+
+

पर्साको जिसस चुनावमा सत्तारुढ गठबन्धन विभाजित, जसपा र एमालेबीच तालमेल

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ २५ गते १३:१२
पर्साको जिल्ला समन्वय समितिको प्रमुख उम्मेदवार बाँयाबाट क्रमश: जसपा निरञ्जन साह सोनार (अजय सर्राफ) नेपाली कांग्रेसका सरोज चौरसिया ।

२५ जेठ, वीरगञ्ज । पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ ।

प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ ।

निर्वाचनबाट जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, ३ महिला सदस्य, १ जना दलित वा अल्पसंख्यक सदस्य र अन्य ३ जना सदस्य गरी ९ जना छानिनेछन् ।

प्रमुख पदका लागि जसपा र कांग्रेसको उम्मेदवारी परेको छ । उपप्रमुखमा कांग्रेस र एमालेको उम्मेदवारी परेको छ ।

कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्य सरोज चौरसियालाई जिसस प्रमुखको उम्मेदवार बनाएको छ भने जसपाले वीरगञ्ज–१५ का वडा सदस्य निरञ्जन साह सोनार (अजय सर्राफ) लाई अघि सारेको छ ।

उपप्रमुखका लागि कांग्रेसले वीरगञ्ज–९ कि वडा सदस्य कुमारी सोनी पासवानलाई उम्मेदवार बनाएको छ भने एमालेले बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई उम्मेदवार बनाएको छ ।

३ जना महिला सदस्यका लागि कांग्रेसबाट ३ जना, जसपाबाट २ र एमालेबाट एक जनाको उम्मेदवारी परेको छ ।

१ जना दलित वा अल्पसंख्यक सदस्यका लागि एमाले र लोसपाको उम्मेदवारी परेको छ ।

३ जना अन्य सदस्यका लागि कांग्रेसले ३ जनाकै मनोनयन दर्ता गराउँदा एमालेले २ र जसपाले १ जना उम्मेदवार बनाएको छ । बुधबार उम्मेदवारको सूची सार्वजनिक र दावी विरोधको कार्यक्रम छ । जेठ २७ गते जिसस पर्साको निर्वाचन गर्नेगरी प्रक्रिया अघि बढाइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

सत्तारुढ गठबन्धन विभाजित

जिससको निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुखलाई मताधिकार हुन्छ । पर्सामा १४ वटा स्थानीय तह छ । २८ मतमध्ये कांग्रेससँग १२ मत छ । एमालेसँग १०, जसपासँग ५ र लोसपासँग १ मत छ ।

जिससको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि कांग्रेस र जसपा विभाजित भएका हुन् ।स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कांग्रेस र जसपाले सहकार्य गरेका थिए । जस अनुसार मेयरमा जसपा उम्मेदवार र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

जिससको निर्वाचनमा भने जसपाले कांग्रेस छाडेर नेकपा एमालेसँग सहकार्य गरेको छ । जिससको निर्वाचनमा जसपा निर्णायक शक्ति हो । कांग्रेस र एमाले एक्लैको बहुमत नपुग्ने स्थिति छ भने लोकतान्त्रिक समाजवादी पार्टीको मत थपेर मात्र कुनै दलले बहुमत पु¥याउन सक्दैन । त्यसैले जसपाले कांग्रेस–एमाले जसलाई समर्थन गर्छ उसैले जित्ने स्थिति छ ।

जिसस निर्वाचनलाई लिएर पर्सामा कांग्रेस र जसपाबीच दुई पटक औपचारिक छलफल भएको थियो । कांग्रेस नेताहरुका अनुसार मनोनयन दर्ता गर्ने अघिल्लो दिन जेठ २३ गते अबेर रातिसम्म कांग्रेससँग सहकार्य गर्न जसपा तयार थियो ।

कांग्रेसले जिसस प्रमुख र ४ सदस्य लिने र जसपाले उपप्रमुख र ३ सदस्य लिने प्रस्ताव गरेको थियो । तर जसपाले उपप्रमुख र ४ सदस्य मागेको थियो । जसपाले यसअघि पर्साको जिससमा आफ्नै नेतृत्व रहेको भन्दै यस पटक नेतृत्व छोड्न नसक्ने अडान राखेको थियो । सोही विषयमा कुरा नमिल्दा जसपा एमालेसँग सहकार्य गर्न गएको हो ।

सहकार्यका लागि लगभग टुंगोमा पुगिसकेको स्थितिमा जसपाले धोका दिएको कांग्रेसका पर्सा जिल्ला उपसभापति रामनारायण कुर्मी बताउँछन् । ‘जसपाले हामीसँग नेतृत्व मागेको पनि थिएन, माग्ने आधार पनि थिएन’, उनले भने ‘एमालेले महत्वाकांक्षा बढाइदियो, त्यसपछि जसपा उतैतिर गएको छ ।’

कुर्मीले आगामी चुनावमा जसपासँग सहकार्य नगर्ने प्रतिक्रिया दिएका छन् । जसपाले साथ नदिएपछि १ सदस्य रहेको लोसपालाई कांग्रेसले साथमा लिएको छ । दुवैको मत जोड्दा जम्मा १३ मत मात्रै हुन्छ । बहुमत नपुग्ने स्थिति छ ।

नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारुले जिसस निर्वाचनमा जसपासँग सहकार्य गर्ने समझदारी भएको बताए । ‘राजनीतिमा उतार चढाव आइरहन्छ, रणनीति परिवर्तन हुन्छ । सदाका लागि दुश्मन र सदाका लागि मित्र कोही हुँदैन’, उनले भने, ‘१० जना थियौं, परिणाम शून्य थियो, जसपासँग सहकार्य गर्दा अब केही न केही त उपलब्धी हुन्छ नि ।’

पर्सामा जसपाका तर्फबाट स्थानीय तह निर्वाचन परिचालनको नेतृत्व गरेका नेता प्रदीप यादवले भने जसपाले जिसस प्रमुख नपाउने स्थिति भएकाले कांग्रेससँग मित्रवत प्रतिस्पर्धा गर्न लागेको बताए ।

‘पहिला नेतृत्व गरेको हो र अन्य कुराको पनि व्यवस्थापन गर्नुपर्छ । सभापति दिनुस् भनेर कांग्रेससँग माग ग¥यौं, उहाँहरु दिन तयार हुनुभएन । आत्मसर्पण गर्न सकिएन, मित्रवत प्रतिस्पर्धामा जाऔं, जसले जितेपनि फरक पर्दैन भनेका छौं’ उनले भने ।

नेता यादवले यो प्रतिस्पर्धाले सत्तारुढ गठबन्धनलाई असर नपर्ने बताए । उनले ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले पनि एमालेसँग तालमेल गरेको बताए । ‘पोखरिया, कालिकामाई लगायत विभिन्न पालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेकै हो । हामीले त महानगरपालिका बाहेक कहीँ पनि गठबन्धन गरेका छैनौं, मित्रवत प्रतिस्पर्धा गरेका हौं’, उनले भने, ‘यसले गठबन्धनमा कुनै असर पर्दैन ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?