+
+

चुनावमा अन्तर्घात भएको एमाले निष्कर्ष, कारबाही घनश्याम भूसाललाई !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते २०:०८
फाइल तस्वीर : नेकपा एमालेको सचिवालय बैठक ।

२२ जेठ, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो ।

पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन् । ‘हामी त कारवाही गर्ने निकाय होइनौं । आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं’, बडाल भन्छन् । स्थानीय चुनावको नतिजाबारे भूसालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्तामा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए । गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो ।

यही अन्तर्वार्तालाई लिएर भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । ‘पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनुपर्छ । पार्टी सदस्य भएपछि बाटोमा बसेर मनपरी बोल्न पाइदैन’, अध्यक्ष बडाल भन्छन् । भूसाललाई कारवाही प्रक्रिया बढाइएपछि एमाले पंक्तिमा भने ठूलै हलचल देखिएको छ ।

चुनावमा देखिएका कमजोरीबारे समीक्षा गर्दै एकताबद्ध हुनेतिर नलागी भूसाललाई कारवाही सुरु गर्दा पार्टी अर्को समस्यातिर जाने उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन् ।

सचिव योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आवेश, उत्तेजना र आग्रहमा गरिने क्रिया र प्रतिक्रिया रोक्नुपर्ने बताएका छन् । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पु¥याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध !’, भट्टराईले लेखेका छन् ।

उपाध्यक्ष युवराज ज्ञवाली पनि चुनावी समीक्षाबारे कसैले आत्मसमीक्षाको विषय उठाएकै कारण कारवाही वा निष्कासनको निर्णय उचित नहुने बताउँछन् । ‘अहिले हामी विशेष परिस्थितिमा छौं । पार्टीको आन्तरिक हित र एकतालाई सुदृढ गर्न आवश्यकता छ । अझ ठूलो चुनाव आउँदै गरेको बिर्सनु हुँदैन’ उपाध्यक्ष ज्ञवाली भन्छन् ।

तर चुनावमा अन्तर्घात वा पार्टी निर्णय विपरीत काम गरेकाहरुलाई भने प्रमाणित भएमा आवश्यक कारवाही स्वभाविक हुने ज्ञवाली बताउँछन् । ‘कतिपय ठाउँमा पार्टीका उम्मेदवार हराउन घोषित रुपमै लागेको सुनिएको छ । अडियो बाहिर आएको छ’ उनी भन्छन्, ‘यतातिर ध्यान दिएर आउने चुनाव जित्नेगरी अगाडि बढ्नुपर्छ ।’

प्राथमिकतामा कारवाही

पार्टी हित, विधान, महाधिवेशन र नेतृत्वविरुद्ध जथाभावी बोलेको भन्दै भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाए पनि स्थानीय चुनावबारे औपचारिक समीक्षा भने एमालेले गरेको छैन । सचिव पद्.मा अर्याल, सम्बन्धित कमिटी हुँदै समग्रतामा समीक्षा गरिने बताउँछिन् । अर्यालका अनुसार, ठाउँ विशेषको प्रारम्भिक समीक्षा भएपनि समग्रतामा औपचारिक निष्कर्ष निकाल्न बाँकी छ ।

तर एमालेले अन्तर्घातकै कारणले सिट संख्या गुमाउनुपरेको निष्कर्ष भने सार्वजनिक गरिसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको नतिजाबारे पहिलो प्रतिक्रियामै अन्तर्घात भएको निष्कर्ष सुनाएका थिए ।

११ जेठमा बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक राखेर ओलीले भनेका थिए– लाजैमर्दो अन्तर्घात भयो । ‘कांग्रेसमा भएन, माओवादीमा भएन, साना दलमा समेत भएन । हाम्रोमा भने लाजैपर्दो भयो’, ओलीले भनेका थिए ।

त्यसयता अध्यक्ष ओलीसहित एमाले नेताहरूले सत्ताको दुरुपयोग गरी गठबन्धनले धाँदली गरेको, एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवारी दिएको र आन्तरिक अन्तर्घात भएकाले दावीअनुसार स्थानीय चुनाव जित्न नसकेको बताउने गरेका छन् ।

अन्तर्घातको मुख्य आधार भने महानगर र उपमहानगरमा एमालेले पाएको नतिजालाई नेताहरुले मानेका छन् । पोखरा महानगरपालिकामा त मत बिक्री गर्न बार्गेनिङ भएको अडियो नै सार्वजनिक भएको थियो । उम्मेदवारबारे दुई पटक पार्टी केन्द्रले नै निर्णय गर्नु परेको पोखराको नतिजा पनि एमालेको पक्षमा आएन ।

एमालेबाटै अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले गठबन्धनबाट उम्मेदवार बन्दै मेयर जित्दा कृष्ण थापा पराजित भए । गठबन्धनले समेत चुनाव जित्न कठिन ठानेको पोखरामा धनराजले ५८ हजार ८९३ मत ल्याएर मेयर जिते । तर एमालेका थापाले भने ५२ हजार ८४८ मत मात्रै पाए । यो ०७४ मा एमालेले पाएको मत भन्दा ८ हजारले कम हो ।

त्यसबेला एमालेका मानबहादुर जीसीले कांग्रेस–माओवादी केन्द्र गठबन्धनविरुद्ध नै ६० हजार ११८ मत ल्याएर मेयर जितेका थिए । कांग्रेस भने त्यो चुनावमा १४ हजार भन्दा बढी अन्तरले पछि परेको थियो । तर यसपटक एमाले पोखरामा पराजित भयो । उपमेयर भने एमालेले जितेको छ । उपमेयरमा दोहोरिएर उम्मेदवार बनेकी एमालेकी मञ्जुदेवी गुरुङले ६० हजार ५४६ मत पाएर जितिन् ।

पोखरा मात्रै नभएर उपमेयरमा उम्मेदवारी दिएको काठमाडौं, ललितपुर र विराटनगरमा पनि एमालेले जितेको छ । वीरगञ्ज र भरतपुरमा भने तालमेल गरेकाले एमालेको उम्मेदवार थिएन ।

काठमाडौंमा त टिकट वितरणदेखि चुनाव केही दिन बाँकी रहँदा समेत असन्तुष्टि सार्वजनिक भएको थियो । राम्रै जनमत प्रभावित पार्ने नेता रामवीर मानन्धरले काठमाडौंमा मेयरका उम्मेदवार गलत भएकाले जित्न नसकिने अन्तर्वार्ता नै दिएका थिए । एक जिल्ला नेताका अनुसार, पार्टीभित्रको एउटा पंक्ति नै केशव स्थापितलाई मेयर जिताउन सक्रिय भएनन् ।

उपमेयरमा सुनीता डंगोलले ६८ हजार ६१२ मत ल्याएर जित्दा मेयरका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेनन् । बालेन्द्र साहले मेयर जित्दा स्थापितलाई गठबन्धनका सिर्जना सिंहले पछि पारिन् । ललितपुर र विराटनगरमा पनि एमालेका उपमेयरले पाएको मत मेयरले पाएनन् ।

विराटनगरमा शिल्पा कार्कीले (२५ हजार ६८० मतसहित) उपमेयर जित्दा मेयरका उम्मेदवार बनेका सागर थापाले २१ हजार ४५५ मत मात्रै पाए । ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनसँग फराकिलो अन्तरले हरिकृष्ण व्यञ्जनकार (२४ हजार ५६० मत ल्याएर) पराजित हुँदा माओवादी केन्द्र पृष्ठभूमिका मञ्जली शाक्यले २५ हजार ८४ मत ल्याएर उपमेयर जितिन् ।

उपमहानगर पालिकाहरुमा पनि महानगरकै जस्तो नतिजा देखिएको छ । ११ मध्ये सात उपमहानगर (बुटवल, इटहरी, धनगढी, तुल्सीपुर, घोराही, कलैया र जितपुर–सिमरा) को उपमेयर जित्दा तीन जना मात्रै मेयर जिते ।

कलैया, घोराही र तुल्सीपुरमा मात्रै एमालेका मेयर उम्मेदवार निर्वाचित भए । एमालेको बलियो बिरासत रहेको धरानमा मञ्जु भण्डारी तेस्रो हुनुमा एमालेभित्रकै अन्तर्घात भएको स्थानीय नेताहरुको निष्कर्ष छ ।

हर्क साम्पाङले गैरदलीय उम्मेदवारी दिएर मेयर जित्दा गठबन्धनका किशोर राई निकटतम प्रतिद्वन्द्वी बने । तर ०७४ को चुनावमा २१ हजार २५६ मत ल्याएर उपमेयर जितेकी एमालेकी भण्डारीले यसपटक १२ हजार ८२५ मत मात्रै पाइन् । साम्पाङले २० हजार ८२१ मत ल्याएर मेयर जित्दा गठबन्धनका राईले १६ हजार ५९ मत ल्याएका थिए ।

कयौं पालिकामा बागी उम्मेदवारी नै परेको एमाले नेताहरुको भनाइ छ । भोजपुरको साल्पा सिलिचो गाउँपालिकामा एमालेकै दौलतकुमार कुलुङले स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्ष जिते ।

पार्टीभित्रको अन्तरविरोधकै कारण यो पालिकामा एमाले तेस्रो बन्यो । यस्ता पालिका संख्या धेरै भएपनि समीक्षा बैठक बस्नै बाँकी रहेकाले अन्तर्घातको रिपोर्ट तयार भएको नेताहरू बताउँछन् ।

तर चुनावमा देखिएका कमजोरीबारे समीक्षा गर्दै एकताबद्ध हुनेतिर नलागी भूसाललाई कारवाही सुरु गर्दा पार्टी अर्को समस्यातिर जाने उपाध्यक्ष ज्ञवाली बताउँछन् । ‘अहिले कारवाही गर्ने, हटाउने जस्ता विषयमा संयम बन्नुपर्छ । मुख्य ध्यान चुनावमा हुनुपर्छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?