+
+

‘कबड्डी ४’ विदेशमा : अस्ट्रेलियामा एक करोड ग्रस, भारत रिलिज चुनौतीपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १८:२१

काठमाडौं । ‘कबड्डी ४’ले नेपाली डायस्पोरामा कीर्तिमानी कमाइ गरेको छ । प्रदर्शनको नौ दिनमा फिल्मले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कमाएको छ ।

‘जात्रैजात्रा’को कमाइलाई पनि दयाहाङ राई स्टारर फिल्मले उछिनेको छ । यो कमाइ कुनै नेपाली फिल्मले अस्ट्रेलियामा मात्र नभएर डायस्पोरा बक्स अफिसमा बटुलेको उच्च रकम हो ।

नौ दिनमा ८ हजार नेपालीले फिल्म हेरेको र जुन २९ तारिखसम्म नियमित प्रदर्शन हुने जनाइएको छ । इभेन्ट, रिडिङ, हुट्स, न्यु फार्म, भिलेज, रिजेन्ट, चाइनाटाउन, मर्करी र लाइमलाइट सिनेमाज् मल्टिप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ ।

२९ तारिखसम्म फिल्मको कुल कमाइ डेढ करोड रुपैयाँ ग्रसमाथि हुने वितरक रोशन भट्टराई र विनोद पौडेलले बताए । अहिले दैनिक ३ देखि ४ शो प्रदर्शन भइरहेको छ भने टिकट दर ३० डलर छ ।

नेपालसहित अस्ट्रेलियामा जेठ १३ गते फिल्म एकसाथ प्रदर्शनमा आएको हो । अस्ट्रेलिया नेपाली फिल्मको सबैभन्दा ठूलो बजार हो । पहिलोपटक ‘लुट’ले त्यहाँ बजारको खोजी गरेको थियो ।

जापानमा आक्रामक ओपनिङ

जापानमा पनि फिल्मले आक्रामक ओपनिङ गरेको छ । जापानमा फिल्मको लाइफटाइम कलेक्सन ६० लाखभन्दा माथि हुने वितरक सचिन आचार्यले जानकारी दिए ।

जापानमा यो फिल्म आइतबार रिलिज भएको हो । अझै एक दर्जन बढी शो बाँकी रहेको जनाइएको छ ।

वितरकको यो कमाइ चाहिं ग्रस हो । यही रकमबाट निर्मातालाई तिर्नुपर्ने, हल चार्ज र प्रचारप्रसारमा समेत खर्च हुन्छ । ‘कबड्डी ४’ले विदेशबाट दुई करोड रुपैयाँभन्दा बढी ‘नेट कलेक्सन’ प्राप्त गरिसकेको छ ।

भारतमा प्रदर्शन प्रभावित हुनसक्ने

अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवादका कारण फिल्मको भारत रिलिज भने प्रभावित हुने देखिएको छ । सिक्किमका बौद्ध समुदायले फिल्म प्रदर्शन नगर्न सार्वजनिक रुपमै आग्रह गरेका छन् ।

यसैबीच, अल इण्डिया बुद्धिस्ट फोरमले सोमबार एक भिडियो सन्देश जारी गर्दै भारतबाट फिल्मलाई बहिष्कार गर्न आग्रह गरेको छ । महासचिव आकाश लामाले भिक्षुमाथि भएको दुव्र्यवहार गलत भएको भन्दै फिल्मविरुद्ध प्रदर्शनमा उत्रिन आग्रह गरेका छन् ।

सिक्किममा जुन १७ मा फिल्म रिलिज गर्ने तयारी छ । भारतका १५ सहरमा फिल्म प्रदर्शन गर्ने वितरक अनमोल गुरुङको योजना छ । विवाद समाधान गर्न सिक्किम चलचित्र प्रवद्र्धन बोर्डले बैठक समेत बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?