्भावना छ ।

कहिले एक पक्ष अलि बलियो हुन्छ र कहिले अर्को पक्ष। तर दुवैमा न कुनै पक्ष झुक्न तयार छ न पछाडि हट्न । राष्ट्रपति पुटिनले ‘रणनीतिक सहनशीलता’ देखाएर जित्न सक्ने बुझेका छन् र यही रणनीतिमा दृढ संकल्प गरेका छन् । पुटिनका लागि पनि यो एकप्रकारको जुवाजस्तै हो, युक्रेनमाथिको हमलाले पश्चिमी देशहरूमा दबाब बढ्नेछ र आफूमाथि पर्ने आर्थिक संकट र चीनबाट हुने खतरामा बढी ध्यान केन्द्रित गर्नेछन् ।

तर, युरोपेली देशहरूले अहिलेसम्म युक्रेनलाई जसरी सहयोग गरेका छन्, त्यसबाट उनीहरू युक्रेनलाई हतियार आपूर्ति गर्न प्रतिबद्ध छन् र गरिरहने छन् भन्ने संकेत मिल्छ । यस्तो अवस्थामा यो एक ‘निरन्तर युद्ध’ मा परिणत हुँदैछ ।

एक अष्ट्रेलियाली सेवा निवृत्त जनरल तथा सैन्य मामिला विद्वान मिक रायन भन्छन्, ‘आगामी दिनमा वा पछिल्ला दिनहरूमा दुवै पक्षको रणनीतिक जीतको सम्भावना कम छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

२. पुटिनद्वारा युद्धविरामको घोषणा

के राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविरामको घोषणा गरेर सारा संसारलाई चकित पार्लान् र ?

उनले रुसको सैन्य अभियान अब पूरा भएको दाबी पनि गर्न सक्छन् । डोनबासमा रुसी समर्थक पृथकतावादीहरू सुरक्षित गर्ने र क्रिमियाको लागि एक कोरिडोर स्थापना गरेसँगै विकसित अवस्थामा उनले युक्रेनलाई नैतिक आधारमा लडाइँ बन्द गर्न दबाब दिन सक्छन् ।

क्याथम हाउस थिंक ट्याङ्कका विज्ञ केइर गिल्सले भन्छन्, ‘रूसले जुनसुकै बेला यो चाल प्रयोग गर्न सक्छ, जसमा उसले युक्रेनमा युरोपेली दबाबको फाइदा उठाउन चाहँदा उसले पछि हट्दै शान्तिको मूल्यमा केही क्षेत्रहरू आफ्नो अधिकार त्याग्न सक्छ ।’

यस्ता तर्क अहिले पेरिस, बर्लिन र रोममा सुनिन थालेका छन्, जहाँ युद्धलाई धेरै लम्ब्याइनुको कुनै फाइदा छैन भन्ने भन्न थालिएको छ । साथै, यो विश्वव्यापी आर्थिक सास्तीको अन्त्य गर्ने बेला हो ।

तर, अमेरिका, बेलायत र पूर्वी युरोपका अधिकांश क्षेत्रले यसको विरोध गर्नेछन् ।

रुसले एकतर्फी युद्धविरामको घोषणा गरेमा यसले युद्धको परिदृश्यमा ठूलो परिवर्तन ल्याउनसक्छ तर यसले युद्धको अन्त्य भने हुँदैन ।

३. युद्धक्षेत्रमा गतिरोध

रुस र युक्रेनले यो युद्धबाट केही पनि उपलब्धि हुँदैन र यो गतिरोधको अन्त्यका लागि राजनीतिक समाधानतर्फ अघि बढ्नुपर्छ भन्ने स्वीकारे भने कस्तो होला ?

दुवैतर्फका सेनाहरू थाकेका छन् । युद्धका लागि आवश्यक सामग्रीको अभाव सुरु भएको छ । यस्तो अवस्थामा लडाइँ जारी राखेर रगत बगाउनु र पैसा बर्बाद गर्नु जायज हुन सक्दैन। रूसको सैन्य र आर्थिक क्षति स्थायी होइन । युक्रेनका जनता युद्धबाट थाकिसकेका छन् । शतप्रतिशत विजय हासिल नहुने अवस्थामा जितको नाममा उनीहरू अब आफ्नो ज्यान जोखिममा राख्न तयार छैनन् ।

केभ नेतृत्वले पश्चिमबाट समर्थन कायम गर्ने प्रतिज्ञाप्रति विश्वास गुमाउँदै वार्ताबाट समस्या समाधान गर्ने समय आएको महसुस गर्‍यो भने के हुन्छ ? उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उद्देश्य रुसमाथि हमला गर्नु नभई युक्रेनलाई वार्ताको टेबुलमा बलियो स्थितिमा उभ्याउनु हो भनेर पटकपटक दोहोर्‍याइसकेका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की

४. युक्रेनको सम्भावित विजय

सबै चुनौतीहरूको बावजुद के युक्रेन विजयी हुन वा विजयको नजिक पुग्न सक्छ ? के युक्रेनी सेनाले रुसलाई फेब्रुअरीमा आक्रमण गर्नुअघिको अवस्थामा फर्काउन सक्छ ?

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यस्तो दाबी त पक्कै गर्छन् । एक टिभी अन्तर्वार्तामा उनले युक्रेनले यो युद्ध अवश्य जित्ने बताए ।

के रसिया डोनबास कब्जा गर्न असफल भयो र थप क्षति व्यहोर्न तयार होला ?

युरोप–अमेरिकी प्रतिबन्धका कारण रुसले क्षति बेहोर्नुका साथै युद्धको स्तरमा पनि असर गरेकोमा कुनै शंका छैन । युक्रेनले युरोपेली देशहरू र अमेरिकाबाट लगातार सैन्य सहायता पाइरहेको छ। अब युक्रेनले आफ्नो रक्षात्मक नीतिलाई आक्रमणको नीतिमा परिवर्तन गरेको छ।

तर अब यस्तो भयो भने … ?

नीति निर्माताहरूले यसको नतिजाबारे चिन्ता व्यक्त गरिसकेका छन्। यो पराजयलाई ध्यानमा राखेर पुटिनले रासायनिक वा आणविक आक्रमणको बारेमा सोच्न सक्ने सम्भावना छ ।

५. रूस को लागि सम्भावित जीत

प्रारम्भिक असफलताहरूको बावजुद रूस अझै पनि राजधानी किभ कब्जा गर्ने र युक्रेनको धेरै भागलाई आफ्नो नियन्त्रणमा ल्याउने योजना बनाइरहेको पश्चिमी अधिकारीहरूको बलियो बुझाई छ ।
एक अधिकारीले भने, ‘अधिकतम भूभाग कब्जा गर्ने उनीहरूको उद्देश्य अझै जीवित छ।’

रुसले डोनबासमा आफ्नो आंशिक सफलतालाई पुँजीकरण गर्दै त्यहाँबाट सेनाहरू सम्भवतः किभलाई निशाना बनाउँदै अन्यत्र लैजान सक्छ । युक्रेनी सेनाले लगातार घाटा बेहोरिरहेकै छ।

राष्ट्रपति जेलेन्स्कीले हरेक दिन करिब १०० युक्रेनी सैनिक मरिरहेको र ५०० सैनिक घाइते भइरहेको पहिलादेखि नै स्वीकार्दै आएका छन् ।

युक्रेनका जनताको विचार फरक हुन सक्छ, कोही संघर्ष जारी राख्न चाहन्छन् भने कोहीले शान्ति मार्गको वकालत गर्छन्। केही पश्चिमी देशहरू युक्रेनलाई निरन्तर समर्थनबाट थाकेका पनि हुनसक्छन् । तर यदि अन्य देशले रुसले जितेको महसुस गरे भने उनीहरूले पनि युद्धलाई तीव्र पार्न चाहनेछन् ।

एक पश्चिमी कूटनीतिज्ञले मलाई गोप्य रूपमा भने कि पश्चिमले रुसलाई चेतावनीको रूपमा प्रशान्त क्षेत्रमा परमाणु हतियार परीक्षण गर्नुपर्छ ।

यो पृष्ठभूमिमा रुस-युक्रेन युद्धको भविष्य अझै तय भएको छैन ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?