+
+

भक्तपुरमा कुहिने फोहोर तरकारीलाई मल, नकुहिने कवाडमा बिक्री

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ २३ गते २१:०९

२३ जेठ, काठमाडौं । काठमाडौंका सडकहरुमा फोहोरको सानोतिनो ‘पहाड’ बन्न थालेको छ । लामो समयसम्म फोहोर संकलन र व्यवस्थापन नहुँदा सडकमै थुप्रिएका हुन्, जुन कतिपय ठाउँमा सडकमा गुड्ने गाडीभन्दा अग्ला हुन थालेका छन् ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह लगायतका जनप्रतिनिधिले दौडधुप गर्दा पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । अरु नगरमा पनि फोहोर व्यवस्थापन सहज छैन । तर छिमेकको भक्तपुर नगरपालिकामा भने न सडकमा फोहोर थुप्रिएको छ, न नगरबासीको कुनै गुनासो छ ।

कुहिने फोहोर घरमै तरकारीलाई मल

कुहिने र नकुहिने फोहोर घरघरमै छुट्याउने नीति लिएको नगरपालिकाले डष्टविन पनि उपलब्ध गराएको छ । नगरबासीलाई फोहोरबाट मल बनाउने तालिम पनि दिइएको छ ।

त्यही तालिम लिएकी दिलकेशरी कोजुले पनि १५०० रुपैयाँमा फोहोरबाट मल बनाउने भाँडो किनेर घरमा ल्याइन् । कौसीमा तरकारी र फलफूल लगाउन थालिन् । यो सिजन अम्बाको बोटमा ४० दाना फल्यो । कागतीको चिचिला लाग्न थालेको छ ।

‘अहिले तरकारी खासै किन्न पर्दैन, साग धनियाँहरु नकिनेको त धेरै नै भयो,’ उनी भन्छन्, ‘कुहिने फोहोर मल बनाएर फलफूल तथा तरकारीमा हाल्छौं, बचे खेतमा लैजान्छौं । नकुहिने फोहोर नगरपालिकाको गाडीमा पठाउने गरेका छौं ।’

दिलकेशरीकी छिमेकी निर कोजुको घरको छतमा पनि काँक्रो फलिरहेको छ । छोरा बुहारीले नगरपालिकाबाट तालिम लिएर कौसीमा खेती गरेको उनले सुनाए ।

दिलकेशरी र निर मात्र होइन, भक्तपुर नगरपालिकाका अधिकांश घर धनीले कौसी खेती गर्न थालेका छन्, जहाँ घरबाट निस्किने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गरिन्छ ।

नगरपालिकाले छुट्टाछुट्टै संकलन गर्छ फोहोर

कौसी खेती नगर्नेहरुले पनि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै डस्टबिनमा राख्नुपर्छ । भक्तपुर नगरपालिकाको स्यानिटेसन उपशाखा प्रमुख रविन सुवालका अनुसार कुहिने र नकुहिने फोहोर संकलन पनि फरक फरक दिनमा गर्ने गरिएको छ ।

उनका अनुसार सिंगो नगरलाई पुरानो शहर र नयाँबस्ती भनेर दुई समूहमा विभाजन गरिएको छ र दुई क्षेत्रको फोहोर संकलन र व्यवस्थापन फरक फरक ढंगले हुने गरेको छ ।

पुराना बस्तीमा दुई दिन बिराएर कुहिने र नकुहिने फोहोरहरु पालै पालो संकलन गरिन्छ । उनका अनुसार पुरानो शहरमा फोहोर संकलनका लागि १० वटा ट्राइ–साइकल प्रयोग हुन्छ ।

‘संकलन भएका कुहिने फोहोर वडा नम्बर ८ लर्केमा कम्पोष्ट मल बनाउन पठाउँछौं,’ उनले भने, ‘नकुहिने फोहोर पनि छुट्याएर कवाडी व्यवसायीलाई बिक्री गर्छौं ।’ यसरी नकुहिने फोहोर बिक्री गरेर नगरपालिकाले मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ ।

पुरानो शहरको तुलनामा नयाँ बस्तीमा भने फोहोर व्यवस्थापन सहज छैन । नगरपालिकाले कुहिने र नकुहिने फोहोर घरघरमा छुट्याउन डस्टविन दिएको छ, त्यसअनुसार गाडी पनि पठाउँछ ।

‘कतिपय स्थानमा अहिले पनि कुहिने र नकुहिने फोहोर एकै गाडीमा हाल्ने गरिएको छ,’ स्यानिटेसन उपशाखा प्रमुख रविन सुवाल भन्छन्, ‘नगरपालिकाको ग्रामीण क्षेत्रहरुमा केही समस्या छ ।’

नगरपालिकाले हप्ताको एक दिन फोहोर संकलन गर्ने गरेको छ, जसका लागि ५ वटा गाडी प्रयोग हुन्छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै संकलन भएको फोहोर पुरानो शहरमा झैं कुहिनेलाई मल बनाउने र नकुहिनेलाई छुट्याएर कवाडमा पठाउने गरिएको छ ।

कुहिने र नकुहिने छ्यासमिस भएको फोहोरलाई भने सल्लाघारीमा ठूलो खाल्डो खनेर पुर्ने गरिएको छ । लामो समयसम्म यसरी फोहोर व्यवस्थापन गर्न सम्भव नभएकाले नगरपालिकाले कुहिने र नकुहिने छुट्याउन प्रोत्साहन गरिरहेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति फोहोर व्यवस्थापन अझै चुस्त बनाउन छलफल गरिरहेको र छिट्टै नतिजा देखिने बताउँछन् । सडक, मुख्य गल्ली प्रत्येक विहान नगरपालिकाको सरसफाइकर्मीले बढार्ने गरेका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?